नेपाल भ्रमणमा विश्वकफ ट्रफी

-- कृष्ण भट्टराई, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५

इङ्ल्याण्ड र वेल्सले सन् २०१९ मा संयुक्त रुपमा आयोजना गर्ने आइसिसि विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अक्टोबर २६ का दिन नेपाल आइपुग्यो । ट्रफीलाई त्यही दिन स्वयम्भुमा प्रदर्शन समेत गरियो । ट्रफीलाई युएईबाट उक्त दिन दिउँसो काठमाडौं ल्याइ पुर्‍याइएको थियो ।
नेपालमा क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक ल्याइएको हो । विश्वका केहि राष्ट्रमा ट्रफी प्रदर्शन गर्ने आइसिसिको कार्यतालिका बमोजिम ट्रफी नेपालमा ल्याइएको आइसिसिकी नेपाल प्रतिनिधि भावना घिमिरेले बताइन् । अक्टोबर २६ मा काठमाडौं आइपुगेको ट्रफीलाई चार दिनसम्म नेपालमा राखिएको हो । ट्रफीलाई अक्टोबर २७ का दिन पोखरा लगियो । पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) सञ्चालन भइरहेको र सम्पूर्ण क्रिकेट खेलाडी तथा पदाधिकारीहरु समेत पोखरामै रहेका कारण ट्रफी पोखरा लागिएको र पोखरा रंगशालामा प्रदर्शन गरिएको बताइन्छ ।
ट्रफिलाई अक्टोबर २७ कै दिन पोखराबाट काठमाडौं ल्याइएको थियो । लगत्तै काठमाडौंको चन्द्रागिरी तथा वसन्तपुर दरवार क्षेत्रमा प्रदर्शनका लागि राखिएको थियो । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । विश्वकप क्रिकेट प्रतियोगिता आगामि वर्ष ३० मे देखि १४ जुलाई सम्म आयोजना हुँदैछ । विश्वकपमा कुल १० राष्ट्रको सहभागिता रहने छ ।

पोखरामा भव्य स्वागत
नेपाल टुरमा रहेको विश्वकपको ट्रफी अक्टोबर १७ का दिन पोखरामा सार्वजनिक गरियो । माछापुच्छ्रेको काखमा चलिरहेको पोखरा प्रिमियर लिगमा विश्वकपको ट्रफी सार्वजनिक गरिएको हो । नेपाली क्रिकेट राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले ट्रफी सार्वजनिक गरेका हुन् । पोखरा ल्याइएको ट्रफी पोखरा रंगशाला क्रिकेट मैदानमा ल्याइएको हो । पोखरा प्रिमियर लिगकै समयमा सार्वजनिक गरेपछि ट्रफीलाई फेवातालको किनारमा समेत सार्वजनिक गरियो । ट्रफी सार्वजनिक गरिरहँदा पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेल बुटवल ब्लाष्टर्स र चितवन राईनोजबीच खेल चलिरहेको थियो । ट्रफी सार्वजनिक गर्न प्रिमियर लिगमा सुरक्षाकर्मी र स्वयंसेवकले सुरक्षा प्रदान गरेका थिए ।

चन्द्रागिरीमा ट्रफी
नेपाल टुरमा रहेको विश्वकपको ट्रफी अक्टोबर २८ का दिन काठमाडौंस्थित चन्द्रागिरीमा सार्वजनिक गरियो । चन्द्रागिरीमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् ।

राष्ट्रपतिको हातमा ट्रफी

विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन् । अक्टोबर २८ का दिन शीतल निवास पुर्‍याइएको उक्त ट्रफीलाई राष्ट्रपति भण्डारीले नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन् ।
उक्त ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुादै इङ्ग्ल्यान्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।