कन्जरभेटिजमको कोपभाजनमा माल्कम टर्नबुल, नयाँ प्रधानमन्त्रीमा स्कट मोरिसन

अष्ट्रेलियाका शालीन, अनुभवी र उदारवादी बहालवाला प्रधानमन्त्रीलाई एउटा बिद्रोही गुटले असामयिक र अप्रत्यासित ढंगले सत्ताबाट झारेरै छाड्यो । यहाँनेर कन्जरभेटिभ दर्शनलाई बचाई राख्ने संस्थापन पक्ष र लिबरल भित्रै रहेको उदारवादी पक्षबीचको बिकराल गुट र फुटको कारण यस्तो आत्मघाती काम हुनगएको हो ।
-- महेन्द्र कुमार लम्साल, अावरण सेप्टेम्बर अंक २०१८ / प्रकाशित मिति : सोमवार, भदौ २५, २०७५

राजनीति, आँफैमा एउटा सुन्दर संसार निर्माण गर्ने दर्शन हो । जब यसलार्ई सत्ताको खेल संग जोडिन्छ तव यो निर्मम आत्माहरूले मात्र खेल्न सक्ने सशक्त खेल हो जस्तो देखिन्छ । यहाँ दया, माया, मानवता जस्ता मूल्य र मान्यताहरूको अक्सर प्रवाह हुँदैन । स्वार्थका लागि सत्य र नैतिकता माथि गरिने सम्झौता सामान्य हुन्छ । राजनीति शक्तिको खेल हो र शक्ति प्राप्त गर्नका लागि यसका खेलाडीहरूले नैतिकताको लक्ष्मणरेखा सजिलै कुल्चिन संकोच मान्दैनन् ।

मलार्ई याद छ २०५२ तिरको कुरा थियो, तत्कालिन एमाले प्रधानमन्त्री मनमोहन अधिकारीलार्ई नौ महिना मै प्रतिपक्षी दलले आफ्नो समर्थन फिर्ता लिएर अस्पतालको शैयाबाटै उनको राजिनामा पढ्न लगाएको थियो । यो दृश्य नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भैरहेको थियो र सर्वसाधारण जनताको आँखामा त्यो घटनालार्ई हेर्दा अत्यन्तै निर्मम र अब्यबहारिक देखिन्थ्यो । तर राजनीति गर्नेहरूका लागि भने त्यो कुनै ठूलो बिषय भएन किनकि उनीहरूको अन्तिम लक्ष्य भनेकै सत्तामा जानु थियो ।

अबिकसित र अल्पबिकसित मूलुकहरूमा यस्ता घटनाहरू यत्रतत्र घटी रहछन् । तर बिकसित, प्रजातन्त्र र कानूनी राज्यको पाठ पढाउने देशको राजनीतिमा पनि माथिका हर्कतहरू हुन्छन् भने सामान्य मानिसले सहज रुपमा स्वीकार गर्न सक्दैन र उचित समयमा जनताले उचित सजाए दिन्छन । पदका लागि जनसरोकारका बिषयहरूमा उदासिन बन्दै गूट र फूट घनचक्करमा पर्दा १९९६ र २०१३ मा अष्ट्रेलियन लेबर पार्टीलाई निर्वाचनमा जनताले त्यस्तै सजाए दिएका थिए । यसबाट पाठ सिक्दै हाल बिपक्षी लेबर पार्टी आँफूलार्ई एउटा सबल र पूर्णरुपमा एक ढिक्का भएको शक्तिको रुपमा प्रस्तुत गरेको देखिन्छ भने अर्को तिर सत्तारूढ गठबन्धन सरकार गूट र फूटका कारण प्राप्त जनमत गुमाउने खतरामा छ । यसको ज्वलन्त उदाहरण गत अगष्ट महिनाको तेश्रो हप्ता तिर क्यानबेराको राजनीतिक दृश्यलाई लिन सकिन्छ । अष्ट्रेलियाका शालीन, अनुभवी र उदारवादी बहालवाला प्रधानमन्त्रीलाई एउटा बिद्रोही गुटले असामयिक र अप्रत्यासित ढंगले सत्ताबाट झारेरै छाड्यो । यहाँनेर कन्जरभेटिभ दर्शनलाई बचाई राख्ने संस्थापन पक्ष र लिबरल भित्रै रहेको उदारवादी पक्षबीचको बिकराल गुट र फुटको कारण यस्तो आत्मघाती काम हुनगएको हो । लिबरल भित्रको फुटको यो घाउ छिटै निको हुने देखिदैन । कम्तिमा पनि आगामी २०१९ मे महिनामा हुने संसदको निर्वाचनको परिणाम नभोग्दासम्म लिबरल पार्टी भित्रको आन्तरीक मन मुटाब कम हुने देखिदैन ।

