अलि अलि भन्दै आइन् गायिका चन्दा देवान

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ ६, २०७४

काठमाडौं– स्थापित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा चर्चित नायिका एवं मोडल एलिसा राईले आकर्षक नृत्य–अभिनय गरेकी छिन् । एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन् । मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोको छायांकन मनोरम स्थल नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो । भिडियोमा एउटी छोरीले आमासंग अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको छ ।
सचिन सिंहद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु चेतन बाराकोटीले रचना गरेका हुन् । म्युजिक भिडियोको निर्देशन युवा सञ्चारकर्मी विदुर खतिवडाले गरेका हुन् । उक्त भिडियोको छायांकन उत्कृष्ट छायाकारको परिचय बनाइसकेका सुदीप बरालले गरेका हुन् भने राजीव समरले यसमा कोरियोग्राफी गरेका छन् ।
भिडियो केही महिनाअघि चेलीबेटी बेचबिखन विरुद्धको अभियानलाई सहयोग पुगोस् भन्ने चाहना राखेर ‘छानो हाल्ने सपनीमा म बेचिनु पर्यो’ गीत गाएकी गायिका चन्दाले यो नाच्ने किसिमको गीतले आम नेपालीलाई नाच्न अग्रसर गराउने अपेक्षा राखेकी छिन् । उक्त गीतको म्युजिक भिडियोलाई केन्द्रबिन्दु टिभीले सार्र्वजनिक गरेको हो ।

यस्तो छ रम्दैछ अलि अलिको म्युजिक भिडियो