नेकपाको प्रस्तावित सभामुख अग्नि सापकोटा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ ६, २०७६

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भएको सहमतिअनुसार उहाँलाई सभामुख बनाउने निर्णय गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले पुष्टि गर्नुभयो ।

बैठकले उपसभामुखबाट डा. शिवमाया तुम्बाहाम्फेलाई पुनः राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

आइतबार बिहान सहमति भएलगत्तै अध्यक्षद्वयले तुम्बाहाम्फेलाई राजीनामा दिन पुनः आग्रह गरे पनि उहाँले राजीनामा नदिने अडान लिएको एक सचिवालय सदस्यले बताए ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा गत असोजमा जेल परेपछि खाली सभामुखको भूमिका उपसभामुख तुम्बाहाम्फेले निभाउँदै आउनुभएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकताको सन्देश प्रवाह गर्न शुरूदेखि नै पूर्वमाओवादीबाटै सभामुख हुनुपर्ने अडान राख्दै आउनुभएको थियो ।

यद्यपि नेकपाले सभामुखको टुंगो लगाए पनि निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख तुम्बाहाम्फेले नै राजीनामा दिनुपर्ने हुन्छ ।