प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर १९, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा  उपचाररत प्रधानमन्त्री ओली ३:४५ बजे डिस्चार्ज भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालका डा रमेशसिंह भण्डारीको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि प्रधानमन्त्रीलाई आइसियुमा राखिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि उनले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको बताइएको छ ।

ओली डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन्। भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।

प्रधानमन्त्रीको यसै अवधिमा ८ पटक डायलाइसिस पनि भएको छ । प्रधानमन्त्री ओलीको १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो ।