दसैं तिहारको बीचमा सम्पन्न हुने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आठौं विश्व सम्मेलनका खातिर संसार भरिका करीब ७० देशबाट २ हजारको हाराहारीमा प्रतिनिधिहरूको उपस्थिति थियो काठमाडौं बौद्धस्थित ५ तारे होटल हायातमा । बिशेष गरि प्रत्येक २ बर्षमा दसैं तिहारको आसपासमा आयोजना गरिने यो सम्मेलन विश्वभरि रहेका नेपालीहरूमध्ये केहीलाई “पशुपतिको यात्रा शिद्राको व्यापार” जस्तै हुने गर्दछ ।

सन् २००३ मा जब “नेपालीका लागि नेपाली” अभियान , “एनआरएनए” सुरु हुंदा विश्वमा करिब ३० देशहरूमा मात्र नेपालीहरू पुग्न सकेका थिए भने आज एक सय भन्दाबढी देशहरूमा नेपालीहरू रहेको अनुमान छ ।

करिब १४ बर्षमा एनआरएनएको आकारले अनपेक्षित छलांग मारिसकेको छ । आकारसंगै ठुलो संख्यामा गुणस्तरीय जनशक्ति डायस्पोरा रहेकोले संस्थाप्रति मानिसहरूको अपेक्षा उत्तिकै बढेको छ । प्रवासमा बस्ने यति धेरै नेपालीहरूलाई समन्वय गरि समृद्ध नेपालको सपना बोकेर एउटा मिनी राष्ट्र संघीय मोडेलमा अघि बढेको संजाल एनआरएनएमा व्यबस्थापन र प्रभावकारी प्रशासनमा भने थुप्रै चुनौतीहरू देखा पर्न थालेका छन् । किन कि यो गैर नाफामूलक र स्वयंसेवी संस्था हो ।
सन् २००३ मा जब “नेपालीका लागि नेपाली” अभियान , “एनआरएनए” सुरु हुंदा विश्वमा करिब ३० देशहरूमा मात्र नेपालीहरू पुग्न सकेका थिए भने आज एक सय भन्दाबढी देशहरूमा नेपालीहरू रहेको अनुमान छ । एनआरएनएको संजाल पनि सुरुमा २० भन्दा कम मुलुकहरूमा स्थापित थियो भने आठाैं विश्व सम्मेलनसम्म आइपुग्दा ७८ देशहरूमा गैर आवासीय नेपालीहरूको राष्ट्रिय समन्वय समिति गठन भैसकेको छ । त्यसैगरि सुरुमा एक हजार भन्दा कम पंजीकृत सदस्य रहेको एनआरएनए आज करिब १ लाखको हाराहारीमा पंजीकृत सदस्य छन् भने बिश्व सम्मेलनमा प्रतिनिधिको रुपमा मात्रै करिब दुई हजार डेलिगेटहरूको उपस्थिति रहनु संस्थाको महत्व र आकर्षण बढेको मान्नु पर्दछ ।

सदस्यहरूले पैसा तिरी सकेपछि पनि ७/८ घण्टासम्म लाइनमा बस्नुका साथै सचिवालयमा काम गर्ने कर्मचारीहरूको व्यवहार अनावस्यक र अत्यन्तै झन्झटिलो देखिन्थ्यो ।

