अमेरिकामा क्षेत्रिय सम्मेलनको तयारी पूरा जोन केरी प्रमुख अतिथि ?

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३

usa confrenceगैर आवासिय नेपाली संघको विश्वभरीका क्षेत्रिय समितिहरूको अमेरिकामा हुन गैरहेको विश्वसम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघको क्षेत्रिय विश्व सम्मेलन अगष्ट २७ र २८ अमेरिकाको न्यू जर्सीमा हँुदैछ । सम्मेलनमा ७३ देशका प्रतिनिधि, केन्द्रिय कार्यसमिति र क्षेत्रिय समितिका प्रतिनिधिहरू गरी पाँच सयको हाराहारीमा सहभागिता रहने अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामाले बताए । सो सम्मेलनमा आ–आफ्नो देशको प्रतिवेदनहरू, अन्तर्राष्ट्रिय समन्वय परिषदको विभिन्न प्रतिवेदनहरूका साथै केहि विषयगत कार्यपत्रहरू प्रस्तुत हुनेछन् । सम्मेलन नेपालको भुकम्पपछिको पुर्ननिर्माणमा एनआरएनको भूमिकाको बारेमा छलफल केन्द्रित हुने लामाले बताएका छन् । संयोजक लामाका अनुसार सम्मेलनमा सहभागीहरूका लागि निमन्त्रणापत्र पठाई सकिएको र सम्मेलनमा सहभागी हुन आउनेहरूको दर्ता प्रक्रिया पनि शुरु भएको छ । सम्मेलन अमेरिकाको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुनेछ ।

संयोजक लामाका अनुसार यस अघि हिलारी क्लिन्टनलाई गरिएको निमन्त्रणा अब उहाँको कार्यव्यस्तताको कारण जोन केरीलाई गरिएको छ । अहिलेसम्मको अवस्थामा केरी कार्यक्रममा उपस्थिति हुनेछिन् । त्यसैगरी नेपालबाट नयाँ सरकार बनेपछि परराष्ट्रमन्त्री र केहि मन्त्रालयका सचिव, राजनीतिक दलका केहि नेताहरूका साथै केहि पत्रकार पनि आउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा ७३ देशका कम्तीमा ५ सयभन्दा बढी प्रतिनिधिहरूले भाग लिने हुनाले सहभागीहरूका लागि बसोवासको व्यवस्थापन सम्पूर्ण रुपमा तयारी सकिसकेको छ । गैरआवासिय नेपाली संघका अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले यो सम्मेलनले नेपालमा गतबर्ष गएको भूकम्पपछिको पुर्ननिर्माण, प्रवासमा नेपालीहरूको अवस्था र नेपालको विकासमा एनआरएनहरूको भूमिका लगायत महत्वपूर्ण विषयमा छलफल केन्द्रित हुने बताए । कार्यक्रममा महासचिवको प्रतिवेदन, विभिन्न विषयमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुत हुने छन् ।

एनआरएनले हरेक एक कार्यकालमा एक पटक विश्वस्तरीय क्षेत्रिय सम्मेलन गर्ने गर्दछ । यस अघि सन् २०१० मा अमेरिकाको ह्युष्टनमा भएको थियो । एनआरएनको विश्व सम्मेलनले पारित गरेको कार्यदिशाको कार्यन्वयनको अवस्थाका बारेमा छलफल हुने भएकोले यसलाई मिनि विश्व सम्मेलनका हिसावले हेरिन्छ । यस्तो खालको क्षेत्रिय सम्मेलन एनआरएनले हरेक क्षेत्रमा पालैपालो गर्दै आएको छ ।

सम्मेलन तयारीका गठित समितिले सम्मेलनमा सहभागी हुनेहरूको लागि निमन्त्रणा पठाउनेदेखि लिएर सम्मेलनका लागि चाहिने सबै खाले बन्दोबस्त गर्न ज्यक्सन हाईटमा एक अस्थायी कार्यालय नै खोलेर काम गर्दै आएको छ । एकातिर अमेरिकामा तयारी भैरहेको छ भने अमेरिका क्षेत्रका सहसंयोजक एसी शेर्पा नेपालमा नै बसेर सचिवालयको समेत तयारी गरिरहेका छन् । सम्मेलनलाई भव्य बनाउन समितिमा क्षेत्रिय सह–संयोजक एसी शेर्पा, अमेरिकाका अध्यक्ष केशव पौडेल, पूर्व महासचिव रतन झा, पूर्वअध्यक्ष आईसिसि सदस्य खगेन्द्र जिसी, आईसिसि सदस्य नवराज गुरुड, एनआरएन क्यानडाका अध्यक्ष तुलसी सापकोटा, अमेरिकाका उपाध्यक्ष कृष्ण पोख्रेल, महासचिव तिलक श्रेष्ठलगायत रहेको नौ सदस्यीय समिति गठन भएको थियो सो समितिले अहोरात्र काम गरिहेको क्षेत्रिय संयोजक सोनाम लामाले बताए ।

विश्वभर रहेको एनसिसिमध्ये अमेरिकामा सबै भन्दा धेरै साँढे १० हजार भन्दा बढी सदस्य रहेको छ । हरेक दुई बर्षमा गरिने क्षेत्रिय सम्मेलन ६ वटा क्षेत्रमा गर्दा १२ बर्षमा एक पटक सम्बन्धित क्षेत्रको पालो आउने हुनाले हरेक एनसीसीले त्यसलाई काम गर्ने अवसरका रुपमा लिन्छन् ।

युरोपको क्षेत्रिय सम्मेलन

गैरआवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन सम्पन्न भएको छ । जुलाई ३० र ३१ मा डेनमार्कको कोपेनहेगनमा सम्पन्न सम्मेलनले नेपालको पूर्ननिर्माणमा केन्द्रित हुँदै संगठन विस्तारका कार्यक्रमहरूलाई बढी महत्व दिएको छ ।

युरोपका नेपालीको अभियान लगानी, पूर्ननिर्माण र पर्यटन भन्ने नारासहित युरोपेली बैठक सम्पन्न भएको हो । देशमा बिनाशकारी भूकम्पपछि पूर्ननिर्माण र पर्यटन क्षेत्रलाई बैठकले बढवा दिने अपेक्षा राखिएको छ । सन् २०१४ को बार्सिलोनामा सम्पन्न पछिल्लो युरोपेली बैठक भने युरोपमा एनआरएन अभियान, नेपाल र नेपालीको पहिचान भन्दै सम्पन्न भएको थियो । नेपालको पूर्ननिर्माण र विकासका लागि साझेदारी गर्ने विषयमा यूरोप घोषणापत्र जारी गरिएको छ ।

१३ बुँदे निर्णय गर्दै क्षेत्रीय सम्मेलन दोहामा सकियो

गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय भेला १३ बुँदे निर्णय गर्दै कतारको राजधानी दोहामा सम्पन्न भएको छ । भेलाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित मुलुकमै पुन: श्रम स्वीकृति र बिमाको ब्यबस्था गर्न सरकारसँग माग गरेको छ । यसैगरी भेलाले दुबई, लेबनान र इराकमा कुटनीति निकायको स्थापना गर्न तथा बहराइन, कुवेत र साउदी अरेबियामा सिधा हवाई सम्पर्क स्थापित गर्न पनि मागलाई प्रमुखताका साथ उठाएको छ ।

बैदेशिक रोजगारीमा गएका कामदारले घरायसी प्रयोजनका लागि सुन ल्याउन पाउने नीतिमा सरकारले हालै गरेको परिवर्तनप्रति असन्तोष जनाउँदै संघले पूर्ववत ब्यबस्थालाई कायमै राख्न पनि सरकारसँग माग गरेको छ । संघले मध्यपूर्वका नेपाली नियोगहरूमा जनशक्तिको अभाव देखिएको हुँदा त्यसलाई तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ ।

भेलामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले प्रमुख आतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने आईसीसी उपाध्यक्षहरू भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी लगायतका गैरआवासीय नेपालीहरूका शीर्ष नेतृत्व र मध्यपूर्वका बिभिन्न देशका गैरआवासीय नेपाली अगुवाहरूको उपस्थीति थियो ।

वैदेशिक रोजगार नियमावली २०६४ वमोजिम कम्तीमा एक हजार महिला कामदारका लागि महिला श्रम सहचारी तथा ५ हजार पुरुष कामदारको लागि श्रम सहचारीको व्यवस्था साथै पिडित महिला तथा पुरुष कामदारहरूको लागि आश्रयस्थलको व्यवस्था गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।