माल्कमको असामयिक बर्हिगमन किन र कसरी ?

लेबर अन्तरिक गूटबन्दीका कारण २०१३ को चुनाबमा सरकार बनाउने मौका गठबन्धनको पोल्टामा पार्यो र टोनी एबोट लिबरल नेशनल गठबन्धनबाट प्रधानमन्त्री बने । आफ्नो लोकप्रियता भन्दा पनि बिपक्षी कम्जोर बनेको कारण प्रधानमन्त्री बन्न पुगेका टोनी एबोटको पक्षमा जनमत त्यति मजबूत बन्न नसकेका कारण १४ सेप्टेम्बर २०१५ का दिन तत्कालिन सूचना तथा संचारमन्त्री रहेका माल्कम टर्नबुलले नेतृत्वका लागि हात उठाए र पार्टी रूममा सम्पन्न निर्वाचनमा मलकम टर्नबुलले टोनी एबोटलाई १० भोटले हराई तत्कालिन बहालवाला प्रधानमन्त्री हटाई आँफू अष्ट्रेलियाका २९औ प्रधान मन्त्री बनेका थिए ।

यसरी दुवै ठुला दलहरू मा नरम र चरमहरूको लहरो तानातान चलिरहन्छ । एकातिर २०१५ मा आँफूलार्ई अपदस्त गरेका माल्कमलाई मौकामा जवाफ दिन टोनी ब्याकबेन्चमा बसी उचित समयको प्रतीक्षा गरिरहेका थिए भने लिबरल पार्टीमा माल्कम टर्नबुल एउटा नरम, उदारवादी र बाताबरण तथा बहुसांस्कृतिक मामिला जस्ता नीतिहरूमा लेबरसंग विचार मिल्ने हुनाले आफ्नै दल लिबरल भित्र कै कट्टरपन्थीहरू बाट उनको बिरोध हुनु पनि मलकम टर्नबुलको असामयिक बहिर्गमनका कारणहरू हुन् ।

आफ्नै दल भित्रको यस्तो विषम परिस्थितिलाई हेर्दा संसदमा झिनो बहुमत प्राप्त दलले समस्यालाई अरु जटिल बनाउन हुँदैन, उचित निकास दिनुपर्छ भन्ने सोची तत्कालिन प्रधानमन्त्री टर्नबुलले पुनः संसदिय दलको नेताको निर्वाचन गराउने निर्णय गरे । तर दोश्रो चरणको प्रतिष्प्रधामा उनले आँफू भाग नलिने घोषणा गरे

