पोखराको मणिपाल अस्पतालमा सुनिताले जन्माइन् चम्ल्याहा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, माघ ३, २०७६

पोखरा-  स्याङ्जा पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनिता प्रधानले ४ सन्तान जन्माउनुभएको छ । बिहीबार बिहान मनिपाल शिक्षण अस्पतालमा शल्यक्रियाबाट तीन छोरी र एक छोरा जन्माएको सुनिताको श्रीमान् गौरव प्रधानले बताउनुभयो ।

‘पहिलोपटक स्याङ्जामा उनको परीक्षण गर्दा स्याङ्जा जिल्ला अस्पतालमा तीन सन्तान रहेको एक्सरे रिपोर्टमा देखिएको थियो’, गौरवले भन्नुभयो– ‘शल्यक्रियाबाट थाहा भयो चार सन्तान रहेछन् ।’

बच्चा रहेको ३७ दिनमा सुनिताले पहिलोपटक स्वास्थ्य परीक्षण गरेको गौरवले बताउनुभयो । उक्त समयमा नै तीन सन्तान रहेको एक्सरे रिपोर्टमा देखिएको थियो । सुनिताको शल्यक्रिया डाक्टर महेन्द्रराज पाण्डेले गर्नुभएको हो ।

पाण्डेका अनुसार ४० हप्ता पुगेपछि डेलिभरी हुनुपर्ने ठाउँमा सुनिताको ३४ हप्ता ४ दिनमा शल्यक्रिया गरिएको हो । जन्मँदा ४ शिशुको अवस्था समान्य नै रहेको पाण्डेले बताउनुभयो।  सामान्यतया नेपालमा जन्मने औषत शिशुको तौल २ केजी ७ सय ग्राम हुन्छ ।

सुनिताका छोरीहरूको तौल १ केजी ६ सय ग्राम, १ केजी ५ सय ग्राम, १ केजी ३ सय ग्राम छ भने छोराको तौल १ केजी ३ सय ग्राम रहेको छ ।

औसतमा ८ लाख डेलिभरी हुँदा १ जनाका ४ सन्तान हुने पाण्डे बताउनुहुन्छ । ३ शिशु रहेको भनेर शल्यक्रिया शुरू गरेको तर ४ शिशुको जन्म भएको पाण्डेको भनाइ छ ।

उहाँले धेरै बच्चा हुँदा शरीरको पूरै अंग नदेखिएका कारण एक्सरेमा ३ बच्चा मात्र देखिने बताउनुभयो । ४ बच्चालाई मनिपाल शिक्षण अस्पतालको एनआईसीयूमा राखिएको छ ।

३ सन्तान पेटमा देखेपछि नै सुनिताको स्वास्थ्यमा बढी ख्याल गरेको सुनिताको फुपू ज्वाला प्रधान बताउनुहुन्छ । फागुन ११ गते अस्पतालले डेलिभरीको मिति तोकेको भए पनि टाउको दुख्ने समस्याको कारण बिहीबार नै शल्यक्रिया गरिएको हो ।

आइतबार नै सुनिता जँचाउनका लागि अस्पतालमा पुगेपछि सुनितालाई डाक्टरको निरीक्षणमा राखिएको थियो । सुनिताको ५ वर्षअघि १ छोरा भएको थियो । मणिपालमा चम्ल्याहा सन्तान सकुसल जन्मेको यो पहिलोपटक हो ।