नेपाललाई १ सय ५६ रनको चुनौती

-- / प्रकाशित मिति : सोमवार, फाल्गुन ३०, २०७३

काठमाडौं–नेपाल तथा केन्याबीच काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा केन्याले नेपाललाई १ सय ५६ रनको चुनौती प्रस्तुत गरेको छ । भरखरै सम्पन्न भएको पहिलो इनिङको खेलमा केन्याले ४६.१ ओभरमा सबै विकेट गुमाउदै १ सय ५५ रन बनाउन सफल भएको हो ।
यसैबीच नेपालले आफ्नो ब्याटिङ प्रारम्भ गरेको छ । यो सामाग्री तयार पारुञ्जेल नेपालले ३ ओभरको खेलमा १४ रन बनाउनै दुई विकेट गुमाएको छ । सुनिल धमला पहिलो विकेटको रुपमा आउट भए भने सागर पुन ५ रन बनाएर आउट भए ।
आज बिहान टस जितेर केन्यालाई ब्याटिङ्गका लागि निम्त्याएको नेपालको सुरुवात राम्रो रह्यो । १४ रनमै पहिलो विेकट गुमाएको केन्याको नियमित रुपमा विकेट झर्दै गए । करिम ३८ कलिन्स अबुया ४८, राकेप पटेल २१ बाहेक अरुले राम्रोसँग् खेल्न सकेनन् ।
नेपालका लागि शरद भेषवाकर ४, महबुबु आलम र बसन्त रेग्मीले २–२, सागर पुन र संदिप लामिछानेले एक–एक विकेट लिए ।
२८ फागुनमा केन्यासँग भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । आजको खेल नेपाल जित्नै पर्ने अवस्थामा छ । पहिलो खेलमा पराजित भएको नेपालमा ६ अंकसहित आठ टीम सम्मिलत च्याम्पियनसीपमा छैटौं स्थानमा छ । केन्या १० अंक सहित पाँचौ स्थानमा छ भने नेदरल्यान्ड १६ अंकसहित शिर्षस्थानमा छ । पपुवान्यूगिनी १२, हङकङ र स्कटल्यान्ड ११–११ अंकसहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । २–२ अंकसहित नामिविया सातौं र यूएई पुछारमा रहेको छ । अब नेपालले हङकङ र यूएईसँग खेल्न बाँकी छ । आजको खेलमा जित हासिल गरे २०१९ को विश्वकप क्वालिफायर खेल्ने झिनो आशा जीवित रहनेछ ।