सचिवालयमा व्यवस्थापनको झमेला
अक्टोबरको दोश्रो हप्ता विश्व सम्मेलनमा भाग लिन संसारबाट काठमाडौंमा ओइरिंदै गर्दा सचिवालयले दिनु पर्ने सेवामा निकै अस्तव्यस्त देखियो । १० अक्टोबेरदेखि वितरण गर्ने भनिएको प्रतिनिधि परिचय पत्र १५ अक्टोबर हायातको प्राङ्गणसम्म परिचय पत्र लिनेको लामो र अव्यवस्थित लाइन देख्न सकिन्थ्यो । एकातिर सबै राष्ट्रिय समन्वय समितिहरूले प्रतिनिधिहरूको नामावली समयमा नपठाएको गुनासो थियो भने अर्कोतिर विश्वभरि रहेका एनआरएनए पंजीकृत सदस्यहरूको लगत केन्द्रिकृत सिस्टम (MIS) द्वारा व्यबस्थित गर्ने प्राबधान अनुरुप कतिपय एनसीसीका पदाधिकारीहरू उक्त नयाँ सिस्टमसंग काम गर्न कठिन भएकोले यो समस्या आएको गुनासो सचिवालयको थियो । जे होस् सदस्यहरूले पैसा तिरी सकेपछि पनि ७/८ घण्टासम्म लाइनमा बस्नुका साथै सचिवालयमा काम गर्ने कर्मचारीहरूको व्यवहार अनावस्यक र अत्यन्तै झन्झटिलो देखिन्थ्यो । व्यबस्थापनमा आवस्यक सुधार र सम्मेलनलाई चुस्त गतिमा संचालन र सम्पन्न गर्नका लागि भनि यस पटक प्रतिनिधिहरूको शुल्क २५ प्रतिशतले वृद्धि गरिंदा पनि व्यबस्थापनले आवस्यक जनशक्ति, साधन, श्रोत र प्रबिधिको प्रयोग गर्न नसक्नाले सम्मेलनमा प्रतिनिधिहरूले पाएको दु:ख र झमेलाको उचित सम्बोधन आउंदो कार्यसमितिले गर्ने छ र २०१९ विश्व सम्मेलनमा यस्तो दोहोरिने छैन भन्ने अपेक्षा गरुं ।

अचम्म लाग्दो कुरा त के भने सानो भन्दा सानो पद ( क्षेत्रीय उपसंयोजक हरू ) मा चुनावमा उठ्दा पनि १ लाख रुपैया भन्दा कमको उम्मेदवारी दस्तुर थिएन । तैपनि लिन भन्दा दिन जाने पदहरूमा यति धेरै उम्मेदवारी पर्नु, जित्ने, जिताउने, हार्ने, हराउने खेल, तानातानी, खिचातानी र तछाड मछाड हेरी नसक्नु र बुझिनसक्नु थियो

अनुत्पादक चुनाबी प्रतिश्प्रर्धा
“के छ माहोल ?” यो वाक्यांश सायद सबै भन्दा धेरै प्रयोग भयो होला कन्फेरेन्सको अघिल्लो ३ दिनसम्म । अलि अलि चिनेको होस् या चिन्दै नचिनेको होस् हात मिलाउने, गला मिलाउने अनि भोट माग्ने अनि अर्कोपट्टीबाट “हुन्छ”, “भैहाल्छ”, “तपाईको जित सुनिश्चित छ” जस्ता बार्तालाप नै धेरै चल्तीमा थिए करिब करिब सम्मेलन भरि नै । हुन पनि कूल ३८ पदाधिकारीहरूको लागि भएको निर्वाचनमा करिब १५० भन्दा बढी उम्मेदवारी परेको थियो । सबैभन्दा धेरै उमेदवारहरू यूरोपबाटै थियो भने अफ्रीका क्षेत्रका सबै क्षेत्रीय पदहरूमा निर्बिरोध भएकोले चुनाव भएन । अन्य क्षेत्र र केन्द्रीय पदहरूमा पूर्वनिर्धारित समय तालिका अनुसार अक्टोबर १६ का दिन अपरान्हबाट मतदान सुरु भएको थियो भने मतदान करिब मध्यरातसम्म चलिरहेको थियो । अचम्म लाग्दो कुरा त के भने सानो भन्दा सानो पद ( क्षेत्रीय उपसंयोजक हरू ) मा चुनावमा उठ्दा पनि १ लाख रुपैया भन्दा कमको उम्मेदवारी दस्तुर थिएन । तैपनि लिन भन्दा दिन जाने पदहरूमा यति धेरै उम्मेदवारी पर्नु, जित्ने, जिताउने, हार्ने, हराउने खेल, तानातानी, खिचातानी र तछाड मछाड हेरी नसक्नु र बुझिनसक्नु थियो, विश्व सम्मेलनताका काठमाडौंको दृश्य । जातीय, क्षेत्रीय र राजनैतिक ध्रुबिकरण अनि गुटबन्दीकरणको चरम पराकाष्टा पनि छरपस्ट देखिन्थ्यो एनआरएनए विश्व सम्मेलन सेरोफेरोमा ।

