अहंकारको ओझेलमा हाम्रो समाज सेवा

-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : सोमवार, बैशाख १७, २०७५

अष्ट्रेलिया हाम्रो समाज जति द्रुत गतिमा बढेको छ अव्यवस्थित पनि उत्तिनै छ । व्यक्तिगत रुपमा हेर्दा नेपालीहरुको उन्नति र प्रगति अत्यन्तै प्रशंसनीय र प्रेरणादाइ छ । तर सामुहिक रुपमा हाम्रो खासै पहिचान छैन । त्यो भन्दैमा हामी आफ्नो सशक्त पहिचान राख्न समर्थ भैसकेका छैनाै‌ भन्ने चाही होइन ।

नेपालीहरु अष्ट्रेलियामा सहज रुपमा प्रवेश गर्न थालेको करिब दुई दशक मात्र हुँदै गर्दा अन्य पुराना स्थापित समुदायकै हाराहारीमा हाम्रो संख्या हुनु खुसीको कुरा हो । तर यसको उचित व्यबस्थापन अर्को चुनौतीको बिषय बनेको छ । बिगत करिब दुई दशकदेखि विद्यार्थी भिसामा सहजता तथा पढाई पश्चात स्थाई बसोबास गर्ने ढोका खुल्नाले अष्ट्रेलियामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको हो र यो क्रम निरन्तर छ । आजका मितिसम्म हेर्दा नेपालीहरुको संख्या करिब १ लाखको हाराहारीमा देखिन्छ भने आउँदो ५ वर्षमा हाम्रो समुदायको आकार अहिलेको भन्दा दोब्बर हुने कुरा नकार्न सकिन्न ।

बढ्दो समुदायलाई परिवर्तित परिवेशमा सहजीकरणकालागि पहिलो चरणमा अष्ट्रेलियामा आइ सेटल भएका नेपालीहरुले गर्नु पर्ने थुप्रै कामहरु छन् । बिशेष गरि अष्ट्रेलियामा बसेका र थपिदै गरेका नेपालीबीच सक्दो समन्वय गर्ने, अवसर तथा चुनौतीहरुका बारेमा सुसुचित गराउने, उनीहरुको सुख दुःखको साथी बन्न विविध कल्याणकारी तथा सूचानामूलक कार्यक्रम गर्दै जाने, अष्टझेलियन मूलप्रवाह राजनीति तथा सरकारी र गैर सरकारी संघ संस्थाहरुसंग सहकार्य गरि समग्र नेपाली समुदायलाई बहुसंस्कृतिक अष्ट्रेलियाको एउटा अभिन्न अंगको रुपमा स्थापित गराउने जस्ता थुप्रै दीर्घकालिन महत्वका कामहरु गर्नु पर्ने देखिन्छ ।

केहि अपवादलाई छोडेर पहिलो पुस्ताका नेपालीहरुले समग्र समुदायलाई कुशल नेतृत्व दिन सकेजस्तो देखिदैन । चाहेर पनि हाम्रो समाजमा अग्रजहरुको अग्रगामी र नेतृत्वदायी भूमिका खासै प्रभावकारी हुन नसकेको यर्थाथ हामीले स्विकार्नु पर्छ । कहिले काहिँ त यस्तो लाग्छ गुणस्तर र सम्भाव्यता अनुसार हाम्रो समाजले फड्को मार्न नसक्नुको कारण पुराना भनेका मानिसहरुको सोचाई पुरानै तथा नयाँ पुस्ताको सोचाई र कार्य शैलीमा ठूलो ग्याप हुनु हो । नयाँ ठाउँ, नयाँ परिवेशका अवसरहरु, नयाँ सोच र कार्य शैलीलाई लिएर अगाडि बढ्नुको सद्मा राजनीति, क्षेत्र र वर्गरुपी पुरानो नेपाली शैलीकै अहंकार र एक खाले पूर्वाग्रहले धेरै मानिसहरुलार्ई गाँजेको छ । एनआरएनए लगाएत च्याउ सरि खुलेका संघ संस्थाहरुमा यस्तै खालको अस्वस्थ गन्ध भेटिन्छ । पुरानो, परिपक्क र जिम्मेवार बन्नु पर्ने मानिसहरु एकातिर नैराश्य र किकर्तब्यविमूढ छन् त अर्कातिर थुप्रै मानिसहरुमा एक प्रकारको अहंकारको पीडा छ । नयाँ ठाउँ, नयाँ संस्कारका चुनौतीहरुलाई फुटेर होइन जुटेर सामना गर्ने तथा अवसरहरु मिलेरै सदुपयोग गर्नु पर्नेमा कम्तिमा पनि सामुहिक मुद्दामा पनि हाम्रो समाजको मन किन किन खासै जोडिएको जस्तो पाइँदैन । यसो हुनुमा पहिलो लटमा झरेका नेपालीहरुको मन कुनै न कुनै रुपमा विभाजित छ र अस्वस्थ प्रतिस्प्रर्धा प्रमुख बाधक छ ।

