नयाँ परिवेशमा एनआरएनए अभियान र यसको प्राथमकिता !
आगामी अक्टोबर-नोभेम्बरमा हुन गैरहेको एनआरएनए विश्व सम्मेलनको पूर्वसन्ध्यामा संसारभरी रहेका राष्ट्रिय समन्वय समितिहरुको निर्वाचन हुदै छ । हिजो २९ जुलाई तारिख एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमिति २०२३–२५ को लागि निर्वाचन सम्पन्न भएको छ । तीन वटा समुह बनाएर होमिएको एनआरएनए अष्ट्रेलिया निर्वाचन अभियानले अनिल पोख्रेललाई अत्यधिक मतले अध्यक्षमा निर्वाचित गरेको छ । कुल १४५६२ पंजीकृत सदस्य मध्ये १२६१७ ले मतदान गरेका छन् । करिब ८७ प्रतिशत पंजीकृत सदस्यले मतदान गरेको हिजोको निर्वाचनमा आइसीसी सदस्य लगाएत अन्य निर्वाचित पदधिकारीहरुमा अनिल टिमले उल्लेख्य जित हासिल गरेको छ । जून महिनाको अन्तिमसम्म पंजीकृत सदस्यता खुल्ला गरि २९ जुलाईमा सम्पन गरिएको निर्वाचन तुलनात्मक रुपमा निर्वाचन प्रचार प्रसारको लागि छोटो समय दिईएको थियो ।
निर्वाचन प्रयोजनका लागि पहिलो पटक एनआरएनए आइसिसिले तोकेको मापदण्ड अनुसार पंजीकृत सदस्यता आह्वान गरिएको थियो । जस अनुसार सदस्य बन्नका लागि आफ्नो मोबाइलमा “स्मार्ट एनआरएनए” एप्स डाउनलोड गर्ने, फोटो प्रमाणीकरण गर्ने र आफ्नो सदस्यता शुल्क आफैले तिर्नु पर्ने व्यवस्था गरेको थियो । यो प्राबधानले गर्दा यसपटक ग्रुपमा सदस्यता बनाउने, सदस्यता शुल्क उम्मेदवारले तिरिदिने र मत हाल्दा पनि सिस्टमको दुरुपयोग गरि अनाधिकृत मतदान गर्ने जस्तो बिकृति पूर्णत बन्द भएको थियो ।
सिस्टमको छिद्र प्रयोग गरि एउटै कार्डबाट धेरै जनाको सदस्यता शुल्क तिरेको गुनासो नआएको भने होइन । प्रमुख निर्वाचन आयुक्त टोनु घोथानेले एउटै कार्डबाट ३ जना भन्दा धेरैको भुक्तानी गरेको खण्डमा बाँकि सबै सदस्यतालाई खारेज गरिदिए पछि सयौं सदस्यहरु मतदानको लागि अयोग्य भएका थिए । प्रमूख निर्वाचन आयुक्त घोथानेको यो दृढ इच्छाशक्तिका कारण अब भविष्यमा एनआरएनए सदास्यता र निर्वाचन प्रक्रिया अरु चुस्त, दुरुस्त र स्वच्छ हुने अपेक्षा गरिएको छ ।
चुनावताका एनआरएनएलाई लगाइने दलीय राजनीतिको आरोप यसपटकको अभियानले केहि मत्थर बनाएको छ । नेतृत्व तहमा दावेदारी गर्ने अनिल पोख्रेल, डीलाराम खरेल र देव गुरुङ तीनै जना खासै पार्टीले डामेर पठाएका थिएनन् । भलै उनीहरुको आस्था, झुकाव र उनीहरुलाई ब्याकिंग गर्ने समूह कुनै राजनैतिक दल समर्थित भने थिए । तीनै जना लामो समय एनआरएनएमा आफ्नो निरन्तर सहभागिता र योगदानका आधरमा नेतृत्वको दावी गरिरहेका थिए । समयको परिवर्तनसंगै राजनैतिक दलबाट दीक्षित अभियन्ताहरुको राप–ताप कम हुँदै जाने र नया पुस्ताबाट फेयर तरिकाबाट एनआरएनए नेतृत्व चयन हुँदै जाने क्रमको संकेत यो निर्वाचन र यसमा प्रयोग गरिएको नयाँ सिस्टमले समग्र एनआरएनप्रेमीहरुमा आशा जगाएको छ ।
