सोचे जस्तो सहज छैन विद्यार्थीका लागि अष्ट्रेलिया

-- सुजित सिग्देल, अावरण मे अंक २०१८ / प्रकाशित मिति : आइतवार, बैशाख २३, २०७५

 

प्रबिधिले साँघुरिएको यो संसारमा एउटा भूगोलको मानिस उन्नत भविष्य खोज्दै भूगोलको अर्को कुनोमा पुग्नु अब सामन्य रह्यो । आकारको हिसाबले ग्लोब मै सानो देखिने हाम्रो देश नेपालबाट मुलुकको सिमा छोड्नेको संख्या यति बेला बेस्सरी बढेको छ । कुनै बेला भारत, बर्मा र हालको पाकिस्तानको लाहोरसम्म पुग्ने अनि बिस्तारै सैन्य सेवामा आबद्ध हुँदै बेलायत सिंगापुर पुग्ने नेपालीहरू को विदेश जानेको दायरा यति फराकिलो भइ सकेको छ कि नेपाली न पुगेको देश अब बिस्वमा निक्कै कम होला । यसैको शशक्त उदाहरण भन्नु पर्छ ६७ देशमा त नेपालीहरू एनआरएनएको झन्डा मुनि संगठित देखिन्छन् । त्यो बाहेक अन्य संघ संस्थमा गोलबद्द हुदै देश दुख्दा दुख्ने अनि देशको सानो खुसीमा पनि मन भरि भरि रमाउने नेपालीहरू यति बेला मानब बस्ति भएका सबै महादेशहरू मा मन भरि चन्द्र सूर्य लिएर पुगेका छन् ।

विदेश जाने भन्ने बित्तिकै बैदेशिक रोजगारीको सिलसिलामा विदेशिनेहरू, मन अमिलो बनाएर परिवार छोडेर गएका घटना र दृश्यहरू ले हाम्रो आँखामा भरिन्थ्यो तर अब त्यो नितान्त भिन्न भएको छ । बदलिँदो प्रबिधि संग अभ्यस्त संसार बुझेकाहरू आफ्नो उन्नत भविष्य खोज्दै १० प्लस २ सकिना साथ अब आफुले पढ्ने देश, अनि पढ्ने विर्षय उक्त विर्षयले आँफुलाई बिश्व बजारमा कसरी बेच्न सक्छ पहिले नै लेखा जोखा गर्दै धेरै भाइबैनीहरू यति बेला बिदेशिएका छन् । यसरी विदेशिने धेरैका सपना र कल्पना वास्तविक भूगोल टेके पछि फरक भएको कथा, अनुभब र व्यथाहरू यति बेला फेरि अन्य देश जस्तै अष्ट्रेलियाको सडक गल्ली र पार्क तिर सुनिन्छ र देखिन्छ । निश्चय नै कम्प्युटरको माउस र किबोर्डमा देखे जस्तो या यसैलाई व्यबसाय बनाएका शैक्षिक परामर्शदाताले बताए जस्तो हुदैन र छैन नयाँ मुलुक नब आगन्तुकहरूका लागि ।

 

अष्ट्रेलियाको राष्ट्रिय आम्दानीको ठूलो हिस्सा बिदेशी विद्यार्थीबाट

एउटा सानो महादेश भित्रको चारै तिर समुन्द्रले घेरिएको बिशाल देश अष्ट्रेलिया बिश्वभरका धेरै विद्यार्थीहरूका लागि उच्च शिक्षा अध्ययन र उन्नत भविष्य निर्माणका लागि उच्च छनोटको देशमा परेको छ । यसबाट नेपाल अनि नेपाली युवा अछुतो हुने कुरै आएन । सरकारले गत केहि हप्ता अगाडि मात्र सार्बजनिक गरेको तथ्यांक अनुसार सन् २०१८ को अहिले सम्म करिब ५ लाख १० हजार विद्यार्थी अष्ट्रेलिया भित्रिएका छन् । अष्ट्रेलिया जस्तो बिकसित, खनिज पदार्थ, मासु, ऊन र अन्न अनि पर्यटन व्यवसायको प्रचुर सम्भावना ओगटेको देशको अर्थतन्त्रको ठूलो हिस्सा बिदेशी विद्यार्थीबाट हुने आम्दानी हो भनेर भन्दा पत्याउन गार्हो परे पनि बास्तबिकता यहि हो । सरकारले सार्बजनिक गरेको उक्त ५ लाख १० हजार विद्यार्थीहरू मा झण्डै ३० हजार नेपाली विद्यार्थीहरू रहेको पनि तथ्यांकले देखाएको छ । नेपाल जस्तो सानो देशको लागि यो संख्या आँफैमा ठूलो हो । यस मानेमा पनि अष्ट्रेलियाले नेपाली विद्यार्थीहरू लाई जसरी उच्च शिक्षा र अवसरका लागि ढोका खुल्ला गरिदिएको छ नेपालले पनि आफ्नो सस्तो मुद्रा महँगो डलरमा तिर्दै त्यो अबसर लिनका लागि अष्ट्रेलियालाई ठुलो लगानी गरेका छन् भनेर बुझ्नु पर्ने बेला आएको छ ।