आजभोलि एनआरएनए, नेपाल एम्बेस्सी तथा अन्य सामुदायिक संघ संस्थाहरु द्धारा आयोजित कार्यक्रमहरुमा मानिसहरुको सहयोग, सहभागिता तथा ऐक्यबद्दता पातलिंदै गएको भान हुन्छ । समुदायको वृहत्तर हित तथा सरोकार संग सम्बन्धित कार्यक्रमहरुमा समेत जिम्मेवार मानिसहरु बाटै देखाइने नैराश्यता र निस्कृयता हाम्रो समुदायको एकता, सौहार्दता तथा सांगठनिक सबलताका लागि राम्रो संकेत होइन । सामाजिक काम गर्दा पनि मानिसहरु के गर्यो भन्दा पनि कसले गर्यो ? भन्ने आधारमा मूल्यांकन गरेको देखिन्छ जुन राम्रो होइन ।

समुदाय ठूलो छ, विभिन्न नाममा खुलेका संघ संस्थाहरुले हप्तामा दर्जनौ कार्यक्रम हुने गर्दछ तर अधिकांश यस्ता कार्यक्रमहरुले बृहत समुदायको हित भन्दा पनि कर्मकाण्डी रुप लिन्छन् । मैले यो गरे, त्यो गरे भन्न र संचार तथा सामाजिक संजालमा ध्यानाकर्षण गर्न मै सिमित देखिन्छन् । बाँकी रह्यो एनआरएनएको कुरा । एनआरएनए अष्ट्रेलिया गैर आवासीय नेपाली संघ विश्व संजालको एउटा अभिन्न अंग हो । यसले विश्वमा रहेका समग्र नेपालीहरुको अभिभावकत्व प्रदान गर्दै नेपाल र नेपालीका लागि आयोजना हुने कार्यक्रममा सम्बन्धित सबै संग सहकार्य र सहयोग गर्ने नै हो । एनआरएनएको काम भनेको प्रत्येक २ वर्षमा एक थान कार्य समितिको चुनाब गर्ने र समितिका सदस्यहरुले २ वर्षको कार्यकाल पूरा गर्ने, पुर्वाग्रह राखी मानिसहरुलार्ई विभिन्न कित्तामा उभ्याउने, पद कै लागि मरिहत्ते गर्ने मात्र नभएर आगामी दस वर्षमा नेपाल र नेपालीका लागि के गर्न सकिन्छ भन्ने भिजन सहित कार्य योजना तय गरि काम गर्नु हो ।

नेपाली समुदायलाई मूलधार अष्ट्रेलियामा सम्मानित र मर्यादित बनाउने के छ हाम्रो भावी आयोजना ? के छ त हाम्रो भिजन ? आज करिब १ लाखको हाराहारीमा रहेको हाम्रो नेपाली समुदाय आउँदो ५ वर्षमा दोब्बर हुनेछ भन्दै गर्दा त्यसको लागि उचित मार्गदर्शन र समन्वय गर्न सक्ने हैसियत राख्ने, सबैले अपनत्व ग्रहण गर्न सक्ने सामुदायिक संस्था र व्यक्तित्वको अभाव अझै पनि खड्किएको अवस्था छ हाम्रो समुदायमा ।

