सिड्नीको लुना पार्क नेपाली भाकाले गुञ्जिएको एतिहासिक क्षण  

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, मंसिर २९, २०७६
बितेका तिन दशक नेपालमा भएका बिबिध उतार चढावलाई निजीकबाट नियाल्दै, धेरै पटक धेरैको लागि गित संगतिको माध्यमबाट आशा भरोशा र शान्ति अनि शिक्षाको संदेश छर्दै गाउँ बेशीको भाकालाई शहर देखि प्रबास सम्म जोडदै आएको नेपालको लोकप्रिय सांगीतिक समुह नेपथ्यले अष्ट्रेलियाका नेपाली सम्म आएर पाचौं पटक फेरि आफ्नो सांगेतिक कोशेलीले यहाँका सम्पूर्ण नेपालीहरु लाई जोडेको छ । फरक खाले संगीतले देश विदेशमा उत्तित्कै माया बटुल्न सफल नेपथ्यले यस पटक हाम्रा लोक भाका र संस्कृतिलाई लुना पार्क स्थित ‘बिगटप अडिटोरियम’ मा हाउसफुल सहित गुञ्जाएको छ ।  सिड्नी हबर्र ब्रिजको छेवैमा रहेको बिगटप अडिटोरियममा डिसेम्बर १४ को साँझ गुन्जेको हाम्रो भाका फेरि एक पटक हर्बर छिचोल्दै सारा अष्ट्रेलिया सम्म पुगेको छ । नेपाली गित संगीत र बाध्यबादनको धेरै संभावनाहरु यसले एकपटक फेरि उजगार गरेको छ।
अर्को तर्फ प्रबासमा हुने नेपाली सांगेतिक कार्यक्रमहरु अझै परिस्कृत र प्रबिधिमैत्री ब्यबस्थापन हुन नसकेको गुनासोलाई यस पटकको नेपथ्यको कन्सर्टले एउटा थप उचाई दिएको छ र सम्पूर्ण टिकट अनलाइनबाट बिक्रि गरेरे नयाँ प्रयोगको इतिहास रचेको छ। नेपाली टच अष्ट्रेलियाको आयोजना र नेपालयका टिकट बिक्रि ब्यबस्थापनमा जुरेको यो एतिहासिक अवसरको प्रत्यक्षदर्शी करिब २९ सय नेपाली संगीतप्रेमीहरु ले उक्त साँझ मन भरि भरि नेपाली संगीतमा आफुलाई डुबाउने अवसर पाए ।
मनोरन्जनको साथै आफ्ना हर गीत अनि त्यस पछाडीका सन्देशहरु युवा बर्गलाई देश प्रतिको माया, शिक्षाको महत्व र परोपकारी समाजको अबधाराणाका सन्देशहरु दिन नछुटाउने नेपथ्यका मुख्य गायक अमृत गुरुङ्गले दर्शकहरु को फेरि मन जिते, आफु संगै सबैलाई नचाए । देशको परिस्थिति जे होस्, हामि जँहा रहुँ नेपाली भाषा र संस्कृतिलाई नभुल्न लेकाली पारामा र आफ्नै शैलीमा जब अमृत गुरुङ्गले  ‘”ल है आफ्नो भाषालाई माया गरूँ है ……. ” भन्दै गर्दा अरु तिन हजार स्वरहरु एकाकार भएर हो मा हो मिलाए । यस भन्दा आगाडी पनि नेपथ्यलाई अष्ट्रेलिया सम्म ल्याएर सफल कार्यक्रम गरिसकेको नेपाली टच अष्ट्रेलियाले यस पटक सिड्नी र अन्य शहरहरु मा सम्पन्न सबै कन्सर्टहरु बाट आयोजकको रुपमा आफुहरु निकै उत्साहित र खुशी भएको नेपाली टचका राज के. गोस्वामीले बताए ।  गोस्वामीले अगाडी भने- ‘सम्पूर्ण टिकट अनलाईन बिक्रि भई हाउसफुल सहित कन्सर्ट सम्पन्न भएको छ, यसको मुख्य कारण भनेको यहाँका सभ्य र अनुशासित दर्शकले नेपथ्यलाई दिएको माया हो, सम्मान हो यसले हामी आयोजक टिम पनि नतमस्तक छौ र सबैलाई धन्यवाद दिन चाहन्छौं।’
सिड्नीको यो एतिहासिक कन्सर्ट भन्दा आगाडी अष्ट्रेलियाका छ भिन्न शहरहरुमा आफ्नो प्रस्तुति दिइसकेको नेपथ्यले अष्ट्रेलियाको यो लामो सांगेतिक टुरको अन्तिम कार्यक्रम डिसेम्बर २३ मा मेलबर्नको ‘द पाम्स एट क्राउन’ मा समापन गर्दैछ।