क्षेत्रफलको हिसाबले अष्ट्रेलिया नेपाल भन्दा लगभग ५२ गुणाले ठूलो छ, नेपालीहरू को रोजाइ धेरै राज्यका हावापानी नेपाल सँग मिल्दो जुल्दो देखिन्छ । अनुकुल मिल्यो भने कमाएरै कलेज र युनिभर्सिटीमा मास्टर तहसम्मको शिक्षा लिन सकिने भनेर धेरै नेपाली विद्यार्थी र अभिभाबकहरूको बुझाइ छ अष्ट्रेलिया प्रति । अझ छोरा छोरीले पढाइ गर्दै कमाएर अष्ट्रेलिया पठाउदै लागेको खर्च पनि पाठाउछ्न् भनेर सोच्ने बुझ्ने ठुलो जमातका अभिभाबकहरू को पनि कमी छैन ।

आगमनका लागि सहज बन्दै अष्ट्रेलिया

सामाजिक सुरक्षा र अन्य सुरक्षाका दृष्टिले पनि अष्ट्रेलियालाई विश्वभर कै मानिसले सुरक्षित गन्तब्यको रुपमा लिन्छन् । हावा पानीका दृष्टिकोणबाट पनि अष्ट्रेलिया धेरैको लागि रोजाइको देशमा पर्दछ । त्यो बाहेक यहाँको शिक्षा र त्यस पछि योग्यहरू का लागि अष्ट्रेलियन सरकारले यतै बसोबास गर्नका लागि दिएको सहजताले पनि धेरै अन्तराष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलियाले तानेको देखिन्छ । अर्को तर्फ अमेरिकामा ट्रम्पको शासन र उनले लिएका नयाँ रणनीतिहरू ले धेरै विद्यार्थीहरू अमेरिकामा रिस्क मोल्न नचाहेको कारण पनि गत वर्षदेखि अष्ट्रेलियामा आउने विद्यार्थीको संख्या निक्कै बढ्यो । त्यो भन्दा पनि अष्ट्रेलियन सरकारले लिएको भिषा नीति र नेपाली विद्यार्थीहरू लाई गरेको एसेस्मेन्ट लेभलले पनि यति बेला ठूलो संख्यामा नेपाली विद्यार्थीहरू लाई अष्ट्रेलियामा आगमन सहज बनेको छ । करिब १०/११ वर्ष अगाडि अष्ट्रेलियामा एक पटक यस्तै नेपाली विद्यार्थीहरूको आगमन एक्कासि बढेको थियो । त्यति बेला विद्यार्थीहरू बस्न र पार्टटाइम काम पाउन कठिनाइ परेका कारण विविध इस्युहरू नेपालदेखि अष्ट्रेलियासम्मका मिडियामा पढ्न पाइन्थ्यो । अब फेरि त्यस्तै हुने हो कि भन्ने चिन्ता यताका पुराना नेपालीहरू बाट आजभोलि सुन्न पाइन्छ भने अर्को तिर नब आगन्तुकहरू आँफुलाई कुनै एक क्षेत्रमा अभ्यस्त बनाएर आएका या यहाँको काम कुराहरू सबैका बारेमा पहिले नै अलिकति जानकारी लिएर आएका कारण पहिला जस्तो नहुने यस क्षेत्रमा कार्यरत नेपालीहरू बताउछन् ।

