दलीय राजनीतिको खिचातानीमा एनआरएनए
केहि घोषित लक्ष्य लिएर सिमित व्यवसायी, सामाजिक अभियान्ता तथा बिज्ञहरुले स्थापना गरेको ‘नेपालीका लागि नेपाली’ एनआरएनए अभियानले समयको गति संगै फराकिलो आकार लिएको छ । करिब १८ वर्षको बयस्क एनआरएनएमा पछिल्ला दिनहरुमा माथि भनिएका ३ समूह मध्ये २ समूहहरु बिज्ञ तथा सच्चा अभियान्ताहरु बिस्थापित हुँदै गएको आभास हुन थालेको छ भने अर्को समूह जो राजनीतिक दल र तिनका जनवर्गीय संगठन संग आबद्ध मानिसहरुले राम्रै इन्ट्री पाएका छन् र एनआरएनए मा हालिमुहाली गर्न पाएकोमा रमाएका छन् ।
एनआरएनए अभियानको मूल उद्देश्य भनेको प्रवासमा घरजम गरि बसेका या भनौं वा नागरिकता लिई बसेका नेपालीहरुलार्ई नेपाल सरकारले दोहोरो नागरिकताको व्यवस्था गरोस भन्ने हो । विदेशको नागरिकता लिदै गर्दा वंशजको नाताले प्राप्त गरेको नेपालको नागरिकता त्याग्न नपरोस् भन्ने नै हो । त्यहि सुबिधामा टेकेर बिदेशी पासपोर्ट बाहक नेपालीहरु नेपालमा सहज तरिकाले लगानीगर्ने चाहना लाई संबैधानिक व्यवस्था मार्फत सुरक्षित गर्ने एनआरएनए अभियान को प्रमुख उद्देश्य हो ।
सुरुका दिनहरुमा एनआरएनए ले सशक्त पैरवी गरि नयाँ संबिधानमा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने नेपालको राजनैतिक दलहरुलार्ई कन्भिन्स गर्न सफल त भयो, केहि औलामा गन्न सकिने व्यवसायीहरुले नेपालमा लगानी गर्ने अवसर पनि पाए । तर केहि स्वार्थी मानिसहरुको निहित स्वार्थ र आत्मरतिका कारण संस्थाको संगठन र संरचना तथा व्यवस्थापनामा भने थुप्रै दरार पर्दै जान थाल्यो । एउटा घरमा जव यस्ता दरारहरु पर्न थाल्द्छन र समयमा नै त्यसलार्ई सिमेन्टले जोड्ने काम हुदैन तब बिस्तारै त्यो दरार फराकिलो हुन गइ अन्ततः घर भत्किन पुग्छ । एनआरएनए प्रवासमा रहेका नेपालीहरुको सबै भन्दा ठूलो संजाल हो । यो संजाल हेर्दा विभिन्न तह र तप्काका मानिसहरुको संलग्नता रहेको यो बिशाल अभियानमा केहि अदूरदर्शी मानिसहरुको घुसपैठले गर्दा हात्तीलाई कमिलाले दुख दिए जस्तो भएको छ ।
एनआरएनएमा परेको संरचनात्मक र संगठनात्मक दरार के हो ?