समयको प्रवाह संगै एकातिर एनआरएनए अभियान बिगतमा भन्दा प्रबिधि मैत्री र परिष्कृत हुंदै गएको छ भने अर्कोतिर नेपाल सरकारले लामो समयदेखि माग गर्दै आएको एनआरएनए नागरिकतालाई संबैधानिक रुपमै अनुमोदन गरेको छ । नयाँ नेतृत्वले परिवर्तित सन्दर्भमा अबको एनआरएनए अभियानलाई अलि फरक र फराकिलो ढंगबाट हाँक्नु पर्ने देखिन्छ ।
एनआरएन नागरिकता र लगानीमा सहजता
नेपाल सरकारले साविकको एनआरएन कार्डलाई अरु संस्थागत गराउन एनआरएन नागरिकताको लागि संबिधानमै व्यवस्था गरिसकेको छ । केहि समयमै एनआरएन नागरिकता वितरण हुने जानकारी दिइएको छ । कतिपय एनआरएनए अभियन्ताहरु बंसजको नागरिकता खोसेर दिएको ‘एनआरएन नागरिकता’ ले आफ्नो माग पूरा नभएको बताएका छन् । तर एनआरएनए अभियानको ठूलो हिस्साले यो उपलब्धिलाई स्वीकारेको छ र नेपाल सरकारप्रति आभार प्रकट गरिसकेको छ ।
नेपालको कानून अनुसार विदेशको नागरिकता लिईसकेपछि पूर्ण अधिकार सहित बंसजको आधारमै नागरिकताको निरन्तरता खोज्नु अहिलेको स्थितिमा त्यति सहज हुँदैन । तर प्राप्त अधिकारलाई सदुपयोग गरि एनआरएनए च्यानलबाट मातृभूमिमा परिणाम आउने गरि सहयोग गर्दै जान सकियो भने हाम्रो नागरिकताको निरन्तरता असम्भव छैन । थप अधिकार माग गर्दै गर्दा हामीले मातृभूमिप्रति अबको हाम्रो कर्तब्य के हो भन्ने भुल्नु हुँदैन । संगठित रुपमा नेपालमा सामुहिक लगानी भित्र्याउनकालागि व्यापक रोजगारी सिर्जना अभियान चलाउन ढिला गर्नु हुँदैन। हामीले मातृभूमि प्रति सक्दो योगदान दिने बेला आएको छ र बातावरण पनि बन्दै गएको छ ।
सामुहिक लगानी अबको अभियान
नेपालमा यतिखेर राजनैतिक स्थायीत्व छ तर आर्थिक रुपले चरम कठिनाई भोगिरहेको छ । लाखौं दक्ष र अर्ध–दक्ष युवाहरु स्वदेशमै अवसरको अभावले बिदेसिन बाध्य छन् । बढ्दो बैदेशिक रोजगारीले नेपालका उर्बर गाउँघर बाटो, पानी, बिजुली, संचार हुँदाहुँदै पनि उजाड छन् । बैदेशिक रोजगारीमा बढ्दो विदेश पलायनले सामाजिक, पारिवारिक संरचनामा पनि नराम्रो असर परेको छ । एनआरएनएको पहलमा हुने सामुहिक लगानी, ज्ञान सिपको आदान प्रदानले स्वदेश मै व्यापार–व्यवसाय र रोजगारी सिर्जना गर्न सकियो भने ती सुन्दर गाउँघरलाई हराभरा बनाउन ढिला भएको छैन । एनआरएनहरुले बिकसित मुलुकमा अध्ययन, रोजगारी तथा व्यवसाय गरि आर्जन गरेको ज्ञान, सिप र धन नेपालमा लगानी गर्न सरकारले सहजीकरण गर्नै पर्छ । एनआरएनए सम्बन्धि मामिला हेर्नका लागि एनआरएन मन्त्रालय, लगानीमा एकद्वार प्रणाली, लगानीकर्तालाई आकर्षण गर्ने सरकारी नीतिका लागि काठमाडौँस्थित सचिवालयले सशक्त लबी गर्नु पर्दछ ।