दोश्रो पुस्ता भगवान भरोशा अष्ट्रेलिया झरेका छन् । उनीहरुको अपेक्षा र यहाँको बास्तविकतामा देखिने भिन्नताले थुप्रै समस्याहरु निम्त्याएको छ । उनीहरु आँफूलार्ई समस्या नपरुन्जेल त्यति धेरै सम्बेदनशील छैनन् । नयाँ बाताबरणमा समायोजन हुनुको साथै आफ्नै पढाइ र त्यसपछि पीआरको झमेलामा रुमल्लिदै गर्दा उनीहरुबाट समाजप्रति जिम्मेवारीको अपेक्षा हामीले गर्ने कुरा पनि भएन । पहिलो पुस्तामा थुप्रै समस्याहरु छन् । समुदाय सानो छ, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकले अर्कालार्ई चिन्दछन मात्र होइन नालिबेलीको जानकारी राख्दछन् । आँफुले के गर्दैछु भन्ने भन्दा पनि अर्कोले के गर्दै छ भन्ने धेरै लाई चिन्ता छ यहाँ । अष्ट्रेलियाका सबर्बदेखि नेपालका जिल्ला र टोलसम्मका संघ संस्थाहरु छन् । सबैले आपसी सद्भाव, भाइचारा बढाउने र मातृभूमिलाई केहि भए पनि सहायोग गर्ने भन्ने उद्देश्य लिएका छन् तर काम उल्टा हुन्छ । म भए सबै ठिक अरुको नाम आउना साथ नाक खुम्च्याउने प्रवृति छ । संस्थामा बसेर सेवा भन्दा पनि स्वघोषित पदीय प्रतिष्ठाको आत्मारति ले धेरै मानिसहरु लाई सताएको छ । एकले अर्कालाई अक्सर टेर्दैनन्, अर्को अगाडि बढ्यो भने मेरो स्थान कहाँ हुन्छ भन्ने अहंकारी भावनाले एकले अर्काको नेतृत्व पनि स्वीकार्दैनन् । सामाजिक, राजनीतिक र व्यबसायिक सबै छेत्रमा नेपाली नेपालीको बीचमा एक प्रकारको अस्वस्थ प्रतिस्प्रर्धालाई समयमै उचित सम्बोधन गर्नु जरुरि छ । नेपाली समुदाय अष्ट्रेलियामा एउटा नयाँ र बिशेष खालको विशेषता बोकेको समुदाय मानिन्छ जसमा इमान्दार, शिक्षित, तुलनात्मक रुपमा अष्ट्रेझेलियन मापदण्ड अनुसार धेरै रोजगारी दर भएको र न्युनतम सामाजिक सुरक्षा लिने समुदायको रुपमा चिनिन्छन् । हाम्रो समुदायलाई मर्यादित र सशक्त बनाउन हामी सबैले आफ्नो स्वार्थ त्यागेर समुदायको लागि काम गर्नु पर्ने देखिन्छ ।

एनआरएनए लगायत अरु थुप्रै संघ संस्था मार्फत आफ्नो अमुल्य समय खर्चेर समाजसेवा गर्ने मानिसहरुको कमी हाम्रो समुदायमा छैन । तर प्रजातन्त्रको अँध्यारो पक्ष र मानिसहरुको पद प्रतिको मोहका कारणले गर्दा कोहि गर्छु भन्नेहरु विविध कारणले खुम्चिएर बस्न बाध्य भएको हामीले नदेखेका होइनौ । कुनै कुनै  समुदायका सबै जिम्मेवार सदस्यहरुले आफ्नो हैसियत अनुसारको भूमिका निर्वाह नगर्दासम्म एकदुई जनाले मात्र काम गरेर हामीले खोजे जस्तो मर्यादित र सबल समाज बनाउन सकिदैन ।

जसरी नेपाल धनी नहुन्जेल बिदेशमा हरियो पासपोर्ट बोकी हिड्दा नेपालीहरुको इज्जत हुँदैन त्यसरी नै समुदायलाई एकिकृत गरि एउटा सशक्त रुपमा सामुहिक पहिचान राख्ने कामहरु नगर्दासम्म बहुसांस्कृतिक अष्ट्रेलियामा नेपालीहरुको मान मर्यादा र इज्जत स्थापित गर्न सकिदैन । यसको लागि पहिलो पुस्तामा अष्ट्रेलिया झरेको र तुलनात्मक रुपमा सेटल· भएको वर्गले आफ्नो व्यक्तिगत स्वार्थ र अहंकर भन्दा अलिकति भए पनि माथि उठेर समुदायको दीर्घकालिन हित, इज्जत र सामुहिक प्रतिष्ठाको लागि मिलेर काम गर्नु पर्ने बेला आएको छ ।