एनआरएनए मा राजनीति भएको गुनासो धेरै वर्ष अगाडिदेखि सतहमा आएकै हो । बिगत लामो समयदेखि नै केन्द्रदेखि राष्ट्रिय समन्वय समितिसम्म राजनैतिक दलहरुले प्रत्यक्ष र परोक्ष रुपमा सहभागिता जनाएका मात्र होइनन् सशक्त प्रभाव जमाउन सफल भएका छन् । एनआरएनएलार्ई राजनीति मुक्त गर्नु पर्छ वा नेपालका दलीय राजनीति संग आबद्ध मानिसहरुलार्ई एनआरएनए मा निषेध गर्नु पर्छ भन्ने धारणा अहिलेको परिस्थिति मा त्यति व्यवहारिक देखिदैन किन कि यसले उठाएका बिषयहरुको सम्बोधन राजनैतिक पहल बिना सम्भव छैन ।
तर यहाँनेर एनआरएनए वा प्रवासमा प्रभुत्व जमाउन चाहने राजनीतिक दलसंग आबद्द वा सुभेच्छुक कार्यकर्ता वा एनआरएनए अभियन्ताहरुले बिबेक पुर्याउनु पर्ने कुरा के छ भने दलीय स्वार्थ पूरा गर्नका लागि आफ्ना भातृ संस्थामा सक्रिय हुने हो न कि एनआरएनए मा ? आज सबैले आफैलाई सोध्ने प्रश्न के हो भने मातृभूमि छाडेर प्रवासको जीवन किन बिताउँदै छौं ? राजनीतिक बिकृतिले गर्दा सुन्दर र सम्पन्न हुनुपर्ने देश आज यो हालतमा पुग्नुको कारण राजनैतिक असक्षमता हो कि होइन ? त्यति हुँदै गर्दा पनि बुझेकै मानिसहरु बुझ पचाएर फेरी एनआरएनए जस्तो प्रवासमा रहेका सबै नेपालीलाई आबद्ध गरि आफ्नो सामूहिक हित र मातृभूमिको बिकासमा योगदान गर्ने उद्देश्य बोकेको संस्थालाई राजनीतिक खिचातानीको शिकार बनाउनु अदूरदर्शी र आत्मघाती काम हो कि होइन ? लहरो तान्दा पहरो घर्के जस्तै गरि एन सी सी देखि केन्द्रसम्म दलीय राजनीतिका कार्यकर्ताहरुको हालीमुहाली देखिन्छ । यसले गर्दा साँचो अर्थमा एनआरएनएमा योगदान गर्ने भन्दा पनि पदीय अहंकार र क्षणिक आत्मरतिमा रमाउने मानिसहरुको बोलबाला देखिनाले एनआरएनएमा बहुसंख्यक मानिसहरुको चासो घटेको मात्र होइन बितृष्णा छ ।
एनआरएनए को दसौँ अधिवेशन गत अक्टोबर २३ देखि २५ मा हुने तय भएको थियो । विश्व सम्मेलनको लागि प्रतिनिधिहरु चयन गर्ने क्रम बिगत जुनदेखि सुरु हुने क्रममा केहि अग्र पंक्तिमा रहेका राष्ट्रिय समन्वय समितिहरुको अधिवेशन र त्यस पश्चात विश्व सम्मेलनका लागि प्रतिनिधि चयन गर्ने प्रक्रियामा व्यापक अनियमितता भएको, विधि, बिधान र पद्दति मिचिएको आवाजहरु आउन थाल्यो । बहालवाला नेतृत्वले समय मै कदम नचाल्दा इतिहासमा पहिलो पटक बिश्व सम्मेलन तोकिएको समयमा हुन सकेन ।
राजनैतिक हस्तक्षेप र दसौं विश्व सम्मेलन मिति सर्नुमा विवाद र विसंगतिको सुरुवात एन सी सी बाट सुरु भएर पराष्ट्रमा गएर अड्किएको अवस्था हो । यसको प्रमुख कारण पनि एउटाले अर्कोलाई पेलेरै जाने दलीय राजनीतिक संस्कार कार्यशैली नै हो । एनआरएनए को बैधानिक व्यवस्था अनुसार केन्द्रदेखि राष्ट्रिय समन्वय समितिसम्म आइपुग्दा बिभिन्न तहको चेन–अफ–कमाण्ड छ । ती सबै पदमा बस्ने मानिसहरु चुनावमा उम्मेदवार