भेनेजुएलामा राजनैतिक संकट

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५

भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवा“ गुएइदोलाई देश नछाड्न आदेश दिएको छ । आफैंले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले आदेश दिएको जनाइएको छ । गुएइदोका विरुद्धमा महान्यायाधिवक्ता तारेक विलियम साबको मागअनुसार अदालतले यस्तो फैसला गरेको अधिकारीहरुले बताएका छन् । विपक्षी नेता गुएइदोले देशको शान्ति सुव्यवस्थामा असर पारेकाले देश छाड्न नपाउने आदेश दिन महान्यायाधिवक्ताले माग गरेका थिए । गुएइदोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि कतिपय जनता र निकायले उनलाई समर्थन गरेपनि सर्वोच्च अदालतले भने उनको विपक्षमा मत जाहेर गरेको थियो । लामो राजनीतिक संघर्षका कारण चरम आर्थिक संकट भोगिरहेको भेनेजुएलामा पछिल्लो समय राजनीतिक द्वन्द्व थप चर्किदै गएको छ । द्वन्द्व बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् । विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर राष्ट्रपति निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो । निर्वाचन निष्पक्ष हुन नसक्ने भन्दै विपक्षीहरुले निर्वाचन बहिस्कार गरेका थिए । विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उनले यही जनवरी १० मा शपथ ग्रहण गरेका थिए । उनको शपथस“गै देशभरि विरोध प्रदर्शनहरू भएका थिए । त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मदुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुएइदोको समर्थन गरेका छन् । चीन, रुस लगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिंदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार अहिले भएका विरोध प्रदर्शनका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ । खाद्य तथा औषधिजस्ता अत्यावश्यक वस्तुको अभाव र अत्यधिक महंगीका कारण लाखौं नागरिक भेनेजुएलाबाट विस्थापित हुनेक्रम बढेको छ ।