युएईविरूद्ध टि-20 मा पनि नेपालद्वारा श्रृंंखला कब्जा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, माघ २०, २०७५

काठमाडौं- युएईलाई १४ रनले हराउँदै नेपालले पहिलो टी–२० सिरिज जितेको छ ।

आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा युएईलाई हराउँदै नेपालले सिरिज जितेको हो । यसअघि नेपालले एक दिवसीय सिरिज पनि जितेको थियो ।

नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएईले १० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।

युएईका लागि साइमन अनवरले ३०, गुलाम सब्बिरले २५ र मोहम्मद बोटाले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले नेपाली बलरको धारिलो बलिङसामू खुलेर खेल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे । पारसले १४ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए ।
यस्तै सन्दीपले ११ बलमा २८ र विनादले १३ बलमा २१ रन बनाए भने करण केसीले ५ बलमा १० रनको योगदान दिएका थिए ।

नेपालको सुरुवात भने राम्रो थिएन । पहिलो ओभरमै पवन सर्राफलाई शून्य रनमा गुमाएको थियो भने २ दशमलव ३ ओभरमा १२ रन हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत ११ रनमा आउट भए ।

त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी दुई रनमै आउट भएपछि नेपाल थप दबाबमा परेको थियो । तर चौथो विकेटको लागि कप्तान पारस खड्का र सन्दीप जोराले महत्वपूर्ण साझेदारी गरे । पारस आउट भएपछि आएका विनोद भण्डारी र सन्दीपले पाँचौ विकेटका लागि ३७ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरतर्फ अघि बढाएका थिए ।