उप–निर्वाचनले दिएको सन्देश

गत नोभेम्बर ३० का दिन देशमा उप निर्वाचन सम्पन्न भयो । छिटपुट घटनाबाहेक उक्त निर्वाचन सफलतापूर्वक सम्पन्न भएको मान्नु पर्छ । प्रतिनिधि सभाको १, प्रदेश सभाका ३, पालिकाका प्रमुख र उप–प्रमुख गरी ५ र पालिकाका वडाध्यक्षहरू ४३ गरी ५२ पदमा देशका ३७ जिल्लामा उप–निर्वाचन भएको थियो । प्राप्त नतिजामा सत्ताधारी नेकपाले ३० स्थानमा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १३ स्थानमा र अन्य विभिन्न दल र एक स्वतन्त्र गरी ९ पदमा विजयी भएका छन् । पाँच वर्षको कार्य अवधिमा दुई–तीन वर्षको कार्यकाल बितेको अवस्थामा सम्पन्न भएको यो निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले अब बाँकी रहेको अवधिका लागि मात्र प्रतिनिधित्व गरेहका हुन् ।
तर, यति भन्दैमा यो निर्वाचनको कुनै महत्व नै नभएको भने होइन । निर्वाचनपछि प्राप्त भएको परिणामले सत्तारुढ दल, वर्तमान सरकार तथा अन्य राजनीतिक दलहरूप्रति आम जनताको ताजा जनादेश के छ ? जनताको अभिव्यक्ति के हो भन्ने कुरा पनि स्पष्ट भएको छ ।
यो निर्वाचनको परिणाम के कुरा स्पष्ट पारेको छ भने आम नेपाली जनता परिवर्तनको मुडमा छन् । त्यसैले दुई अथवा तीन वर्षअघि जुन दलले जहाँ जितेका थिए, तीनै दलले तीनै स्थानमा जित्ने सम्भावना अत्यन्त न्यून देखियो । यसले पनि आम जनताले यतिबेला परिवर्तन चाहेका छन् भन्ने कुरा स्पष्ट भैसकेको छ ।
निर्वाचनको परिणामको मूल्यांकन गर्ने हो भने विगतमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीले सजिलै जितेका क्षेत्रहरूमा उसैले पराजय व्यहोर्नु परेको छ । यसले आम जनता सत्ताधारी दलसंग असन्तुष्ठ छन् भन्ने कुरा बुझ्न गाह्रो परेन ।
यसपटक उपनिर्वाचन भएका ५२ वटा स्थानमध्ये अधिकांशमा नेकपा नै विजय भएको छ । यद्यपि, विगतमा दुई तिहाइ जनमत प्राप्त गर्न सफल भएको नेकपाले यसअघि आफ्नो वर्चस्व रहेको कतिपय स्थानीय तहमा पराजित व्यहोर्नु परेको छ ।
त्यसो त अघिल्ला निर्वाचनहरूमा एउटै पार्टीले स्पष्ट बहुमत ल्याएर निर्वाचित भएका केही स्थानमा यसपटक दुई पार्टी मिलेर बनेको नेकपाका उम्मेदवार समेत पराजित हुनु पक्कै पनि गम्भीर पक्ष हो । यसलाई नेकपाले पक्कै पनि सामान्य रुपले लिँदैन होला ।
त्यसो त अहिलेको उप–निर्वाचनको मत परिणामले वर्तमान सरकारलाई ठूलो प्रभाव त पार्दैन, तर उप–निर्वाचनले सरकारलाई जनताको ताजा अभिमत बुझ्न भने राम्रो मौका प्रदान गरको छ । राजनीतिक दलहरूबाट हुने कमी–कमजोरी सच्याउने माध्यम भनेको निर्वाचन नै भएकाले यो उप–निर्वाचनले उनीहरूको कमि–कमजोरी राम्ररी औंल्याइदिएको छ ।
दावी आ–आफ्नै