बन्न निकै सक्रिय देखिन्छन् तर एन सी सी को निर्वाचन र अधिवेशन विधिपूर्वक गर्नु पर्ने बेलामा आफै कि त गुटमा विभाजित हुन्छन् कि त कानमा तेल हालेर बस्छन् त समस्या को आएर समाधान गरिदिन्छ ? जब समस्याको समयमै उचित सम्बोधन हुँदैन तब त्यसले उग्र रुप लिन्छ र संस्थाको नियन्त्रण बाहिर पुग्छ । आज एनआरएनए भित्रको मुद्दा पराष्ट्रसम्म पुग्नुको कारण पनि त्यै हो ।
अल्पशिक्षित र अदूरदर्शी मानिसहरुमा संस्थाको बृहत्तर हित भन्दा पनि आफू र र आफ्नो स्वार्थ पूरा गर्ने प्रवृतिले बिधान, पद्दति र संस्थाको मूल्य मान्यतालाई धोति लगाइदिने प्रवृति आज एनआरएनए को तलदेखि माथिसम्म संक्रमित छ । एनआरएनए प्रवासमा बसेका नेपालीहरुलार्ई गोलबद्ध गर्ने एउटा सशक्त संस्था बन्नु पर्नेमा एक अर्कामा आरोप प्रत्यारोपदेखि भौतिक आक्रमणसम्म गर्ने रणभूमिको रुपमा बिकसित हुनुमा २०१९–२०२१ कार्य समितिले पूर्ण रुपमा जिम्मा लिदै आत्मा समीक्षा गर्नु पर्दछ । हो, संस्थाको दायरा फराकिलो हुँदै गर्दा समस्याहरु आउनु नौलो कुरो होइन । तर त्यसलार्ई संस्थामा विद्यमान बिधि, बिधान र पद्दति अनुसार समाधान गर्ने आँट गर्ने हो भने अरुलार्ई गुहार्नु पर्ने नै थिएन । बिडम्बनाको कुरा त के छ भने जब एनआरएनए मा विवाद को गन्ध आयो तब नेपालका राजनैतिक दलहरु पार्टीको टिकट बाँडे जस्तै गरि एनआरएनए मा उम्मेद्धार उठाउने कसरत गर्न थाले । राजनैतिक दलहरुसंग सद्भाव राख्नु एनआरएनए अभियानको एउटा पाटो हो तर एनआरएनमा उम्मेदवार बन्न दलीय समर्थन खोज्नु कदापी उचित होइन ।
करिब ८४ देशमा आफ्नो संजाल स्थापना गर्न सफल भएको एनआरएनए हाल आएर जम्मा ६५ मूलुकहरुमा मात्र राज्य समितिहरुले आफ्नो अधिवेशन गरेको छ । समयको गति संगै आजका दिनसम्म आइपुग्दा एनआरएनएले लिनु पर्ने अगाडिको मार्गचित्रमा केहि परिवर्तन भएको छ । संस्थाको सुरुको मूल मन्त्र, दोहोरो नागरिकता, नेपाल प्रबर्धन र सामुहिक लगानी भन्दा पनि आज प्रवासमा दोश्रो पुस्ता बढ्दो छ । नेपाली संग जोड्न एनआरएनए ले संस्थामा संरचनात्मक र संगठनात्मक सुधार ल्याउनुपर्ने छ ।
यति ठूलो संख्यामा देशका दक्ष र अर्धदक्ष नेपालीहरु प्रवासमा रहनु नेपालको लागि कदापी राम्रो होइन । तर जहाँ बसे पनि आफुले आर्जेको ज्ञान शिप, श्रोत र साधन लाई नेपालमा सामुहिक रुपमा लगानी गर्ने उत्तम च्यानल भनेको एनआरएनए नै हो । यसको लागि एनआरएनए को कामगर्ने शैली मा हामि सबै मिलेर सुद्दिकरण गर्नुको अर्को बिकल्प छैन ।
मिनी राष्ट्रसंघको परिकल्पना