अष्ट्रेलिया सरकारले बैदेशिक विद्यार्थीहरू आउने देशहरू लाई बर्गिकरण गर्ने गर्छ, यस्तो बर्गिकरणमा नेपाल यस पटक एसेस्मेण्ट लेभल २ मा छ । विद्यार्थी आउने देशको पृष्ठभूमि, त्यहाँबाट आएका विद्यार्थीहरूको शैक्षिक व्यवहार, भिजा सक्सेस रेट लगायतका विषयलाई आधार मान्दै एसेस्मेण्ट तह घटबढ गर्ने गर्दछ जस अनुसार नेपाल एसेस्मेण्ट लेभल निर्धारण भएको हो । एसेस्मेण्ट लेभल २ मा भएका कारण कलेज तथा विश्वविद्यालयमा भर्ना हुँदा आर्थिक स्रोतका कागजात प्रमाणस्वरुप नदेखाएपनि हुन्छ । जसले गर्दा शैक्षिक रुपमा राम्रा तर वित्तीय रुपमा अलिकति कमजोर परिवारका विद्यार्थीहरूलाई कागजपत्रको कारण भिसा प्रकृयामा धेरै अप्ठ्यारो पर्दैन । जसले गर्दा पनि राम्रो अंग्रेजी भएका (अग्रेजी परीक्षामा राम्रो अंक ल्याएका) र राम्रो प्रतिशतमा परीक्षा उर्तिण गरेका धेरै विद्यार्थीहरू यतिबेला अष्ट्रेलिया आइपुगेका छन् र धेरै आउने क्रममा छन् । यसरी देशको पृष्ठभूमि, विद्यार्थीहरूको शैक्षिक स्तर, भिसा प्राप्त पछिल्ला रेकर्ड लगायतका विषयलाई आधार मान्दै अष्ट्रेलिया सरकारले तोकेको एसेस्मेण्ट लेभल जुनसुकै बेला बढने या घट्ने हुन सक्छ । केहि हप्ता अगाडि यो बढेर ३ लेभलमा पुगेको हल्ला आए पनि पुन: यो लेभल २ मा नै रहेको पुष्टि भएको छ । यसै कारण पनि अझै केहि समय सहजताका साथ नेपाली विद्यार्थी अष्ट्रेलिया आउने क्रम रही रहने देखिन्छ ।

 

दूताबास, एनआरएनए र अन्य संघ–संस्थाको भूमिका

कुनै पनि अन्य देशका विद्यार्थीहरूलाई विद्यार्थी भिषामा अष्ट्रेलिया भित्राउँदै गर्दा अष्ट्रेलियन सरकारले अष्ट्रेलियन मापदण्ड पक्कै तोकेको छ । जस अनुसार यहाँ बस्दा रहदाँ लाग्ने खर्च कलेजको शुल्क सबैको लेखा जोखा गरेर ति सबै कुरा सहज तरिकाले जुटाउन आफ्नै देशबाट ल्याएर तिर्न सक्छु भन्ने विद्यार्थीलाई नै यहाँ पढ्न भिसा दिने गर्दछ । त्यसमा केहि राहत होस् भनेर २० घण्टा हप्तामा काम गर्ने अनुमति पनि दिएको छ । नेपाली विद्यार्थीको लागि पनि अष्ट्रेलिया आउने प्रकृया ठयाक्कै त्यहि नै हो । त्यसैले पनि प्राबिधिक रुपमा भन्ने हो भने यताका सम्पूर्ण कुराहरू, पढाइ खर्च बसाइ खर्च सबै का लागि सक्षम नेपालबाट नै तिर्न सक्षम छु भनेर आएको हुन्छ एक नेपाली विद्यार्थी । तर यथार्थता भिन्न हुन्छ, पहिला पुगौं खर्चमा कटौती गर्छु, केहि बढी मेहनत गर्छु, बिदामा कामको मात्र निक्कै बढाउछु, केहि पक्कै बचत होला अनि अर्को सेमेस्टर र बस्न खानाको जोहो आँफै गर्छु नेपालमा अभिभाबक लाई भार पार्दिन यो आज मात्र होइन आज भन्दा २० वर्ष अगाडिदेखि आजसम्मका सबै विद्यार्थीको कथा हो । अहिले अष्ट्रेलियामा देखिने धेरै सफल अनुहार यो स्टेज पार गरेर आइपुगेका हुन् यस मानेमा पनि एक नेपाली भएर यहाँ आउने नयाँ विद्यार्थीको समस्यामा कसरि सहयोगी बन्न सकिएला भनेर सोच्नु पुरानोको कर्तब्य हो भने केहि सहयोग गर्छन कि जसले गर्दा काम खोज्नदेखि अन्य कुरामा सहज होला भनि विद्यार्थीहरू ले आशा राख्नु एकदम स्वाभाविक हो ।

माथि नै हामीले विद्यार्थी परामर्श दाताहरू को संस्थाको कुरा गर्यौ । एक्काका प्रतिनिधि स्वयं यो संस्था विद्यार्थी हितका लागि हो भन्छन् त्यसो हो भने एउटा विद्यार्थी पहिलो काउन्स्लिङमा जसरि एउटा परामर्शदाताको कुरामा सहमत भएर आफ्नो भबिष्य जिम्मा उसलाई दिएको थियो, उक्त विद्यार्थी आफ्नो पढाइ पूरा नगर्दासम्म उसले काउन्सिलिङ पाई रह्यो भने ऊ पक्कै पनि बिचलित नहुन सक्छ । एकातिर पढाई र करियरको कुरा छ अर्को तिर यस्ता काउन्सिलिङ सामन्य दु:ख सुख, सन्चो बिसन्चोमा मात्र भयो भने पनि आहिले विद्यार्थीहरूमा देखिएका धेरै समस्याहरू हल हुन्छन् ।