उप–निर्वाचनको परिणाम आएसँगै प्रमुख राजनीतिक दलहरूको आ–आफ्नै प्रकारको दावी गरेका छन् । सत्तारुढ नेकपाले विगतको जनमत सुरक्षित रहेको दावी गरेको छ भने नेपाली कांग्रेसले आफ्नो पार्टी निर्वाचनको परिणामबाट उत्साहित बनेको बताइसकेको छ । राजनीतिक विश्लेषकहरूले यो मत परिणामलाई सत्तापक्ष र प्रतिपक्ष समदुरीमा रहेर आ–आफनो भूमिका निर्वाह गर्न जनादेश प्राप्त भएको बुझेका छन् ।
यो निर्वाचनका परिणामले सरकारले कमि–कमजोरी सच्याउनुपर्ने र प्रतिपक्षले रचनात्मक भूमिका निर्वाह गर्न सन्देश दिएको निष्कर्ष राजनीतिक विश्लेषकहरूको छ । यद्यपि, कतिपय विश्लेषकहरूले भने सरकारको काम कारवाही सन्तोषजनक नभएको मत परिणामहरूले देखाएको दावी गरेका छन् । त्यसो त सत्तारुढ दलका नेताहरूले उप–निर्वाचनले सरकारप्रति जनताको विश्वास कायमै रहेको सन्देश दिएको दाबी गरेका छन् ।
विभिन्न गुट तथा उपगुटमा विभाजन भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपनिर्वाचनको परिणामबाट उत्साहित देखिन्छ । कांग्रेसले सत्तारुढ दल तथा सरकारले सरकारी साधन स्रोतको दुरुपयोग गरेपनि परिणाम आफ्नै पक्षमा आएको दावी गरेको छ ।
उप–निर्वाचनका सन्देश
राजनीतिक विश्लेषकहरूका अनुसार यो उप–निर्वाचनले राजनीतिक दलका नेताहरूलाई केही सन्देश दिएको उल्लेख गरेका छन् । निर्वाचनमा सहभागी मध्ये निर्वाचनमा कुनै न कुनै पद जित्ने दलका उम्मेद्वारमा नेकपा, कांग्रेस, राष्ट्रिय जनमोर्चा, राजपा, संघीय समाजवादी पार्टी र एक स्वतन्त्र छन् । राजनीतिक दलका उम्मेदवारहरूले अहिले केन्द्र, प्रान्त र स्थानीय तहमा विद्यमान हैसियत अनुसार नै मत पाएका छन् । यो उप–निर्वाचनले सत्तामा भएका संघीय समाजवादी र राजपालाई मिलेर अघि बढ्ने सुझाव दिएको छ ।
नेपाली कांग्रेसले भक्तपुरको प्रदेश सभा र धरानको प्रमुख पदमा जितेपछि अहिले उत्साहित बनेको हो । यी दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवारले यसअघि कहिल्यै निर्वाचनमा सफलता पाएका थिएनन् । जनताले चाहे भने जति नै शक्तिशाली किल्ला पनि तोडिन सक्छ भन्ने सन्देश समेत यसले दिएको छ ।
सत्तारुढ दलका नेताहरूलाई भने सत्तामा रहँदैमा अथवा जनतालाई राम्रा–राम्रो सपना बाँड्दैमा जनताले एकमत भएर उसैका उम्मेदवारलाई भोट दिँदैनन् भन्ने कठोर सन्देश समेत मिलेको छ । संग–संगै जनताले सत्तारुढ दलका नेताहरू सच्चिएनन् भने हामी कांग्रेस कै पक्षमा जान सक्छौं भन्ने चेतावनी समेत दिएका छन् । धरान र भक्तपुरको निर्वाचनको परिणामले पनि त्यही कुरा संकेत गरिसकेको छ ।
२०७४ वैशाख ३१, असार १४ र असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचन र २०७४ मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट छानिएका जनप्रतिनिधिका पद विभिन्न कारणले रिक्त भएपछि यसपटक उप–निर्वाचन गरिएको हो । निर्वाचन आयोगका अनुसार उप–निर्वाचनमा करिब ६५ दशमलब ४३ प्रतिशत मत खसेको छ ।