बदलिंदो परिस्थितिमा संस्थालाई बलियो र समय सापेक्ष बनाउने उद्देश्यले एनआरएनए आइसीसी पूर्व अध्यक्ष शेष घलेले आफ्नो कार्यकालमा “Vision 2020 & Beyond” नीति पास गराएका थिए । यो दस्तावेजमा काठमाडौँ स्थित सचिवालय लाई बलियो बनाउने, संस्थामा दोश्रो पुस्ता तथा महिलाहरु लाई व्यापक सहभागी गराउने, प्रवासमा बसेका नेपालीहरु लाई नेपालको दलीय राजनीति भन्दा आफू बसेको मुलुकको राजनीतिमा सक्रिय हुन सहयोग, एनआरएनए लाई समय परिस्थिति अनुसार परिस्कृत बनाउँदै लैजाने, नीति निर्माण गर्ने छुट्टै अंग निर्माण गर्ने जस्ता नीतिहरु छन् । नीति जतिसुकै बोल्ड अक्षरमा लेखिए पनि नेतृत्वमा रहेका मानिसहरुको आफ्नो काम गर्ने शैली सहि भएन भने त्यसको अर्थ रहँदैन ।
यस्ता अग्रगामी नीतिहरुलार्ई प्रभावकारी रुपमा लागु गर्न एनसीसी तथा आइसीसीमा आउने दलीय कोटाको नेतृत्वले काम गर्दैन । प्रवासमा रहेका धेरै भन्दा धेरै नेपालीहरुको एउटा व्यापक र सामुहिक प्रयासबाट मात्र एनआरएनएले गुणात्मक उपलब्धि हासिल गर्न सक्छ । त्यसको बिपरित प्रवासमा पसेर पनि नेपाली दलीय राजनीतिको घनचक्कर मै रमाउने हो भने अनुगमन र नियमन गर्ने नेपाल सरकारले नै आगामी दिनमा प्रवासमा एनआरएनए को उपादेयता सकिएको ठहर गरि संस्था खारेज गरिदियो भने अचम्म नमाने हुन्छ । बिशेष गरि नेतृत्व तहमा बस्नेले सोचौं संस्थाको गरिमा बचाउने र आउँदा दिनहरुमा एनआरएनएलार्ई सबैको साझा, सशक्त, गतिशील, चुस्त र दुरुस्त गराउँदा नै नेपाल, नेपाली र समग्र एनआरएनहरुको हितमा छ ।
के भन्छन एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्षहरु
केशव कंडेल
निर्वाचन समयतिर एनआरएनए अभियानमा दलीय राजनीतिको प्रभाव कुनै न कुनै रुपमा देखिन्छ तर जब निर्वाचन सकिन्छ यसको प्रभाव कम हुँदै जान्छ । एनआरएनए कार्यसमितिमा बसेर सबैले स्वयं सेवा गरिरहेका हुन्छन जहाँ दलीय राजनीति को गन्ध सम्म आउदैन ।
एनआरएनए मा बसेर काम गर्ने चाहना हुनेको संख्या बढ्दो छ । प्रत्येक दुई वर्षमा बन्ने कार्य समितिमा रहेर काम गर्न पनि चुनाबी प्रतिष्पर्धामार्फत आउनु पर्ने हुनाले पनि उम्मेदवारहरुले मन र विचार मिल्नेहरुबाट सहयोगको अपेक्षा गर्ने गर्दछन् । प्रवासमा मन र विचार मिल्ने ठूलो समुह भनेकै राजनैतिक विचार मिल्नेहरुको एलाईन्स हो त्यसैले निर्वाचन ताका कहिले काहिँ राजनैतिक विचारको आधारमा उम्मेदवारहरु गोलबन्द हुने गर्दछन् र त्यो नै बाहिरबाट हेर्दा राजनैतिक गठबन्धन जस्तो देखिन पुगेको हो ।
जहाँसम्म एनआरएनएमा दलीय राजनीतिको प्रभावको कुरा छ त्यो हाम्रो बिधानले निषेध नै गरेको छ । कसैले पनि प्रत्यक्ष रुपमा दलीय आधारमा समूह निर्माण गरि एनआरएनएमा प्रवेस पाउँदैन । तर यो अभियानको उद्देश्य एउटा सामाजिक राजनीतिक खालको हुनाले एनआरएनएमा बसेर काम गर्ने या नेतृत्वमा पुग्ने पदाधिकारीहरुमा राजनैतिक अनुभव र सम्पर्क हुनु संस्थाको लागि नराम्रो होइन । तर संस्थामा काम गर्दा दलीय राजनीतिको प्रभाव पर्न गयो भने त्यो सकारात्मक हँुदैन ।