आइसीसीमा अष्ट्रेलियाको शर्मनाक प्रतिनिधित्व
संसार भरिका एनआरएनएहरूमा अष्ट्रेलिया राष्ट्रिय समन्वय समिति अब्बल मानिन्छ । २०१३ मा शेष घले अध्यक्ष हुंदै गर्दा अष्ट्रेलियन एनआरएनहरूको छाती गर्बले फुलेको थियो । २०१३ देखि २०१७ सम्म कुनै पनि एनआरएनए अभियानमा अष्ट्रेलियाको भूमिका अग्रस्थान मै रहन्थ्यो । जब निबर्तमान अध्यक्ष शेष घले आफ्नो ४ बर्षे कार्यकाल सकेर बहिर्गमन हुंदै गर्दा आइसीसीमा अष्ट्रेलियाको प्रतिनिधित्व शून्य नै हुन पुग्यो । यसो हुनुमा यहां काम गर्न सक्ने मान्छे नभएर होइन तर आपसी सद्भाव र समन्वयको कमी भन्ने पक्कै हो । यस्तो विश्व संजालमा सबै क्षेत्रको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने ख्यालै नगरी प्राय: सबै पदहरूमा अष्ट्रेलियाबाट उम्मेदवारी दिदै विश्व जनमत अष्ट्रेलियन उम्मेदवारप्रतिको नकारात्मक प्रभावका कारणले पनि आइसीसी उम्मेदवारहरू सबै पराजित हुन पुगेका हुन् । अष्ट्रेलियन एनआरएनको आईसिसिमा जति भुमिका र योगदान छ त्यतिनै विवाद र धु्रवीकृत अवस्थाले आगामी दिनमा आईसिसिमा प्रतिनिधित्व रहनेमा शंका उत्पन्न भएको छ । आईसिसिमा प्रतिनिधित्वका लागि फुटेर कहिल्यै संभव छैन भन्ने कुरामा जवसम्म सहमत भइन्न तवसम्म अष्ट्रेलियन एनआरएनको हविगत अहिलेको जस्तैमा सीमित हुनेछ । हिजो केन्द्रिय नेतृत्व गरेको हामीले आज हामी आपसी एकताको अभावमा शुन्यमा झर्दा पनि हामीले सिकेनौ भने कहिल्यै सफल हुन्नौ । यस पटकको पाठबाट आगामी दिनमा अगुवाहरुले बेलैमा एकताको प्रयास गर्न जरुरी छ ।

मनोनित केन्द्रिय सदस्यले एकैचोटी अध्यक्षको चाहाना सस्थागत हिसावले पनि अपाच्य कुरो थियो । उहांको उम्मेदवारी कै सिलसिलामा विचार विमर्श गर्न जमुना गुरुङद्वारा बोलाइएको अष्ट्रेलियन एनआरएन प्रतिनिधिहरू संगको छलफलमा धेरै शुभ चिन्तकहरूले उहांलाई अहिले उम्मेदवारी दिनु उचित होइन भन्ने राय पनि नदिएका होइनन् ।

