लेख मार्फत प्राप्त ‘प्रोत्साहन रकम’ विद्यालयलाई

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर २५, २०७५

सिड्नी– बाल लेखक  विपुलमित्र खनालले सिड्नीबाट प्रकाशित हुने दि नेपाली टाइम्स अष्ट्रेलियालाई निरन्तर लेख/रचना उपलब्ध गराए बापत प्राप्त ‘प्रोत्साहन रकम’ विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका छन् । सिड्नीस्थित रक्डेल पब्लिक स्कुलमा अध्ययनरत ९ बर्षीय  खनालले अँग्रेजी माध्यमबाट बाल मनोविज्ञानमा आधारित लेख/रचनाहरु लेख्दै आएका छन् । निरन्तर लेख÷रचना उपलब्ध गराउने खनाललाई थप प्रोत्साहन गर्न नेपाली टाइम्स व्यवस्थापनले उनलाई २ सय डलर (नेपाली करिब १७ हजार रुपैयाँ) उपलब्ध गराएको थियो । सोही रकम आफुले मातृभुमी नुवाकोटस्थित विदुरका एक सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्टेशनगरी सामाग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

‘यो मेरो पहिलो कमाई हो, जुन मैले लेख लेखेर पाएँ, त्यो रकम मैले मेरो गाउँको गरिब तथा जेहेन्दार विद्यार्थी साथीहरुलाई सहयोग गर्न चाहान्छु’, उनले भने । अर्को बर्ष नेपाल जाने तयारीमा रहेका उनले उक्त रकमबाट स्टेशनरी खरिद गरेर विद्यार्थीहरुलाई दिने बताएका छन् । मासिक रुपमा प्रकाशित हुदै आएको नेपाली टाइम्सले लेखकहरुलाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति अनुसार बाल लेखकलाई रकम उपलब्ध गराईएको प्रकाशक महेन्द्र लम्सालले जानकारी दिए । ‘अष्टे«लियामा हामीले नेपाली टाइम्सलाई सबैको साझा पत्रिका बनाउन सफल भएका छौँ, लेखकहरुलाई मनग्ये रकम दिन नसकेपनि हामीले सकेको व्यवस्थापन गर्दै आएका छौँ’, उनले भने ।