बिबिध योजनाहरु सहित राजदुत र महावाणिज्यदुतहरु बिचको बैठक सम्पन्न

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ १४, २०७४
लामो समय पश्चात राजदुत पाएको नेपाली दुताबास अस्ट्रेलियाका हालै बिबिध महत्वकांक्षी आयोजनाहरु सार्बजनिक भएका छन् । दुतावासले यहाँ रहेका बिभिन्न राज्यका बाणिज्यदुतको कार्यलयसंग  सहकार्य गर्दै नेपालको लागि गर्न सकिने अल्पकालिन र दीर्घकालिन बिभिन्न योजनाहरु सार्वजनिक गरेको छ । नेपाली दुतावास क्यानबेरामा गत अगस्त २९ मंगलबार आयोजना गरिएको राजदुत र बाणिज्यदुतहरु संगको परामर्श बैठकमा ‘नेपाल अष्ट्रेलिया ट्रेड तथा कमर्स टीम’ स्थापना गर्ने लगायतका निर्णय गरिएको  दुतावासद्धारा जारि प्रेस बिज्ञप्तिमा जनाइएको छ।
यसरि गठन हुने नेपाल अष्ट्रेलिया ट्रेड तथा कमर्स टीमले नेपाल र अष्ट्रेलियाबिच ब्यापार, बाणिज्य तथा लगानीको अवसरहरुको विस्तारका लागि महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ । यसैगरि बिद्यार्थीहरुको हितका लागि कल्याणकारी कार्यक्रम ल्याउने, नेपालको उत्पादन र उद्योग तथा ब्यवसायको प्रबद्र्धन गर्न आर्थिक सम्मेलन गर्ने लगायतका बिबिध योजनाहरु पनि यसै साथ सार्वजनिक गरिएको छ । यसै गरि नेपाल र अष्ट्रेलियाका शहरहरुका बिचमा भगिनी सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक कार्यक्रमहरुको आदानप्रदान मार्फत द्धिदेशिय सम्बन्धलाई अझ मजबुत बनाउन पहल गर्ने, गैर आवासीय नेपाली संघ एनआरएन तथा शैक्षिक परामर्शदाताहरु संगको सहकार्यमा बिद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने लगायतका योजनाहरु छन् । यसैगरि, दुईदेशबिचमा उच्चस्तरीय राजनीतिक, शैक्षिक र ब्यापारिक भ्रमणहरु आदानप्रदान गर्न समेत पहल गर्ने निर्णय गरिएको छ ।
सम्पन्न  सो एक दिने बैठकमा न्यु साउथ वेल्स र भिक्टोरियाका महावाणिज्यदुतहरु दीपक खडका र चन्द्र योञ्जन तथा दक्षिण अष्ट्रेलिया, वेष्टर्न अष्ट्रेलिया र क्युन्सल्याण्डका वाणिज्यदुतहरु क्रमशः दीपक धमला, फ्रेडरिक नील ब्राउन र जोसेफ एन्थोनी टुमाको सहभागिता रहेको थियो ।