जमुना गुरुङको हतास उम्मेदवारी
निबर्तमान अध्यक्ष शेष घलेले बिगत ४ बर्षमा कमाएको हाइ हाइ अन्तिम समयमा आएर उहांकी श्रीमती जमुना गुरुङद्वारा अध्यक्ष पदको लागि गरिएको उम्मेदारी घोषणा र पराजयबाट दांतमा ढुंगा लागेको अनुभव समस्त अष्ट्रेलियन एनआरएनहरूले महसुश गरेका छन् । अष्ट्रेलियाले बिगत ४ बर्ष सम्हाली सकेको थियो र आउंदो कार्यकाल संस्थामा लामो समय काम गरेकाहरूलाई दिनु उपयुक्त हुन्थ्यो भने अर्कातिर श्रीमानकाे कार्यकाल सकिदै गर्दा त्यहि पदको कार्यभार श्रीमतीले दाबि गर्नुलाई एनआरएनहरूले सहज रुपमा लिन सकेनन् । मनोनित केन्द्रिय सदस्यले एकैचोटी अध्यक्षको चाहाना सस्थागत हिसावले पनि अपाच्य कुरो थियो । उहांको उम्मेदवारी कै सिलसिलामा विचार विमर्श गर्न जमुना गुरुङद्वारा बोलाइएको अष्ट्रेलियन एनआरएन प्रतिनिधिहरू संगको छलफलमा धेरै शुभ चिन्तकहरूले उहांलाई अहिले उम्मेदवारी दिनु उचित होइन भन्ने राय पनि नदिएका होइनन् । तर उहांले केहि आफन्तहरूलाई संस्थामा प्रवेश गराउन गरिएको बार्गेनिङ असफल भएको छ । लाप्राक र सचिवालयको काम सम्पन्न गर्नको लागि मेरो उम्मेदवारी भन्दै चुनाबी प्रस्तिस्पर्धामा जाने निर्णय गरेपछि कसैको केहि लागेन । अन्तत: बिगत ४ बर्षसम्म एनआरएनएमा आफ्नो अमूल्य समय र श्रोत दिएका निबर्तमान अध्यक्षको सम्मानजनक बहिर्गमन हुन सकेन । उहांको आगमन र गमनलाई जसरी आए त्यसरी नै गए भनेर चर्चा चलाउन थालिएको छ । त्यसमा सायद दुरगामी सोचको अभाव भयो की कसैको बहकावमा लागियो त्यो घले दम्पतिले बुझ्ने कुरा हो ।

अन्त्यमा, एनआरएनए जस्तो स्वयम् सेवी संस्थामा बसेर काम गर्छु भन्दा मानिसहरुको खिचातानी, रस्साकस्सी, पैसा र राजनैतिक शक्तिको प्रदर्शन धेरै मानिसहरुले नबुझेको कुरा हो भन्नु अत्युक्ति नहोला । पदमा जान पाए संसारै जिते जस्तो, नपाए अाकासै खसे जस्तो मानसिकताले ग्रस्त मानिसहरु एनआरएनए विश्व सम्मेलनको आसपासमा यत्र तत्र भेटिन्छन् । आखिर यो सबै के का लागि ? राजनैतिक पृष्टभूमि र आर्थिक रुपमा सम्पन्न नहुने मानिसहरु यो संस्थामा अट्नै नसक्ने हो ? त्यसै हो भने एनआरएनएको स्थापित मान्यता अनुरुप यो अभियान धेरै अगाडि जानै सक्दैन । एनआरएनएलार्इ रंगी बिरंगी फूलहरुको रमणीय बगैचा जस्तो एउटा समावेसी चौतारी बनाउन सबै जिम्मेवार एनआरएनहरु सतर्क हुनु पर्छ र सोहि अनुसारको नीति नियम बनाउनु पर्छ अन्यथा संस्थाले लिएको उद्देश्य पूर्ति हुने देखिन्न त्यसैले यस बिषयमा हामी बेलैमा सतर्क हुनु जरुरी छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार