“हजुर एक्लै हुनुहुन्न” भन्ने सन्देश सहित दिदीबहिनी विमेन्सको कार्यक्रम सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६
दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW टिमको आयोजनामा समुदायको स्वास्थ्य, कल्याण तथा सामाजिक सचेतनासम्बन्धी विशेष कार्यक्रम ग्रान्भिल टाउन हलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य, मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक सहयोगका विषयमा खुला छलफल भएको छ। सामान्य कार्यक्रम भन्दा भिन्न नेपाली समुदायमा खुला रूपमा कम छलफल हुने तर व्यक्ति, परिवार र समाजको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य, मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक सहयोग तथा सेवामा पहुँचजस्ता विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले समुहगत रुपमा आफ्ना अनुभव तथा धारणा खुला रूपमा प्रस्तुत गर्दै समुदायमा देखिएका चुनौती, उपलब्ध सेवाहरूमा पहुँच, समाधानका सम्भावना तथा आपसी सहयोगका विषयमा छलफल गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य दिँदै DWNA-NSW की निर्देशक डा. झरना भट्टराईले सन् २०१२ मा मेलबर्नबाट सुरु भएको DWNA को यात्राबारे जानकारी दिँदै महिला सशक्तीकरण, स्वास्थ्य, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा रोकथाम तथा समुदायको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्न संस्थाले गर्दै आएको कार्यबारे प्रकाश पार्नुभयो। भट्टराईले मेलबर्नस्थित एक सदस्यको घरबाट सुरु भएको DWNA अहिले महिला, परिवार र समुदायलाई सहयोग गर्ने सशक्त सञ्जालका रूपमा स्थापित भएको बताउनुभयो। सामाजिक न्याय, मानवअधिकार र लैङ्गिक समानताका मूल्यमा आधारित संस्थाले एक दशकभन्दा बढी समयदेखि महिला स्वास्थ्य, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा रोकथाम तथा समग्र कल्याणका क्षेत्रमा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो। समुदायका आवश्यकता समयसँगै परिवर्तन भइरहेको उल्लेख गर्दै डा. भट्टराईले प्रविधिको प्रभाव, आर्थिक दबाब, जलवायु परिवर्तन तथा नयाँ पुस्ताका चुनौतीलाई सम्बोधन गर्न समुदायसँग सहकार्य गर्दै नयाँ कार्यक्रम, साझेदारी र अवसर सिर्जना गरिने बताउनुभयो। DWNA स्वयंसेवाको भावनामा आधारित संस्था भएको उल्लेख गर्दै उहाँले संस्थाको यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण स्वयंसेवक, समर्थक तथा साझेदारप्रति आभार व्यक्त गर्नुभयो। साथै DWNA की अध्यक्ष रोशनी श्रेष्ठ, संस्थापक अध्यक्ष डा. जमुना पराजुली तथा मेलबर्नस्थित समिति र सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई निरन्तर सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभयो।

“हजुर एक्लै हुनुहुन्न” भन्ने सन्देश
कार्यक्रममा DWNA-NSW की टिम लिडर प्रतिज्ञा अधिकारीले नेपाली समुदायमा सामूहिक जिम्मेवारी र आपसी सहयोगको महत्वबारे धारणा राख्नुभयो। उहाँले नेपालमा रहेका परिवार, आफन्त तथा परम्परागत सामाजिक सहयोग प्रणालीबाट टाढा रहेर अष्ट्रेलियामा नयाँ जीवन सुरु गरेका नेपालीहरूले अभिभावकत्व, किशोर किशोरीका चुनौती, पारिवारिक तथा सम्बन्धका कठिनाइ, एक्लोपन र मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयहरू कहिलेकाहीँ एक्लै सामना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। अष्ट्रेलियामा विभिन्न सरकारी तथा गैरसरकारी सेवा र स्रोतहरू उपलब्ध भए पनि ती सेवासम्म कसरी पुग्ने, कहाँ जाने, कसलाई सम्पर्क गर्ने र सहयोग माग्दा के प्रक्रिया हुन्छ भन्ने जानकारी समुदायसम्म पुर्‍याउनु उत्तिकै आवश्यक रहेको उहाँको भनाइ थियो। समुदाय भनेको एउटै स्थानमा धेरै मानिस बस्नु मात्र नभई आवश्यक पर्दा एकअर्कालाई सम्झने, सुन्ने, साथ दिने र सही सेवासँग जोड्ने सम्बन्ध भएको उल्लेख गर्दै अधिकारीले “हजुर एक्लै हुनुहुन्न” भन्ने सन्देश समुदायमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा ग्रान्भिलकी राज्य सांसद जुलिया फिनले समुदायको स्वास्थ्य, कल्याण र सामाजिक एकता प्रवर्द्धनमा DWNA ले खेलिरहेको भूमिकाको प्रशंसा गर्दै आवश्यक पर्दा उपलब्ध सेवाको उपयोग गर्न र सहयोग खोज्न समुदायलाई प्रोत्साहित गर्नुभयो। Cumberland City Councilका काउन्सिलर ग्लेन एलमोरले बहुसांस्कृतिक समुदायको सशक्तीकरणमा स्थानीय सरकार र समुदायबीचको सहकार्यको महत्वबारे चर्चा गर्नुभयो। यसै गरि Greater Sydney Nepalese Multicultural Centre (GSNMC) का अध्यक्ष बिष्णु हमालले नेपाली समुदायको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिनुभयो। कार्यक्रममा Australian Nepalese Journalists Association (ANJA) का अध्यक्ष कृष्ण तिवारीले सही सूचना, प्रभावकारी सञ्चार तथा समुदाय सचेतनाको महत्वबारे धारणा राख्नुभएको थियो । एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईंले स्वास्थ्य, मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, आर्थिक सशक्तीकरण तथा समुदाय कल्याणजस्ता समयसान्दर्भिक विषयमा केन्द्रित कार्यशाला आयोजना गरेकोमा DWNA को प्रशंसा गर्नुभयो। उहाँले यस्ता खुला छलफलले समुदायमा जानकारी, सचेतना तथा सहयोगको वातावरण सिर्जना गर्नुका साथै आवश्यक सेवासम्म समुदायलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रम सफल बनाउन NSW Health, Neami National, Brahma Kumaris Australia, Greater Sydney Nepalese Multicultural Centre (GSNMC), Shabdamala Nepali Community Language School, Australian Nepalese Public Health Association (ANPHA), Blacktown Nepalese Community, Australian Nepalese Journalists Association (ANJA) तथा Lukla TVले सहयोग गरेका थिए। आफ्नो ज्ञान, अनुभव र समर्पणका कारण कार्यशाला प्रभावकारी, सहभागितामूलक तथा उपलब्धिमूलक बनाउन सहयोग गर्ने सहजकर्ताहरु सोरा मथिडा, अनिता श्रेष्ठ, महेन्द्र लम्साल, रेबेका लोयड, बिमला ढकाल, नाओमी र सौरभ श्रेष्ठ लगायत सम्पूर्ण स्वयंसेवक, कलाकार, सहभागी, साझेदार संस्था तथा सञ्चारकर्मीहरूप्रति DWNA ले विशेष धन्यवाद व्यक्त गरेको छ।

उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको कार्यशालाको सहजीकरण प्रतिज्ञा अधिकारीले गर्नुभएको थियो भने छलफलहरू अत्यन्तै सक्रिय, अर्थपूर्ण र सहभागितामूलक रहेका थिए जहाँ सहभागीहरूले आफ्ना अनुभवहरू बाँड्नुका साथै समुदायमा देखिएका चुनौती, समाधानका सम्भावना तथा आवश्यक सहयोगका विषयमा खुला संवाद गरेका थिए। कार्यक्रमका क्रममा DWNA ले आवश्यकता परेका समुदायका सदस्यहरूलाई सहयोग, जानकारी तथा सम्बन्धित सेवासम्म पहुँच बनाउन समर्पित सम्पर्क नम्बर उपलब्ध रहेको जानकारी गराएको थियो। कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा DWNA ले आगामी वर्षभरि समुदायमुखी कार्यक्रम तथा पहलहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। औपचारिक कार्यक्रमपछि सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको थियो। शब्दमाला विद्यार्थी समूह, अलिशा सापकोटा, इशा सापकोटा, DWNA ग्रान्भिल युनिटका निशा पन्थ, स्वर्ण श्रेष्ठ, सावित्री चालिसे गौतम, सुमिना थापालिया, सङ्गीता खनाल घिमिरे तथा सुष्मिता दाहालले प्रस्तुति दिनुभएको थियो। त्यसैगरीउमा श्रेष्ठ, तथा श्रिजना शर्मा ले प्रस्तुति दिनुभएको थियो। त्यसैगरी स्थानीय कलाकार जेनिशा गौतम र सदा श्रेष्ठ ले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको समापनमा आयोजकहरूले नेपाली समुदायलाई आपसी सहयोग, जानकारी, सहानुभूति र विश्वासका आधारमा अझ बलियो समुदाय निर्माण गर्न आह्वान गरेका थिए। “समुदाय भनेको आवश्यक पर्दा एकअर्काको साथमा उभिन सक्ने सम्बन्ध हो” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो। दिदीबहिनी महिला सञ्जाल (DWNA) कार्यक्रमको सञ्चालन DWNA-NSW का टिम सदस्यहरू डा. मधु अधिकारी, विद्या राई र सिर्जना शर्माले गर्नुभएको थियो।