जब एनआरएनएमा आजीवन सदस्यहरुको संख्या अधिक हुन्छ र नयाँ पुस्ताहरुको इन्ट्री हुन थाल्दछ तब नेपालको दलीय राजनीति कम हुँदै जानेछ । राम्रो भिजन र योजना सहित एनआरएनए नेतृत्वमा युवाहरुको प्रवेस संगै यो संस्थाले नयाँ र समयसापेक्ष रुपमा काम गर्न सक्छ ।
गणेश केसी
एनआरएनए अष्ट्रेलियामा नेपाली दलीय राजनीतिको प्रभाव आवस्यक भन्दा बढी भएको देखिन थालेको छ । हो चुनावी सिलसिलामा मन र विचार मिल्ने मानिसहरुको समूह बन्ने प्रक्रिया पहिल्यैदेखि नै हो तर चुनाव पश्चात पनि राजनीतिक आग्रह पूर्वाग्रह राखेर काम गर्नु कदापि राम्रो हुँदैन । एनआरएनए एउटा साझा संस्था हो र यसमा सबैले मिलेर काम गर्नु पर्दछ । संस्था भित्र पसेर राजनीति गर्ने र विचार नमिल्नेहरुलार्ई वास्ता नगर्ने गरियो भने एनआरएनए कहिल्यै पनि संस्थागत हुँदैन र हाम्रो उद्देश्य पूरा हुन सक्दैन ।
एनआरएनए मा राजनैतिक प्रभाव पूर्ण रुपमा समाप्त त हुन सक्दैन तर यसलार्ई न्यूनीकरण गरेर अगाडि बढ्न सकिन्छ । यो नितान्त निर्वाचित नेतृत्वको काम गर्ने शैलीमा भर पर्दछ । संस्था सबैको साझा हो र यसमा सबैले अपनत्व महशूस गर्ने वातावरण बनाउँदै जानु पर्दछ ।
एनआरएनएमा भिजन भएका मानिसहरुको प्रवेस र नीति नियम विधान र पद्दतिका बारेमा सदस्यहरुलार्ई सुसुचित गर्दै जाने हो भने यो संस्था भित्र चरम दलीय राजनीतिको प्रभाव क्रमशः कम हुँदै जान्छ । यसका लागि सबैले मिलेर काम गर्नु पर्दछ ।
टोंनु घोताने
म एनआरएनए अभियानमा २००५ देखि संलग्न छु र आजका दिनमा आइपुग्दा यो अभियान एउटा संस्थाको रुपमा परिणत भएको छ । या संस्थामा को विभिन्न तहमा रहेर काम गर्दा मलार्ई राष्ट्रिय समन्वय समिति अन्तर्गत थुप्रै अनुभवहरु लिने अवसर पाएँ ।
मेरो बुझाइमा राष्ट्रिय समन्वय समिति भित्र त्यति धेरै दलीय राजनीतिक खास प्रभाव छैन र यहाँ त्यस्तो दवाव समूह पनि छैन । एनआरएनए अष्ट्रेलिया कार्यसमितिमा काम गर्न चाहनेहरुले मूलतः स्थानीय समुदायको हितमा काम गर्ने अवसर रहेको देखिन्छ ।
बिगतमा एनआरएनएले गरेका धेरै राम्रा कामहरुमा समुदायको साथ रहेको छ । संस्थाप्रति सबैको अपनत्व बिना यो संस्थाले चाहे जस्तो काम गर्न सक्दैन । सामाजिक कल्याणकारी काम होस्, विद्यार्थीहरुलार्ई सहयोग गर्दा होस् या मातृभूमिमा विपद पर्दा होस्, बाढी, पहिरो, भूकम्प, कोभिड जस्ता थुप्रै दुःखमा एनआरएनए अग्रपंक्तिमा रहेर समुदायको सेवा गरेको छ ।
एनआरएनए निर्वाचनको समयमा भने केहि राजनैतिक दल वा दवाब समुहहरुको सक्रियता हुनु नौलो होइन । यस्तो खालको प्रभाव समुदायका अरु साना संघ संस्थामा पनि पाइन्छ भने एनआरएनए जस्तो ठूलो संस्था र थुप्रै एजेन्डाहरुमा नेपाल सरकारसंग लबी गर्ने संस्थामा यो नौलो कुरो भएन ।
