तीज

-- सन्ध्या साँझ / प्रकाशित मिति : बिहिबार, भदौ २१, २०७५

सुरुवात गरौँ अहिलेको चलन चल्तिमा रहेको फेसबुके बार्ताबाटै । त्यसमा पनि ट्यापट्यापे हैन बकबके बार्तालाप । नमस्कार आदान प्रदानबाट सुरुभएको बकबक सन्चो बिसन्चो हुँदै नजिकिएको चाडबाड, त्यसमा पनि तीजमा पुग्यो । गफै गफमा मैले तीजको बाहानामा उहि उहि मान्छे, आज एउटाकोमा भोलि अर्काकोमा, यसको राम्रो कि उसको, कोभन्दा को कम गर्दै, सधैँ मीठो खान, राम्रो लाउन र खोजेको पुर्याउन पाउनेहरूले आपसमा एकअर्कालाई खुवाएर बेकारमा महिनौँसम्म पैसा र समयको बेअर्थमा बर्बाद भन्दै मात्र थिएँ, मेरो वाक्य सकिएकै थिएन उताबाट चर्को स्वरमा आवाज आयो, आफूलेचै ५ महिना अगाडि देखिनै राम्रा राम्रा लुगा र मेकपमा सजिएर फोटा फेसबुकमा राख्ने, अनि हामीले नेपालमा मनाएको चाडबाड चैँ बेकार हो ? आँफू बिदेशमा बसेर जे गरेनी ठिक नेपालमा भाकाले गर्या तिमीहरू लाई अपच हुने । आदि आदि, नाना भाती ।
मेरो मनसाय कसैको चाडबाड मनाउने र रमाइलो गर्ने शैलीलाई आक्षेप लाउनु थिएन, नत त्यसमा कुनै निर्णायक भूमिका निभाउनुनै थियो । मत मात्र सबैले मिलेर रकम जम्मा पारेर एक ठाउँमा तीज मनाउनु, च्यारिटीको पनि ब्यवस्था गर्नु । बाँकि रकमलाई चाड मनाउन असक्षम रहेका आमा र दिदी बहिनीहरूका निम्ती खर्चिनु । यसो गर्दा तीज पनि थोरै खर्चमा राम्रैसँग मनाइने र तीजको नाममा एउटा सामाजिक कार्य पनि हुने भन्न चाहन्थेँ । तर मेरा वाक्यहरू बाँकि नै रहे । कुराको टुङ्गो नलागि चरक्क चर्किनेलाई मैले ५ महिना अगावै मनाएको तीज नेपालमा पाठेघरमा समस्या भएका र त्यसको अप्रेसन गर्न असमर्थ दिदी बहिनीहरूलाई त्यस कार्यक्रममा संकलित रकमले सहयोग गर्ने उद्देश्यले मनाइएको थियो । नेपालमै भैरहदा भन्दा बढि बिदेशिएपछि नेपालीहरूको पीडा र मर्मले झस्काउँदो रहेछ, त्यसैले यहाँ साना ठूला बिभिन्न कार्यक्रमहरू भैरहनु र चाडबाड मनाउनुको प्रमूख उद्देश्य नेपालका सामाजिक कार्यमा लगाउने रहेको हुन्छ भनेर बुझाउने उचित बातावरण भएन त्यसबेला । मेरा बिचारहरूले कसैको चित्त नबुझ्ला, नबुझाउनु तपाईँको नितान्त ब्यक्तिगत अधिकार हो र तपाईँ आफ्नो अधिकारलाई जसरि उपयोग गर्नुहोस त्यसमा मेरो कुनै टाउको दुखाइ हुनेछैन । म पनि मेरो लेख्न पाउने अधिकारलाई दायरा भित्र राखेर आफ्ना बिचारहरू लेखिनै रहने छु ।
अब यहि तीजकै सेरोफेरोमा रहेर लागौँ संसारभरि बसेका हामी नेपालीहरूले अँगाली राखेको छाउपडी तर्फ । कानुन बन्यो, उलङ्घन गर्नेलाई सजाय पनि तोकीने भो । यो हुनै पर्नेथ्यो र भयो पनि । हामी एकछिन बिचार गरौँ, यो छाउपडीको किटाणु कहाँसम्म फैलीएको छ ? यो सम्बन्धी बनेको कानुनको कति पालना हुन्छ ? कसले कति पालना गर्छ र कसले कति सजाय पाउँछ ? हामी नेपालीहरू जहाँ जहाँ छौ हामी सँगै यो रोग पनि छ । शहरी बातावरणमा हुर्केका, शिक्षित र बिदेशीएका हामीमा पनि महिनाबारीको समयमा घरमा, बाबा आमा र मान्यजनका छेउमा बस्न थोरै भएपनि सजकता अपनाउँछौँ, सामाजीक र धार्मिक कार्यमा त पूर्ण रुपमा यहि प्रथालाई अँगालेका छौँ धर्मका रुपमा अहिले पनि । के हामी यो धर्मको उलङ्घन गर्छौ त ? म मेरो आफ्नै उदाहरण दिन्छु । बाबाले अदालतबाट अवकास लिनुभो । कानुनी बातावरणमा सानैदेखि कानुन, सत्य, असत्य, न्याय र अन्यायका पाठहरू सुनेर म हुर्किएँ । रपनि मेरो परिवारमा महिनावारी र सुत्केरीको समय छुवाछुतको वातावरण थोरै कायम नै छ अहिलेसम्म पनि । धर्म र संस्कार सिक्ने क्रममा यस छुवाछुत बार्ने कुराले धेरै जरा गाडिसकेको छ जसलाई म अहिलेसम्म पनि उखालेर फाल्न सकिरहेको छैन । म मात्र हैन हामी सबैलार्ई यस्तै भइरहेकोछ पक्कैपनि । सायद म र मेरो परिवार लगायत प्रत्येक नेपाालीहरू कानुनी सजायको हकदार रहेका छौँ । फरक यति मात्र छ, हामीले यो रोगको इलाज गराइरहेका छौँ समय परिस्थिती अनुरुप, अन्य सहरिया परिवेशमा हुर्किनेले जस्तै तर हाम्रो नेपालको पश्चिमी भेगका मानिसहरूले यसको इलाज गर्न भर्खरै मात्र सिक्दैछन् । जब हाम्रो इलाज गर्दागर्दै बर्षौ बितिसक्यो तर पनि पूर्णरुपमा स्वस्थ्य भैसकेका छैनौँ भने छाउपडी रोगले जरा गाडेको गाउँहरूबाटै रोग निर्मूल गर्न कति समय लाग्ला ? त्यसबेला सम्म हाम्रा छोरी चेलीहरू के त्यसरीनै गोठमा बसिरहनेछन् थोत्रो फरियाको टुक्रो बेरेर, नारित्व लुटाएर ?
