अस्मि श्रेष्ठ भइन् मिस नेपाल २०१६

-- / प्रकाशित मिति : शनिबार, चैत्र २७, २०७२

Miss Nepal Winner

काठमाडौं— शुक्रवार राती काठमाडौंमा सम्पन्न मिस नेपाल २०१६ मा चितवनमा जन्मिएकी अस्मि श्रेष्ठले सफलता हासिल गरेकी छिन् । हालै मात्र बिबिएको अध्ययन पुरा गरेकी अस्मिले आफ्ना १८ जना प्रतिस्पर्धिलाई पाखा लगाउँदै ‘मिस नेपाल वल्र्ड’ को उपाधि जितेकी हुन् । अस्मिले अब मिस वल्र्ड २०१६ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । राती अबेर सम्पन्न प्रतियोगितामा अस्मिले मिस इभिनिङ गाउन, मिस फोटोजेनिक तथा मिस इन्टेक्च्युल गरी तीन वटा टाइटल एवार्ड समेत जितिन् ।
दरबारमार्गस्गित अन्नपूर्ण होटलमा सम्पन्न प्रतियोगितमा रोशनी खत्रीले मिस नेपाल अर्थको उपाधि जित्न सफल भइन् । वर्षा लेखीले मिस नेपाल ईन्टरनेशनलको उपाधिमा कब्ज जमाइन् । खत्री तथा लेखीले क्रमश: मिस अर्थ २०१६ तथा मिस ईन्टरनेशनल २०१६ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगितामा प्रेरणा अधिकारले मिस स्कलर तथा मिस ब्युटिफुल स्किनको उपाधि जितिन् भने फस्ट रनर्स अपको उपाधि जित्ने रोशनी खत्रीले मिस कन्फिडेन्ट र मिस पर्सनालिटीको उपाधि जितिन् । टप फाइवमा पुग्न सफल प्रतियोगिताकै एक दावेदार सिर्जना रेग्मीले मिस ट्यालेन्टको उपाधिमा चित्त बुझाइन् । ट्यालेन्ट शोमा सिर्जनाले कविता वाचन गरेकी थिइन् ।
प्रतियोगितामा गीतकार राजेन्द्र थापा, अभिनेता जीवन लुईंटेल, गायिका ईन्दिरा जोशी, टेलिभिजनकर्मी संगीता श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत आदि निर्णायकको रुपमा रहेका थिए ।


तस्बिर : कृष्ण भट्टराई