विदेश जाने भन्नासाथ दु:ख सुख पर्दा केहि सहयोग होला भनेर आड भरोशा रहेको संस्था हो एनआरएनए । सबै देशमा दूताबास नहुन पनि सक्छन् त्यस्तो स्थितिमा पनि नेपाली पुगेका अधिकाशं देशमा एनआरएनए गठन भएका छन् त्यसैले पनि एन आर एन ए प्रति धेरै को आड भरोसा हुनु स्वभाभिक हो । त्यसमा पनि एनआरएनए अष्ट्रेलिया विश्वभरका अन्य राष्ट्रिय समिति भन्दा आफै निक्कै सक्रिय, साधन श्रोत सम्पन्न संस्थाको रुपमा चिनिन्छ त्यसैले पनि यहाँ आएका विद्यार्थीहरू संगका भेटघाटमा आफुहरू लाई एनआरएनएले खासै सहयोग नगरेको या आफुहरूले सोचे जस्तो रुपमा एनआरएनका पदाधिकारीहरू सहयोगी नभएको सुन्ने गरिन्छ । त्यसो त दुताबासका आफ्नै प्रकृया होलान सम्बन्धित देशमा पुगेर यो यो काम गर्नु भनेर नेपाल सरकारले दूतको रुपमा दूताबास र मातहतका कर्मचारीहरू पठाएको हुन्छ । सिमित साधन श्रोतले दूताबासले तिनै कुराहरू पूरा गर्न हम्मे हम्मे हुने दूताबास सम्बद्ध व्यक्तिहरू बारम्बार भन्ने गर्छन् । त्यसैले पनि संघ संस्थाको मुख ताक्नु विद्यार्थीको बाध्यता पनि हो । त्यसो त एनआरएनए ले यस अगाडि नै सामाजिक कल्याणकारी कोष भनेर समुदायमा जो सुकैलाइ सुख दु:ख पर्दाका लागि र विद्यार्थी कल्याणकारी कोष भनेर विद्यार्थी लाई मात्र लक्षित गरेर कोष गठन गरिसकेको छ । आहिले प्रशासनिक हिसाबले कम झन्झटिलो होस् भनि यी दुवै कोष हरू गाभिएका छन् । सामजिक कल्याणकारी कोषबाट धेरै पिडितहरू लाभान्वित भइ सकेता पनि एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरियाका संयोजक केशब कंडेलले बताए । अघिल्लो कार्यकाल मै गठन भै पुन: सक्रिय बनेको इमेर्जेन्सी रेस्पोन्स टिमको लक्ष्य जुन सुकै अवस्थामा जति बेला पनि आपत परेका विद्यार्थीहरू लाई सक्दो सहयोग गर्ने रहेको पनि कंडेलले बताए । कंडेल उक्त टिमको नेसनल को–अर्डिनेटर हुन् .भने प्रत्येक स्टेटमा स्टेट को–अर्डिटेरको नेतृत्व छुटै टिम गठन भैसकेको छ जसले उक्त स्टेटमा कुनै समस्यामा परेका विद्यार्थीहरूलाई त्यहाँको सामाजिक संघ संस्था प्रशासन र एक्पर्टको सहयोगमा उद्दार गर्ने गर्दछ । त्यति मात्र होइन यसरि कुनै विशेषज्ञको मा पठाउँदा पहिलो फि मा इन्सुरेन्सले तिर्ने बाहेकोको ग्याप फि पनि एन आर एन ए ले तिर्ने व्यवस्था मिलाएको कंडेलले बताए । त्यस पछाडि उसलाई पर्ने सहयोग कसरि गर्न सकिन्छ भन्नेदेखि रेस्पोन्स टिमको सिफारिसमा कल्याणकारी कोषबाट पिडीतलाई सहयोग गर्नुपर्ने भएमा गरिने पनि कंडेलले बताए ।

यसरी हेर्दा एनआरएनएको बिधानमा समेत नसमेटिएका विद्यार्थीहरूका लागि आँफूहरूले बिभिन्न बेलामा विविध कार्यक्रमहरू गर्दै आइरहेको र पाराइ देशमा तिनका अभिभाबकको भूमिकामा रहन आफुहरू संधै प्रयासरत रहेको यस संस्थाका अभियानकर्ताहरू बताउँछन् । एनआरएनए बाहेकका अन्य धेरै संघ संस्थाहरू छन् जो करिब २ दशक अगाडिदेखि विद्यार्थीहरू का पिर मर्कामा सरिक छन् । ति सबै संघ संस्थाहरू र तिनले बिगतमा पटक पटक गरेका सहयोगहरू र भविष्यका लागि खुल्ला हृदयले गरेको सहयोगको आह्वान सबै स्तुत्य छन् ।