पूर्व प्रधानमन्त्री टोनी एबट जो पार्टीमा अति दक्षिणपन्थी पहिचान राख्छन्, पर्दा पछाडिको खेलाडी बनेका उनले उक्त असफल गेममा तत्कालिन गृह मामिला तथा अध्यागमन मन्त्री पिटर डटनलाई अगाडि बढाए । अगष्ट २१ का दिन संसदीय दलको कार्यालय क्यानबेरामा सम्पन्न च्यालेन्जमा तत्कालिन प्रधानमन्त्री माल्कम टर्नबुल ३५ का बिरुद्ध ४८ ले सानदार बिजय हासिल गरे र प्रधानमन्त्रीबाट राजिनामा दिनु नपर्ने देखियो । तर उनका बिरोधी तथा कट्टरपन्थीहरूको रिस मरेन र २४ घण्टा नबित्दै ९ जना मन्त्रीहरूको राजिनामा र ४३ जना सांसदहरूको हस्ताक्षर सहित पुन प्रधानमन्त्री माल्कम टर्नबुललाई बिपक्षीको सामना गर्न चुनौती दिइयो ।

आफ्ना क्याबिनेटका ९ जना मन्त्रीहरूले राजिनामा दिएको अवस्था र ४३ जना संसदहरूले नेतृत्वको लागि निर्वाचन गर्ने माग आँफैमा अस्थिरताको लागि बिकसित अर्को संस्करण थियो । आफ्नै दल भित्रको यस्तो विषम परिस्थितिलाई हेर्दा संसदमा झिनो बहुमत प्राप्त दलले समस्यालाई अरु जटिल बनाउन हुँदैन, उचित निकास दिनुपर्छ भन्ने सोची तत्कालिन प्रधानमन्त्री टर्नबुलले पुनः संसदिय दलको नेताको निर्वाचन गराउने निर्णय गरे । तर दोश्रो चरणको प्रतिष्प्रधामा उनले आँफू भाग नलिने घोषणा गरे पछि अब जे परिणाम आए पनि अष्ट्रेलियाले नयाँ प्रधानमन्त्री पाउने पक्का हुन पुग्यो । फलत अगष्ट २४ का दिन भएको दोश्रो चरणको निर्वाचनमा पिटर डटन र तत्कालिन ट्रेजरर स्कट मोरिसन बीच प्रमुख प्रतिष्प्रधा भै स्कट मोरिशन अष्ट्रेलियाका ३० औं प्रधानमन्त्री बन्न पुगे । जसका लागि र जे उद्देश्यका लागि यती ठूलो राजनीतिक घटना घटाइयो उसका लागि अपेक्षित उपलब्धि हात लाग्न सकेन । लिबरल पार्टी र गठबन्धन सरकार अति दक्षिणपन्थी धारमा जानबाट बच्यो र आर्थिक रुपमा कन्जरर्भेिटभ भएपनि सामाजिक समाजवादी नेता स्कट मोरिसनको नेतृत्वमा नयाँ सरकार गठन हुन पुग्यो । निबर्तमान प्रधानमत्री माल्कम टर्नबुल प्रधानमन्त्रीबाट हट्दै गर्दा पनि यो समग्र घटनामा उनको जीत भएको देखिन्छ । तर गूट र फूटको तिक्ततारूपी ऐजेरु अरु झाँगिदै जाँदा आगामी दिनमा लिबरल नेशनल गठबन्धनले मूल्य चुकाउनु पर्ने निश्चित छ ।

लिबरल पूँजीवादी दल भएकोले देशका अधिकांश पूँजीपतिहरूलार्ई लगानीमैत्री बातावरण सिर्जना गरि धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्ने पक्षमा उभिन्छ भने लेबर पूँजीपतिहरूले रोजगार सिर्जना गर्दै गर्दा कामदारहरूको हक, अधिकार पनि सुनिश्चित हुनु पर्ने कुरामा वकालत गर्दछ ।

अष्ट्रेलियन राजनीति र जनमतको चचहुइ (स्विंग)

