धनुषा विष्फोटमा प्रहरी इन्स्पेक्टरसहित ज्यान गुमाउनेको संख्या ३ पुग्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, मंसिर २८, २०७६

जनकपुरधाम- धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा गोली लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । इन्स्पेक्टर दाहालको पनि मृत्यु भएपछि बम विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ ।

दाहाललाई शनिबार बिहान डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

त्यसअघि हिजो शुक्रवार धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको भने चार जना घाइते भएका थिए ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट भएको हो । सो विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, २५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । चारै जनाको अवस्था गम्भीर छ ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा बमको छर्रा लागेको छ ।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । शनिबार बिहानसम्म घटनाको जिम्मा पनि कसैले लिएको छैन ।