मेलवर्नमा छठ पूजा आज, पहिलो पटक महिला संयोजक 

-- निरु त्रिपाठी, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, कार्तिक २७, २०७५
मधेसी समुदायको सबैभन्दा ठूलो पर्वको रुपमा लिइने छठ पर्व विगत ६ वर्ष यता देखि भिक्टोरीया राज्यका मधेसी समुदायले निकै धुमधामका साथ मनाइदै आएको छ । हरेक बर्षहरु जस्तै यस बर्ष पनि मधेसी कम्युनिटी भिक्टोरियाले छठ पर्व धुमधामसँग मनाउँदै छ। १३ नोभेम्बर अर्थात् आज मङ्गलबार साँझ ४:३० देखी ९:०० बजे सम्म र भोली बिहान १४ नोभेम्बर बुधबार बिहान ५:०० देखि ८:०० बजे सम्म दुई चरणमा हुने बिशेष पुजा एड्वार्ड्स लेक पार्क रिजर्भ्वेयरमा हुने भएको छ।
छठ पूजा सेलेब्रेशन इन मेलबर्न नाम दिइएको कार्यक्रममा प्रमुख आकर्षणका रुपमा सामूहिक प्रार्थना र प्रसाद ग्रहण, म्यूजिकल सेसन, सांस्कृतिक प्रदर्शनी, फोटो सेसन र किड्स फन लगायत रहेको छ । यस पटक छठ पूजाको संयोजन पहिलोपटक महिलाले गरेकी छिन् । श्रीमती रिना देव संयोजक रहेकी छिन् ।
यस कार्यक्रमका लागि प्रमुख अतिथीका रुपमा नेपालका लागि भिक्टोरीयाबाट  अबैतानिक राजदुत चन्द्र योन्जनका साथ साथै बहुसँस्कृतीक मन्त्री रबीन स्कटको उपस्थिती रहने जानकारी मधेसी कम्युनिटी भिक्टोरीयाका अध्यक्ष डा. सुरेन्द्र रौनियारले बताएका छन् । उनले सबैजनालाई यस पूजामा सहभागि भएर यस पर्वको मूल्यमान्यतालाई कदर गरी प्रसाद ग्रहण गर्न आग्रह समेत गरेका छन् र यस कार्यक्रमलाई मल्टिकल्चरल कमिसन भिक्टोरीया तथा नेपाली समुदायका विभिन्न संघसंस्था तथा व्यपार व्यवसायले सहयोग समेत गरेको छ ।