सारांशमा भन्नु पर्दा अष्ट्रेलियामा प्रमुख दुई दलहरूले भिन्न खालका राजनैतिक दर्शन अबलम्बन गर्दछन् । ती हुन् लेबर र लिबरल । यिनी दुई दलहरू द्वारा नै देशको सत्ता संचालन हुन्छ । अरु दुई सहयक दलहरू पनि छन् पनि छन् ति हुन् ग्रीन र नेशनल । बाँकि साना दलहरू जस्तै अष्ट्रेलियन कन्जरभेटिभ पार्टी, वन नेशन पार्टी माथिल्लो सदनमा फाट्ट फुट्ट आएपनि राष्ट्रिय अस्तित्वमा हालसम्म आउन सकेका छैनन् । लिबरल पार्टीलाई आर्थिक रुपमा पुँजीबादी र सामाजिक रुपमा कन्जरभेटिभ दलको रुपमा लिइन्छ जो क्रिस्चियन धर्म, परम्परागत मूल्य र मान्यतालाई बचाई राख्नुपर्ने मान्यता राख्छन् भने लेबर एउटा उदारबादी, बहुसांस्कृतिक समाजको पक्षधर र समजवादी दलको रुपमा परिचित छ । लिबरल पूँजीवादी दल भएकोले देशका अधिकांश पूँजीपतिहरूलार्ई लगानीमैत्री बातावरण सिर्जना गरि धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्ने पक्षमा उभिन्छ भने लेबर पूँजीपतिहरूले रोजगार सिर्जना गर्दै गर्दा कामदारहरूको हक, अधिकार पनि सुनिश्चित हुनु पर्ने कुरामा वकालत गर्दछ । जति सक्छौ गर, जति कमाउन सक्छौ कमाउ, सरकारी नियम अनुसार चल, तोकिएको कर तिर सरकारले तिमीहरूलार्ई व्यवसाय मैत्री वातावरण प्रदान गर्दछ भन्ने मान्यतामा आधारित कन्जरभेटिभ नीतिका बिकल्पमा बिपक्षी लेबर पार्टीले देशको श्रोत साधन र सम्पन्नतामा सम्पूर्ण अष्ट्रेलियनहरूको साझेदारी (फेयर शेयर) हुनुपर्ने कुरामा जोड दिन्छ ।

शासनका यी दुवै शैलीहरूका आफ्नै गुण दोष छन् र अष्ट्रेलियन मतदाताहरूले कुनै दललाई पनि लामो शासन गर्न दिदैनन् । निश्चित समयसीमामा पुगिसके पछि जनताहरू परिवर्तन चाहन्छन् र त्यहि आधारमा एजेण्डाका आधारमा कहिले लेबर त कहिले लिबरलको पल्लाभारि हुने राजनीतिक चचहुइ चली रहन्छ ।

अन्त्यमा,

जे होस् माल्कम टर्नबुल आँफू बाहिरिदै गर्दा कम्तिमा पनि सामाजिक उदारवादी नेतालाई गठबन्धन सरकारमा स्थापित गर्न सफल भएका छन् । यसलार्ई उनको सफलता ठानिएको छ । अष्ट्रेलिया संसारको एक सफल बहुसांस्कृतिक देश हो । करिब २०० भन्दा बढी देशका मानिसहरू रहने अष्ट्रेलियामा करिब एक चौथाई नागरिक विदेशमा जन्मेका छन् भने ४० लाख भन्दा धेरै मानिसहरूको बोलचालको भाषा अंग्रेजी बाहेक अरुनै रहेको तथ्यांकले देखाउँछ । त्यो मात्रै होइन, देशको समृद्धि, आर्थिक तथा सामाजिक बिकास र निर्माणमा आप्रवासी समुदायको अभूतपूर्व योगदान छ । यस्तो बहुभाषिक बहुसांस्कृतिक अष्ट्रेलियामा अमेरिका र डोनाल्ड ट्रंप र अष्ट्रेलिया कै पाउलिन हेन्सन जस्तो अतिराष्ट्रवादको आड लिई राजनीतिमा हावी हुन कठिन छ । जुनसुकै सरकार आएपनि सम्बृद्ध अष्ट्रेलियाका लागि सबैप्रति पारस्परिक सम्मान र सद्भाव बढाउने नीति अबलम्बन गर्नुको अरु बिकल्प छैन ।