अनेरास्ववियुको अध्यक्ष नविना लामा निर्वाचित

-- / प्रकाशित मिति : आइतवार, फाल्गुन ९, २०७२

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औँ सम्मेलनबाट अध्यक्षमा अध्यक्ष केपी ओली समुहकी नविना लामा निर्वाचित भएकी छिन्।

लामाले आफ्ना प्रतिद्वन्द्वी बरिष्ठ नेता माधव नेपाल पक्षका दिपक गौतमलाई २१६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। कुल मत १५९७ मध्ये खसेको १५१९ मतमध्ये लामाले ८६५ प्राप्त गरिन भने गौतमले ६४९ मत प्राप्त गरेको उपाध्यक्षमा विजयी भएका महेश बर्तौलाले जानकारी दिए। तर औपचारिक घोषणा भने हुन बाँकी रहेको बर्तौलाले बताए। लामा अध्यक्ष केपी ओली समुहकी हुन भने गौतम माधव नेपाल प्यानलका हुन ।
यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए। उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। महासचिवमा निर्वाचित ऐन महरले ८३१ मत प्राप्त गर्दा हुसेनले ६६० मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा महेश बर्तौला ७८६ ,रश्मि आचार्य ७४२,शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मतका साथ निर्वाचित भएका छन्। उपाध्यक्षमा निर्वाचित सबै लामाकै प्यानलका हुन्।

यसैगरी ७ सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खड्का, सुदेश पराजुली, आरती लामा, वासिम आलम र अमृत बुढा निर्वाचित भएका छन्। सचिवमा निर्वाचित आरती लामा, वासिम आलम र सुदेश पराजुली बाहेक सवै लामा प्यानलकै निर्वाचित भएका हुन्।

यसैगरी कोषाध्यक्षमा लामा प्यानलकै झपिन्द्र खत्री निर्वाचित भए।

यस्तै अनुशासन आयोगको अध्यक्षमा नीशा अधिकारी निर्वाचित भइन् भने लेखा आयोगमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन्।

यसैगरी उपत्यकाबाट केन्द्रीय कमिटी सदस्यहरुमा अशोक थापा, तपेन्द्र जंग शाही, उदेश राई, भुपेन्द्र शाह, दीपेस प्रसाई, ज्ञान भक्त ढंगोल, बसन्त न्यौपाने, पकंज भण्डारी, गोविन्द श्रेष्ठ, केशरा ज्ञवाली, अञ्जु गौतम, नम्रता महर्जन र विनिता काफले शनिवार नै निर्वाचित भएका थिए।