जहाँसम्म राजदूताबासको कुरा छ राजदूत लक्की शेर्पा विद्यार्थीका कुनै पनि समस्याहरूमा राजदूताबास सदैब सहयोगी र अभिभाबकत्वको भूमिकामा रहन कुनै पनि कसुर बाँकी नराख्ने बताउँछिन । शेर्पा अगाडि भन्छिन् नेपाल सरकारको मातहतमा रहेर सिमित साधन र श्रोतले गर्नु पर्ने कामहरूमा राजदूताबास संधै कटिबद्ध छ । नेपालबाट आउने विद्यार्थीहरू कति भन्ने कुराको जानकारीका लागि पनि अष्ट्रेलियन सरकारले निकालेको तथ्यांक बाहेक अरु कुनै संयन्त्र छैन । प्राबिधिक रुपमा विद्यार्थीहरू बिदेशिदा धेरै कुराहरू शिक्षा मन्त्रालय मार्फत हुने र राजदूताबास आँफैमा परराष्ट्र मन्त्रलाय मार्फत रहेकोले पनि त्यो अलिकति समन्वय गर्नु पर्ने देखिन्छ । विद्यार्थीका सबालमा राजदूताबासलाई पनि धेरै गर्नु मन छ तर साधन श्रोतको अभाब र नेपाल सरकारले दूताबासलाई दिएको जिम्माका कारण पनि त्यो अलिक गार्हो परेकै हो जसलाई एक राजदूतको हैसियत या राजदूताबासको कर्मचारीको हैसियतले मात्र परिबर्तन गर्न कठिन छ । यावत कुराहरू हुँदा हँुदै पनि आँफू संधै विद्यार्थीका समस्या कसरी सम्बोधन गर्न सकिन्छ भनि चिन्तित रहेको र सकेसम्म नेपाली समुदाय र विद्यार्थीसंग सरोकार राख्ने संघ संस्थाहरू संग नियमित सम्पर्कमा रहेको राजदूत शेर्पाले बताईन । यसको लागि सामुहिक प्रयास नै अन्तिम बिकल्प्प रहेको शेर्पाको ठहर छ । शैक्षिक व्यवसाय संग्लग्न व्यवसायीहरू र संघ संस्थाहरू यसमा अझ बढी जिम्मेवारी हँुदै आफ्नो सामाजिक दायित्व बढाउन सके विद्यार्थीहरूका समस्या नजिकबाट पहिलाउन सकिने र साधन श्रोतका रुपमा पनि उनीहरू लाई सहयोग गर्न सकिने कारण शैक्षिक परामर्श दाता, अन्य संघ संस्था बिद्यार्थी भाइ बैनीहरू र दूताबास समेतको सामुहिक प्रयासमा यस्ता समस्या समाधान गर्न दूताबासले कस्तो भूमिका खेल्नु पर्ने र राजदूतले त्यसमा सहयोग गर्न सक्छ भन्ने कुरामा आँफू सदैब तयार रहेको महामहिम शेर्पाले बताइन् । अर्को तर्फ विद्यार्थीहरू आफ्नो अजुर्नदृष्टि अध्ययनलाई नै बनाउँदै सदैब आफ्नो भबिष्यको लागि सजग रहन पनि राजदूत शेर्पाको अनुरोध छ । अध्ययन सकी सके पछि पूरै जीवन कामाउन रमाउन बाँकि रहेकोले यो समय आँफूलाई अब्बल गराउन लाग्न सोहि अनुसार आफ्ना अभिभाबकहरू लाई बुझाउने परिवारको सम्पर्कमा रही रहने समस्या नपर्दादेखि नै कुनै विषयमा चासो सरोकार भए दूताबास या कन्सुलेट अफिसमा सम्पर्कमा रहँदै एकले अर्कोलाई दोष नदिई विद्यार्थी स्वयं आफै सर्तक हुनु पर्छ ।