सरकारले उप–निर्वाचन गराएर नागरिकको मताधिकारको सम्मान मात्र गरेको छैन प्रजातन्त्रको आधारभूत मान्यता चुनावी अभ्यासलाई उच्च महत्व समेत दिएको छ । शान्तिपूर्ण निर्वाचनको वातावरण सिर्जना गर्ने सरकारको दायित्व पनि उप–निर्वाचनको समाप्तिसंगै पूरा भएको छ । निर्वाचन अथवा उप–निर्वाचनलाई प्रजातन्त्रको सौन्दर्यका रूपमा हेरिने भएकाले निर्वाचन सम्पन्न हुनुलाई प्रजातन्त्रको विजयका रूपमा लिन सकिन्छ । निर्वाचन आयोग, उम्मेदवार, मतदाता, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पर्यवेक्षक लगायतले आ–आफ्नो स्थानबाट दिएका योगदानबाट उप–निर्वाचन सम्पन्न हुन सकेको छ । मतदानको अघि र पछि अछाम, कास्की, दाङ, सर्लाही, डोटीलगायतका केही स्थानमा मतदानकेन्द्र नजिक सामान्य विस्फोट, आपसी झडपका घटना भए पनि त्यसबाट मतदानमा कुनै नकारँत्मक प्रभाव परेन ।
त्यसो निर्वाचनमा खसेको मत परिणामले केही जिज्ञासाहरू भने पैदा गरेकै छ । कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा करिव ६५ प्रतिशत मात्र मत खस्नु तर दुर्गम र शैक्षिक दर कम भएको मानिने जुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान हुँदा राजनीतिक अधिकार प्रयोग र चेतनाको विस्तारलाई बुझ्न सकिन्छ । रोल्पाको थवाङमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको घटनालाई समेत सामान्य रूपमा बुझ्नु हुँदैन । उनीहरूले मतदान गर्न चाहेनन् अथवा के कारणले पाएनन् भन्ने विश्लेषण राज्यसंग हुनुपर्छ ।
त्यसो त उप–निर्वाचनको परिणामको विश्लेषणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई धार देखिएको समेत राजनीतिक विश्लेषकहरूको भनाइ छ । सरकारमा रहेका नेताहरूले समग्र निर्वाचन परिणाममा नेकपाले प्राप्त गरेको सफलतालाई जोड दिएका छन् भने सत्ताबाहिर रहेकाहरूले लामो समयदेखिको वामपन्थी किल्ला भत्केको भन्दै चिन्ता व्यक्त गरेका छन् । खासगरी धरान उप–महानगरपालिका र भक्तपुर क्षेत्र १ क मा पार्टी पराजित भएको विषयलाई नेताहरूले उठाएका छन् । पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले चुनावी परिणाम राम्रो नभएको भन्दै त्यस विषयमा तुरुन्त समीक्षा हुनुपर्ने बताएका छन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले २०७४ को निर्वाचन र उप–निर्वाचनको परिणाममा खासै भिन्नता नरहेको दावी गरेका छन् । धरानमा पार्टीको आन्तरिक कमजोरी र भक्तपुरमा कमजोर उम्मेदवार चयनका कारण नेकपाले ती स्थानमा निर्वाचन हारेको रिमालको तर्क छ । ‘भक्तपुरमा उम्मेदवार बनिसकेको व्यक्तिलाई पार्टीले परिवर्तन गर्ने अवस्था थिएन, त्यसले गर्दा परिणाम पार्टीको पक्षमा आएन’ रिमालको भनाइ छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...