नेपालमा गरिने लगानी चन्दा होइन, यो व्यवसाय हो अवस्यपनि मुनाफा हुन्छ नै । यो यस्तो खालको लगानी हो जसले हामीलाई आर्थिक फाइदा मात्र होइन सामाजिक, मनोबैज्ञानिक र भावनात्मक रुपमा पनि खुसी र सन्तुष्टि प्रदान गर्दछ । आउँदो ५ वर्ष भित्र संसार भरिका एनआरएनहरुलाई काठमाडौं स्थित सचिवालयको संयोजकत्वमा नेपालमा व्यापक लगानीको लागि तयार पार्नु पर्छ । करिब ८० देशका लाखौँ एनआरएनहरुलाई सयुंक्त लगानी अभियानमा जोडेर नेपाली यूवा हरुलाई स्वदेशमै रोजगारी निर्माण गर्न सकियो भने मात्र एनआरएनहरुले मातृभूमिको ऋण तिरेको मानिनेछ ।
आगामी पुस्ताकालागि हामि के गर्दै छौं ?
अध्ययनका लागि नेपालीहरु अष्ट्रेलिया झर्ने क्रम ९० को दशकदेखि सुरु भएको हो । करिब ३० वर्षदेखि आजसम्म आइपुग्दा लाखौँको संख्या पुगिसकेको छ । एउटा सफल र सभ्य बहुसांस्कृतिक सामाजिक, राजनैतिक संरचना भएकोले अष्ट्रेलियामा नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ ।
आर्थिक बिकासकालागि दक्ष जनशक्तिलाई ढोका खोल्ने सरकारीनीति अनुसार आज लाखौं नेपालीहरु यहाँको स्थाई बसोवास र हजारौं नेपालीहरुले नागरिकता प्राप्त गरिसकेका छन् । आफ्नो योग्यता र क्षमताका आधारमा रोजगारी, व्यापार–व्यवसाय संचालन गरि वृत्ति–बिकास गर्ने समान अवसर भएकोले पनि अष्ट्रेलियन नागरिकता लिने नेपालीहरुको संख्या घट्ने होइन बढ्ने नै हो ।
हामी पहिलो पुस्ता त नेपालबाट आफ्नो धर्म, संस्कृति मूल्य मान्यता र सभ्यता लिएर आएका छौँ । तर यी सबै कुराहरु पुस्तान्तरण गर्न हामीलाई हम्मे–हम्मे पर्ने छ । विविध कारणले यहाँको समाज उदार र खुला छ । जीवनस्तर माथि छ र उनीहरु हामी भन्दा फरक परिवेशमा हुर्केका छन् । अब हामीले यहाँ जन्मेका बाल–बच्चाहरुलाई हाम्रो भाषा, संस्कृति, सभ्यता, मूल्य र मान्यतामा शिक्षित र दीक्षित बनाउन आवस्यक पूर्वाधारहरु निर्माण गर्न चुक्यौँ भने पुस्तान्तरण संगै बहुसांस्कृतिक अष्ट्रेलियामा हाम्रो मौलिक पहिचान समाप्त हुनेछ ।
अष्ट्रेलियामा नेपाली समुदाय अरु समुदायको तुलनामा नयाँ हो । तर हाम्रो समुदाय तुलनात्मक रुपमा सशक्त छ । किनकि अधिकांस नेपालीहरु शिक्षित र आफ्नो दक्षताका आधारमा स्थाई बसोवास गर्ने अवसर पाएका हुन् । हामीले अरु समुदायले आफ्नो पहिचान राख्न गरेका राम्रा कामहरुबाट सिक्नु पर्छ ।