कानुनी रुपमा बयष्क बनेर अष्ट्रेलियासम्म आइपुगेका विद्यार्थीहरू नै आँफूलाई अझ जिम्मेवारी रुपमा प्रस्तुत गर्नु पर्ने देखिन्छ । घर छोडेर आउँदै गर्दा हुने असहजतालाई स्विकार्दै भोलिको भबिष्यको लागि म संघर्षरत छु भन्ने कुरा विद्यार्थीले संधै मनमा लिनु पर्दछ । सिक्ने जान्ने बेला हो अलिकति गार्हो पक्कै हुन्छ त्यसको लागि तयारी रहेर अगाडि बढेमा भोलिको भविष्य निश्चय नै उज्वल हुनेछ । यसका लागि आफ्ना जीवनशैलीलाई फरक शैलीमा अभ्यस्त बनाउँदै अध्ययन र उपलब्ध काममा आँफूलाई रत्याउने, आँफूलाई स्वस्थ बनाउने, खानपिनमा ध्यान दिने, मध्यपा कुराको सेवनले झन् कमजोर बनाउने बिस्तारै मनोबल गिर्दै जाने र मनोबैज्ञानिक रोगको शिकार हुने सम्भावना बढी हुन्छ । अर्को तिर बिगतमा देखिएको दूर्घटना भनेको पानी या समुन्द्रमा हुने दूर्घटना हो यसले बिगतका केहि वर्षमा धेरैको ज्यान गएको छ जसमा विद्यार्थी कै संख्या उल्लेखेनीय रहेको छ । अष्ट्रेलियाको पानी हाम्रा खोलानालाको पानी भन्दा निक्कै फरक हुन्छ । पौडिन जानेको छु भन्दैमा पानीमा जानाले नै या असुरक्षित पौडीका कारण धेरै घटना घटेको देखिन्छ । कम्तिमा पनि पानी सुरक्षा सम्बन्धी अष्ट्रेलियन सरकारले जारी गरेका सुरक्षा अबधारणहरू र सरकारी वेबहरू मा पाईने जानकारी सके जति धेरै लिदा यहाँको बस्तु स्थितिको ज्ञान बढ्न सक्छ । अर्को तर्फ मदिरा पान गरेर पौडन जानु जस्तो भुल अरु केहि नहुन सक्छ । त्यसै गरि १/२ पटक रमाइलोको लागि त हो भनि सानो ठूलो जुवा या बाजी राख्ने ठाउँहरूमा जाँदै गर्दा धेरै विद्यार्थीहरू त्यसैको लत लागे जस्तो भएको छ । कामाउने फि तिर्ने र भबिष्य उज्जल बनाउन खटिनु पर्ने विद्यार्थीहरू यस्ता कुराले क्षणिक रुपमा आफ्नो ट्रयाक गुमाउँदा निक्कै ठूलो नोक्सानी हुन सक्छ ।

एक किसिमबाट हाम्रा विद्यार्थी भाइ बैनीहरू भाग्यमानी नै मान्नु पर्छ किनकि यति धेरै संघ संस्थाहरूले यिनलाई सहयोग गर्नका लागि संधै आँफूहरूलाई जिम्मेवार रुपमा प्रस्तुत गरेका छन् । होइन भने त कानुनत: म हरेक कुरामा सक्षम छु भनेर आएका विद्यार्थीहरू अरुले सहयोग गरेनन भनेर दोष थुपार्ने कार्य नगरी आँफै अझ जिम्मेवारी महसुश गर्दै अगाडि बढेमा र नेपाली दूताबास, एनआरएनए लगाएतका संस्थाहरू संग अझ नजिक रहेर यस्ता संस्थाहरूले गर्ने ज्ञानबर्दक कार्यक्रमहरूमा उपस्थित जनाउँदै रचनात्मक सहयोग र सुझाब दिन सके भोलि विद्यार्थी, दूताबास र संघसंस्थाहरू बीच आत्मीय पारिबारिक सम्बन्ध स्थापना हुन सक्छ ।

शैक्षिक परामर्शदाताहरूको संस्था एक्का

नेपाली विद्यार्थीलाई नै प्रमुख लक्षित गरि खोलिएका शैक्षिक परामर्शदाता (विद्यार्थी कन्सल्टेन्सी) हरूको संख्या अष्ट्रेलियामा कति होलान एकिन भन्न गार्हो छ भने यस्ता कन्सल्टेन्सिहरूको नेपालमा कति होलान् त त्यो त झनै गार्हो हुने नै भयो । अष्ट्रेलियामा रहेका यस्ता शैक्षिक परामर्शदाताहरू को बीच सहकार्य गर्दै खुलेको संस्था एजुकेशन कन्सल्ट्यान्ट्स अलाइन्स (एक्का ) यति बेला आफ्नो दोश्रो कार्यकालको मध्य समयतिर छ । एक्काका हालका अध्यक्ष निरज श्रेष्ठका अनुसार संस्थामा हाल ३० वटा शैक्षिक परामर्शदाता र माइग्रेसन हेर्ने व्यवसायहरू जोडिएका छन् । सबै नेपाली मुलका शैक्षिक एबं परामर्शदाताहरू यसमा आबद्द छैनन् यसको पहिलो कारण भनेको यो कुनै कानुनी संस्था होइन विद्यार्थीका हितका लागि कसरी हामी जबाफदेही हुन सकिन्छ भनेर स्वत: स्फुर्त संगठित संस्था हो । यसमा आबद्द हुन केहि शुल्क र केहि नियमहरू छन् त्यसमा नअट्ने यो संस्थाको सदस्य हुनु हुन्न । श्रेष्ठका अनुसार जति छांै सबैले संस्थाका विविध कार्यक्रमहरू लाई निरन्तरता दिंदै बिगतदेखि आजसम्म धेरै कार्यक्रमहरू गरेका छौं । विद्यार्थीहरू लाई लक्षित यस्ता कार्यक्रमहरू बाट विद्यार्थीहरू निक्कै नै लाभंन्बित भएका छन् । त्यसो त व्यवसाय भने पछि यसका आफ्नै नर्मसहरू हुन्छन त्यसो भन्दै गर्दा व्यवसायीको लक्ष्य भनेको नाफा कमाउने नै हो । अर्को तिर शैक्षिक व्यवसायलाई राष्ट्रिय आम्दानी कै श्रोत बनाएको अष्ट्रेलियामा यसैको वरपर र विद्यार्थीहरूको शैक्षिक बाताबरणलाई सहज बनाउन शैक्षिक परामर्शदाताहरू को व्यवसाय त्यो पनि नेपाली मुलका हुनु नेपाली विद्यार्थीहरूका लागि पनि फाइदा कै कुरा हो । तैपनि यस व्यवसायमा सुनिने केहि नकरात्मक कुराहरू, विद्यार्थी तानातान, विद्यार्थीहरू लाई करियर काउन्सिल भन्दा पनि आफ्नो धन्दालाई फाईदा पुग्ने गरि गरिएका विविध घटनाक्रमहरू धेरै पटक छताछुल्ला भएका छन् । यहिबीचमा एक्कालाई विद्यार्थी हितमा भन्दा पनि आफ्नै कमिसनहरू कसरी व्यवस्थापन गर्ने, विद्यार्थीहरू लाई यस्ता कमिसनबाट शुल्क लगायतमा यस्ता व्यवसायीले सहुलियत दिने कि नदिने भन्ने कुरा कै हिसाब किताब मिलाउन संस्था खुलेको हो भन्ने आबाजहरू पनि न सुनिएका होइनन् । तर यसलाई फेरि पनि संस्थाका अध्यक्ष निरज श्रेष्ठ नकार्छन । श्रेष्ठ भन्छन् हामीले गरेका सबै कार्यक्रमहरूमा अन्तत: फाइदा पुग्ने भनेको विद्यार्थीलाई नै हो । इमिग्रेसनका केहि नियमहरू परिबर्तन भए भने हामी संस्था भित्र बहस गर्छौ सबै सदस्यहरू जानकारी लिन्छांै र फेरिपनि त्यसबाट फाईदा विद्यार्थीलाई नै पुगेको हुन्छ । अर्को तिर संस्थाले हालै गरेको कार्यक्रम कै उदाहरण लिन सकिन्छ जहाँ वोर्क प्लेय्स एम्समेन्टका पदाधिकारी स्वयं आएर विद्यार्थीहरू ले जागिर गर्दा हुन सक्ने र पर्ने सक्ने सबै कुराको ब्याख्या गरे । जसबाट विद्यार्थी आफ्नो अधिकार र कर्तब्यमा सजग हुन् पाए । त्यसरी नै इमिग्रेसनका अफिसर आएर विद्यार्थीका भिसा सम्बन्धि कुराहरू को ब्याख्या गरे । श्रेष्ठ अगाडि भन्छन् हामीले त्यो व्यवस्था मिलाउन सहयोग गऱ्यौं त्यो बाहेक विद्यार्थीमा पर्न सक्ने मानसिक तनाब र त्यसले निम्ताउन सक्ने विषयमा बिज्ञहरू बाट सुझाब दिने काम गरेका छौं ।