सुदुर पश्चिमको एउटा गाउँमा पुग्ने मौका पाएकी थिएँ । मात्र दुई दिनको बसाइ पनि दुई महिनाझै भाथ्यो मलाई । लगभग ३ बजेको हुँदो हो, मुना उसैगरि अध्यारो कोप्चे खोपामा लम्पसार परेकी थी एउटा च्यत्तिएको बिछ्यौनामा । त्यही खोपाको बाहिर बसेर मैले मुनासँग बात मारेकी थिएँ । उसका धेरै कुराहरूले मेरो मुटु मिचेको थियो भने उसका केही वाक्यहरूले मेरो आँखा उघारेको थियो । “दिदी गाउँमा बाटा बने, स्कूल बन्यो तर त्यो स्कूल पुग्नलाई पहिला बाँच्नु पनि त पर्यो, यो चारदिन बाँचिएछ भने अगाडिका पाठ पढिएला ।” “तपाइहरू जस्तै बिदेशमा हुने दाइ दिदीहरूले पैसा पठाएर स्कूल बनाएको हाम्रो गाउँमा, अब कसैले बडेमाको दैलोभा १२—१५ इटा जोडेर एउटा खोपी बनाइदिए अनि जोर खटिया भए बाँचिन्छ ।”
उसका यी चाहनाहरू चाहान नभएर आवश्यकताहरू थिए । गोठमा बस्नुपर्ने र चिसो भूईँमा चारदिन बिताउनुपर्ने बाध्यतालाई पन्छाउँदै उसले ईटाले बनेको भित्तो, खटिया र आफ्नो नारित्व जोगाउन दरो ढोकाको आशा गर्नु छाउपडी रोगको इलाजको पहिलो चरण मान्न सकिन्छ । एउटा समाजले बर्षौदेखि मानि आएको परम्परा मात्र परम्परा नभएर धर्म बनिसकेको हुन्छ र कसैको धर्ममा आघात पर्ने गरि डराई धम्क्याई निर्मूलपार्न खोज्नु भन्दा एक मुनाका आशाका खाँबाहरू बिस्तारै बिस्तारै हरेक मुनाका बस्तिहरूमा २—४ वटा गाड्न सकिने हो भने छाउपडीको भयानक रोग तिनै मुनाहरूका मार्फत समाप्त्त पार्न सकिने छ । जसमा बिभिन्न सँघ सस्थाहरूको र त्यसमा आबद्ध रहेर नेपाली महिलाहरूको निम्ति बिभिन्न सहयोग गर्दै आइरहनुभएका दिदी बहिनीहरूको ध्यान तानिनु अत्यन्तै आवश्यक छ । नजिकिदै गरेको तीज र तीजका बिभिन्न कार्यक्रमहरू भैरहँदा सयौँ मुनाहरूको आवश्यकतालार्ई पनि ध्यानमा राख्दै हाम्रो परोपकारी सस्थाहरूले गर्दै आइरहेको च्यारिटीको छिटा यतापनि पार्ने होकी, मुनाका आवश्यकताहरूलार्ई पूरा गर्न ? तिनै छिटाहरूलाई मल्हम बनाएर छाउपडी जस्तो गहिरो घाउमा दल्नेहो भने कलिला मुनाहरू स्वस्थ्य भएर फक्रिने छन् । परदेशी माटोमा नेपाल र नेपालीको हितकालागि हामीले कोरेको केही बुँदाहरूमा अर्को बुँदा पनि थपौँ । आउँदो बर्षको तीजसम्ममा छाउपडी बस्तिहरूमा “चेली सुरक्षा” नामको केही जग हालौँ ।
अन्त्यमा सम्पूर्ण नेपाली महिलाहरूलार्ई सभ्य र सुरक्षित तीजको शुभकामना साथै महिलाहरूकालागी महिलाहरूसँगै हातेमालो गर्दै सत्कार्यमा अघि बढ्नुहुने पुरुस महानुभावहरूमा पनि तीजको धेरै धेरै शुभकामना ।