न्याभ कप क्रिकेट टुर्नामेन्ट हुदै 

-- नेपाली टाईम्स मेलबर्न / प्रकाशित मिति : बुधबार, पुस १९, २०७४
अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायको क्रिकेट टुर्नामेन्ट हुने भएको छ । नेपलिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले क्रिकेट टुर्नामेन्टको आयोजना गरेको हो । नेपाली समुदायलाई खेलकुद क्षेत्रमा अगाडी बढाउने उद्देश्यले विगत एक दशकदेखि न्याभले क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै आएको छ। यो वर्ष क्रिकेट टुर्नामेन्टको तेह्रौ सिजन हो ।
यस  तेह्रौ  न्याभ क्रिकेट टुर्नामेन्टमा हिमालयन क्लब ए, हिमालयन क्लब बि, नर्रे किंग्स क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब ए, सगरमाथा क्रिकेट क्लब बि, सगरमाथा क्रिकेट क्लब सी, गोर्खाली क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, इस्टर्न ब्लुज क्रिकेट क्लब गरि नौं क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । खेलहरु आगामी ७ जनवरी देखि हरेक आइतबार बिहान ९ बजे र दिउसो १ बजे Donath Reserve, 2 Wagga Road, Reservoir मा हुनेछन् । फाइनल खेलको मिति र स्थान छिट्टै सार्वजनिक गरिने बताइएको छ ।
न्याभले हरेक वर्ष जसतै यो वर्ष पनि सहभागी भएर खेलाडीहरुलाई हौसला दिनको लागि सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ । यस वर्षको टुर्नामेन्टलाई एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ । न्याभले आगामी अप्रिल महिनामा मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट समेत आयोजना गरेको छ । भिक्टोरियन मल्टिकल्चरल कमिसनको सहयोगमा हुने उक्त टुर्नामेन्ट अप्रिल १४, १५ र २१ तारिखमा हुनेछ ।