यसबाट विद्यार्थीले धेरै भन्दा धेरै फाइदा लिन सक्छन् । त्यसबाहेक कुनै परामर्श दाता बाट कुनै विद्यार्थी ठगिएको छ भने पनि हामी थप कानुनी कारबाहीको लागि कसरी अगाडि बढ्ने जानकारी दिन सक्छौ । यसका साथै श्रेष्ठ कुनै पनि विद्यार्थीलाई हल्लाको पछाडि नलागि सही परामर्श लिएर मात्र अगाडि कुनै कदम चाल्नु छ भने चाल्न सुझाउछ्न् । यसो भन्दै गर्दा एक्कामा आबद्द भएका नभएका लगभग धेरै शैक्षिक परामर्शदाताहरूका नेपालमा कार्यलय छन् । एउटा विद्यार्थीलाई प्लस २ सकेबाट अष्ट्रेलियाका शैक्षिक अवस्थाको अबगत गराउँदै विद्यार्थीको भिसा लञ्च गरेदेखि यति जनाको भिसा लाग्यो भनि सामाजिक संजालमा हाल्नेदेखि भिषा लागे पछि विद्यार्थीको सानो भनाइको क्लिपसम्म राखेर प्रचार प्रसारमा व्यस्त शैक्षिक परामर्शदाताहरू संग सधै उक्त विद्यार्थीको आत्मीय सम्बन्ध किन रहन सकिराखेको छैन ? किन यता आएको १/२ वर्षमा वा त्यो भन्दा पनि छोटो समय मै यस्ता शैक्षिक परामर्श दाता र विद्यार्थीबीचको पुरै सम्बन्ध सकिन्छ । यसका धेरै कारणहरू हुन सक्छन तैपनि अघिल्लो साल सिड्नी आइपुगेका एक विद्यार्थीका अनुसार यसको कारण आफु कन्सल्टेन्सीबाट ठगिएको या आफुले पाएको जानकारी सहि नभएको जब उक्त विद्यार्थीलाई थाहा हुन्छ अनि विद्यार्थीको विश्वास टुट्छ र विद्यार्थी वरपर नै आउन मन गर्दैन । यसको उदाहरणहरू हुन् शैक्षिक परामर्शदाताहरूले आयोजना गरेका कार्यक्रमहरू मा विद्यार्थी भन्दा कलेज र युनिभर्सिटीका मान्छेहरू र ब्यापारीहरू नै बढी देखिनु । अर्को तिर शैक्षिक परामर्शदाता यति बेला धेरैका लागि सहज पेशा समेत भएको छ खासै कुनै योग्यता र अनुभब नचाहिने, बस कुरा गर्न सक्ने र मान्छेलाई प्रभाब पार्न सक्ने भए हुने । धेरै परामर्श दाताहरू आफैमा दक्ष नभएको र सहि सल्लाह सुझाब नदिदा सबैलाई हेर्ने दृष्टिकोण एउटै हुन् पुगेको यस व्यवसायका केहि परामर्श दाताहरू नै स्विकार्छन ।

अन्त्यमा,

नि:सन्देह अष्ट्रेलिया विद्यार्थीहरू को लागि एकदमै आकर्षण गन्तब्य र उत्तम रोजाइ हो । आफ्नो मात्र होइन आश्रित परिबारका सदस्य र अन्य सदस्यका धेरै भन्दा धेरै सपनाहरू बोकेर उच्च शिक्षाको अभिलाषा सहित बिदेशिएको एक विद्यार्थीले संधै कर्तव्यवाट बिचलित नभई अर्जुन दृष्टिले आफ्नो उद्देश्य प्राप्तिका लागि अडिग हुनु पर्दछ । हो सुरुका केहि दिन, केहि वर्ष गार्हो सार्हो पर्ला तर आँफुलाई शैक्षिक रुपमा अब्बल गराउँदै लग्दा यहाँ अबसर पनि उत्तिकै छन् । त्यसैले यहाँका अग्रजहरू संग नियमित सम्पर्कमा रहने, नेपालका अभिभाबकहरू संग सम्पर्कमा रही रहने आँफुलाई परेको समस्याको निराकरणका लागि सोध खोज गर्ने गर्दा धेरै कुराहरू सहज बन्छन र समस्या समाधानको नजिक पुग्न सकिन्छ । अर्को तिर विद्यार्थी बर्ग मै पर्न सक्ने विविध सम्बभित घटनामा सहयोगी हात बढाउन यहाँको दुताबासले नेपाल सरकारको शिक्षा मन्त्रालयसंग समेत सहकार्य गरेर पानी सुरक्षा सम्बन्धि बिभिन्न सुचनामूलक जानकारी, त्यहाँ जाँदा अपनाउनुपर्ने सावधानीहरू, नियमहरूका बारेमा सरोकारवालाहरू संग सहकार्य गरि दिन सकेमा विद्यार्थीहरू लाई मनोबैज्ञानिक रुपमा नै तयार गराउन सकिन्छ । जसका लागि ‘नो अब्जेक्सन लेटर’ लिनका लागि शिक्षा मन्त्रालय जाने बिद्यार्थीहरू लाई नै सोहि बेलादेखि यहाँको बस्तु स्थिति विविध समुद्री लगायत अन्य सुरक्षा सम्बन्धि जानकारी समेटिएको पुस्तिका नै दिन सके त्यसले उनीहरु लाई यहाँ आएर यहाँको बाताबरण संग घुलमिल हुन सहज हुनेछ ।