न्याय पाइन् गायिका रेखा शाहले

-- / प्रकाशित मिति : मङ्लबार, चैत्र ३०, २०७२

Rekha Shah

काठमाडौं- काठमाडौं जिल्ला अदालतले गायिका रेखा शाहविरुद्ध लगाइएको मुद्दा खारेज हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको मंगलबार बसेको इजलाशले शाहविरुद्ध प्रहरीले लगाएको अभियोजन आधारहीन भन्दै उनलाई अभियोगबाट सफाइ दिएको हो । सफाइ पाएपछि शाहले प्रेस विज्ञप्ती जारी गर्दै अदालतको फैसलाले आफ्नो प्रतिष्ठामा उठेको प्रश्नलाई केही साम्य पारे पनि हिरासतमा दस दिन बस्दा प्रहरीबाट भएको दुब्र्यबहारले भने अझै मर्माहत भएको बताएकी छन् ।
‘ममाथि लगाइएको कपोलकल्पित झूठा मुद्दा र १० दिनको हिरासतले मेरो व्यक्तिगत जीवनमा पर्न गएको क्षति र प्रतिष्ठामा उठेको प्रश्नलाई अदालतको न्यायिक निरोपणले एक हदसम्म शान्त पारे पनि’ उनले भनेकी छन्, ‘प्रहरीको ज्यादती र हिरासतमा औषधिसमेत खान नदिई गरिएको दुव्र्यवहारले भने अझै पनि म मर्माहत छु ।’ प्रहरीले २०७२ पुष २७ गते उनी विरुद्ध मुद्दा दायर गरेको थियो । पहिलो सुनुवाइमा उनलाई अदालतले सामान्य तारेखमा छाडेको थियो भने मंगलबारको दोस्रो सुनुवाइमा मुद्दा खारेज भएको हो । यसरी सरासरी मुद्दा खारेज हुनुले नै प्रहरीको अभियोग झुठा भएको पुष्टि भएको भन्दै उनले आफूमाथि अनावश्यक दु:ख दिने काम भएकामा खेद व्यक्त गरेकी छन् ।
‘मेरो जीवनको अमूल्य ४ महिना झूठा अभियोगको सामना गर्दा अतिशय कष्टमा बित्यो । झूठा मुद्दा लगाउने प्रहरी अधिकृतबाट यसको क्षतिपूर्ति दिलाइदिन र उचित कारबाही गरिदिन’ उनले भनेकी छन्, ‘म राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग र नेपाल सरकार तथा मानव अधिकारको पहरेदारी गर्ने नेपालस्थित अन्तर्राष्ट्रिय संस्था र तिनका प्रतिनिधिलाई आग्रह गर्दछु ।