भारतीय, चिनिया, मध्यपूर्वी लगायत अन्य थुप्रै आप्रवासीहरुले आफ्ना समुदायका सदस्यहरुलाई एक सुत्रमा बाँध्न बिद्यालय, शिक्षालय, सामुदायिक केन्द्र, क्लब, प्रतिष्ठान जस्ता पूर्वाधारहरु निर्माण गरिसकेका छन् । ती पूर्वाधारहरु पनि उनीहरुको अग्रज पुस्ताले निर्माण गरि आफ्नो लिगेसी नयाँ पुस्तालाई छाडेर गएका थिए ।
अब हामीले पनि त्यस्ता सामुदायिक महत्वका पूर्वाधार निर्माण गर्न जुट्ने बेला आएको छ । केहि राज्यहरुमा सामुदायिक केन्द्रका लागि पहल सुरु भैसकेको छ । यस्तो केन्द्र भौतिक मात्र हुनेछैन, यो त हाम्रो भाषा, संस्कृति, आस्था, बिश्वास, आपसी सद्भाव केन्द्र हुनेछ जसले हामी र हाम्रा पुस्ताहरुलाई भावनात्मक रुपमा जोड्न मद्दत गर्नेछ । अष्ट्रेलियाका आठै राज्य र टेरिटोरीहरुमा कम्तिमा एउटा बृहत नेपाली सामुदायिक केन्द्र निर्माण गर्न एनआरएनएले नै अग्रसरता देखाउनु पर्दछ ।
हालसम्म एनआरएनए स्थानीय तहमै सिमित रहेर धेरै काम गरेको देखिन्छ । स्थानीय तहमा गरिने कामहरुमा सामुदायिक संघ-संस्थाहरुसंग साझेदारी गर्ने हो र सहयोग गर्ने हो । एनआरएनएले दिर्घकालिन महत्वका कामहरुको थालनी गर्न आवस्यक छ । त्यस्यका लागि नीति निर्माण र योजना तर्जुमामा ध्यान दिदै बृहत र साझा एनआरएनए निर्माणमा लाग्नु पर्दछ । नीतिगत तहमा सहयोग लिनका लागि बिधानमै व्यवस्था गरि “एनआरएनए थिंक-ट्यांक” समूह गठन गर्न निर्वाचित अध्यक्षलाई अधिकार दिंदा राम्रो हुन्छ।
अन्त्यमा
जन्मभूमि र कर्मभूमिबीचको सेतु बन्न, यो कर्मभूमिमा हुर्कदै गएको पहिलो पुस्ता र आगामी पुस्ताहरुलाई जोड्ने एउटा महाअभियानको सारथि बन्न, एनआरएनए अभियान र यसको नेतृत्वलाई अवसर र चुनौती दुवै छ । एनआरएनएमा संस्थागत संरचना छँदै छ तर यसलाई समयसापेक्ष प्रभावकारी, सशक्त र परिणाममुखी बनाउन हामी अझै पछि परेका छौँ । एनआरएनएलाई संसारमा छरिएर बसेका नेपाली हरुलाई जोड्ने एउटा राष्ट्रसंघिय मोडेलमा संस्थागत विकास गर्नुपर्ने आजको आवस्यकता हो । समुदायकालागि बृहत र दीर्घकालिन महत्वका कामहरु गर्न हामी सबै जुट्नु जरुरि छ । चुनाबको सिलसिलामा हार-जितबाट माथि उठेर सबै जुट्नुको बिकल्प छैन । व्यापक सहभागिताबाट मात्र अबको एनआरएनए सबल र परिणाममुखी बन्न सक्छ । सामुदायिक हकहित र मातृभूमिलाई सहयोग गर्न सबैलाई एकजुट बनाएर लैजान एउटा कुशल नेतृत्वको ठुलो भूमिका हुन्छ । एनआरएनए अष्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोख्रेल र सम्पूर्ण टिमलाई सफल कार्यकालको लागि शुभकामना !
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...