एनआरएनएमा राजनीति हुनुको प्रमुख कारण यो संस्थाको धेरै फोकस नेपाल केन्द्रित छ । जब कुनै कुराको पहल नेपालसम्म पुग्छ तब त्यहाँ राजनीतिसंग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिन्छ नै । नेपालीहरु नयाँ मुलुकमा जाँदा उनीहरुले आफ्नो भाषा, संस्कृतिका साथै राजनैतिक रुप रंग पनि लिएर जान्छन् र त्यसलार्ई परिवर्तन गर्न समय लाग्छ । वास्तविक कुरा के हो भने जहाँ निर्वाचन त्यहाँ मन मिल्ने मानिसहरु संगठित हुन सक्दछन र त्यसका लागि सजिलो तरिका भनेको राजनैतिक ग्रुपिजम नै देखिन्छ ।
एनआरएनएको दैनिक कार्यक्रमहरुमा खास त्यस्तो राजनैतिक प्रभाव देखिदैन । निर्वाचनको सन्दर्भमा उम्मेदवारहरु स्वतन्त्र हुन्छन तर कुनै न कुनै रुपमा समुहहरुले समर्थन गर्ने हुन्छन् । उम्मेदवारहरु राजनैतिक दल हुँदैन तर त्यो भन्दैमा ती उम्मेदवारहरुको राजनैतिक विचार नै हुँदैन भन्ने होइन । मैले थुप्रै कलेज, स्कूलको निर्वाचन देखेको छु । ती निर्वाचनहरुमा उम्मेदवारहरु कुनै दल बिशेषका हुदैनथे तर कुनै दलीय आधारमा बनेका समुहहरुको समर्थन बिना उनीहरु निर्वाचित हुन मुस्किल थियो ।
जहाँसम्म एनआरएनए मा राजनैतिक प्रभावको कुरा छ हामीले बुझ्नुपर्ने कुरा के छ भने हामीले राम्रो सामाजिक कार्यकर्ता निर्वाचित गर्यौ कि गरेनौ भन्ने महत्वपूर्ण हुन्छ । यदि समाजमा राम्रो काम गर्ने एजेण्डा बोकेको मानिसलाई निर्वाचित गर्न सक्यांै भने एनआरएन निर्वाचनका बेला हुने राजनैतिक चलखेलले एनआरएन मा खासै नकारात्मक असर नपर्न सक्छ ।
योग्य मानिसहरु एनआरएनमा निर्वाचित हुन सक्दैनन् भन्ने सुनिन्छ तर म यसमा सहमत छैन । योग्यको अर्थ के हो त्यो पनि बुझ्नु जरुरी हुन्छ । जो सुकै पनि सामाजिक काम गर्ने उद्देश्यले निर्वाचनमा भाग लिन्छन् तिनीहरु कुनै न कुनै तवरले समुदायमा योगदान दिएकै हुन्छन् ।
एनआरएनएमा दलीय राजनीतिको प्रभाव कम गर्न सबैभन्दा पहिला त यसको नाम परिवर्तन गर्नु जरुरी छ । संस्थाको नाम नेपाली भन्दा पनि सम्बन्धित देशको सन्दर्भ संग मिल्दो जुल्दो राख्दा राम्रो हुन्छ । जब संस्थाले स्थानीय नेपाली समुदायसंग सम्बन्धित एजेन्डाहरुमा काम गर्न थाल्दछ तब नेपाली राजनीतिक दलहरुको हस्तक्षेप स्वतः कम हुदै जान्छ ।
एनसीसीहरु माथि आइसीसीको नियन्त्रण कम गरि उनीहरुलार्ई स्थानीय तहमा स्वायत्त र सशक्त बनाउने, नयाँ पुस्तालाई नेतृत्वमा आउने वातावरण बनाउन जरुरि छ । त्यसै गरि राजनैतिक दलका भातृ संस्थाहरु बाट एनआरएनएमा पर्न सक्ने प्रभावका बारे खुला छलफल र सहमतिमा पुग्नु पर्ने हुन्छ । त्यसै गरि एनआरएनएले गरेका सामाजिक कामहरुको जनचेतना समुदायको ग्रास रुटसम्म पुर्याउन सकियो भने एनआरएनएमा राजनैतिक भन्दा सामाजिक मानिसहरुको आकर्षण बढ्न सक्छ र अन्ततः दलीय राजनीतिको प्रभाव काम हुँदै जान्छ ।
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...