नेपाल उप विजेतामा सिमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, माघ ६, २०७५

काठमाडौं- थाइल्यान्डमा भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । लिग चरण र सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल फाइनल खेलमा घरेलु टोली थाइल्यान्डसँग ७० रनले पराजित हुँदै उपविजेता बनेको छ ।

टे«ड थाई क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा थाइल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर २ बलरमा सबै विकेट गुमाएर ५१ रनमा समेटियो । नेपालका लागि नेरी थापाले सर्वाधिक १७ रन जोडिन् । सीता राना मगर १३ रनमा आउट भइन् । सरिता मगर ५, रोमा थापा २, कप्तान रुविना क्षत्री ५ र करुणा भण्डारी ४ रनमा आउट भए । थाइल्यान्डका सुल्ली पोरन लोमीले सर्वाधिक ३ विकेट लिँदा तिप्पोचले २ विकेट आफ्नो नाममा लेखाइन् ।

त्यसअघि ट्रेड थाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १२१ रनको योगफल तयार पारेको थियो । ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो विकेटका लागि १७ ओभरभित्र ९४ रनको साझेदारी गरेपछि थाइल्यान्डले बलियो योगफल तयार पारेको हो । अर्धशतक प्रहार गरेकी चान्थम ६७ बलमा ४ चौका प्रहार गर्दै ६९ रनमा नटआउट रहिन् । चवाईले ४२ बलमा २७ रन जोडिन् । चानिदा सुथिरन्गु १९ रनमा नट आउट रहिन् । नेपालले ७ जना बलर प्रयोग गरे पनि उनीहरूले विकेट लिन सकेनन् । एक मात्र विकेट रन आउटका रूपमा पाएको थियो ।