उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्व उमंगताको साथ सम्पन्न

-- निरु त्रिपाठी, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, कार्तिक २८, २०७५

अष्ट्रेलियाको भिक्टोरीय राज्यमा हिजोको अस्ताउँदो सूर्यलाई अर्घ दिएर र आजको उदाउँदो सूर्यलाई पूजागरेर विधिवत् रुपमा छठ पर्व समापन भएको छ । पारिवारिक सुख, समृद्धि र शान्तिको कामनाका लागि मनाएको छठमा ब्रतालु तथा श्रद्धालुहरूले सूर्य देवताको पूजासँगै आफ्नो र परिवारको दुःख, कष्ट र रोगव्याधि नासको कामना गरेका थिए ।

मधेशी कम्युनिटी अफ भिक्टोरियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरियाका बहुसंस्कृतिमन्त्री रविन स्कट थिए भने विशिष्ठ अतिथिको रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन रहेका थिए । त्यसैगरी एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, न्याभका अध्यक्ष तारा गैरे, जिलोंग नेपाली एशोसिएसनका निरज करन्जित, पूर्वप्रधानन्याधिस रामकुमार प्रसाद शा लगायत अन्य विभिन्न नेपाली तथा बहुँसाँस्कृतिक संघ संस्थाका प्रतिनिधि समेत उपस्थित भएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि भिक्टोरियाका बहृसंस्कृति मन्त्री रविन स्कटले आफू विगत केही वर्षदेखि छठ पर्वमा सहभागि हुँदै आइरहेको र हरेक वर्ष भव्य र रमाईलो भइरहेको बताएका थिए । त्यस्तै नेपाली समुदाय शान्तिप्रेमी, मिलनसार र एकअर्कामा एकता पनि रहेको उनले बताएका थिए । अन्त्यमा सबैलाई छठ पर्वको शुभकामना दिदैँ मन्त्री स्कटले हिन्दू धर्मको पनि प्रशंसा गरेका थिए ।

त्यसैगरी नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले कार्यक्रममा बोल्दै छठ पूजाको महिमालाई निरन्तरता दिदैँ यसको महत्व र पहिचानको बारेमा हरेक वर्ष वृहतरुपमा विभिन्न समुदायलाई बुझाईरहेकोमा धन्यवादको साथै छठ पर्वको पनि शुभकामना दिएका थिए । आफ्नो परिवारको भलोको लागि ३६ घण्टाभन्दा बढी बत्र बसेर छठ पूजा गर्ने समस्त बत्रालुहरुलाई पनि कार्यक्रममा योन्जनले विशेष श्रद्धाको साथ सम्बोधन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै मद्येसी कम्युनिटी भिक्टोरीयाका अध्यक्ष डा. सुरेन्द्र रौनियारले छठ पर्वको विशेषताको बारेमा बोल्दै उपस्थित सबैजनालाई धन्यवाद पनि दिएका थिए । कार्यक्रममा पूर्वप्रधानन्याधिस रामकुमार प्रसाद शाहको हातबाट प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत अन्य अतिथिहरुलाई मायाको चिनो स्वरुप जानकी मन्दिरको फोटो दिएका थिए ।

विधिवत पूजा र औपचारिक कार्यक्रम सकिएपछि उपस्थित सबैजनाले प्रसाद ग्रहण गरेका थिए । स्मरण रहोस् मद्येसी समुदायको सबैभन्दा ठूलो पर्वको रुपमा लिइने छठ पर्व विगत ६ वर्ष यता देखि भिक्टोरीया राज्यका मद्येशी समुदायले निकै धुमधामका साथ मनाइदै आएको छ । साथै, यस पटक छठ पूजाको संयोजन श्रीमती रिना देवाले गरेकी थिईन् र भिक्टोरीयाको छठ पर्वको इतिहासमा पहिलोपटक यस पूजाको संयोजक महिलावर्गबाट रहेको छ ।