अष्ट्रेलियाको नेपाली समुदाय र विद्यार्थी

-- विकाश दवाडी / प्रकाशित मिति : शनिबार, असार ७, २०७६

अष्ट्रेलिया त्यसमा पनि सिड्नीमा रहेका हामी तमाम नेपालीहरू यस अर्थमा अझ धेरै भाग्यमानी छौं कि हामीले यता वर्तमान विश्वकै उच्च तवरको जीवनशैली मात्र जीउँदै छैनौं नेपालभन्दा बाहिर विदेशमै रहेर पनि नेपाली समुदाय सँगै जीउन घुलमिल रहन र समुदायमै रहेर विविध सामुदायिक कार्यक्रममा पनि हप्तै पिच्छे यात दिनै पिच्छे सरिक हुन पाएका छौं । सायद केही मध्यपूर्वी एशियाली मुलुकलाई छाडेर विश्वभर छरिएर रहेका नेपालीहरूको कुरा गर्ने हो भने संसारको कुनै पनि एउटा सुविधा सम्पन्न शहर जहाँ नेपालीको बाक्लो जनघनत्व र बलियो सामुदायिक उपस्थिती छ भने त्यो अष्ट्रेलियाको सिड्नी नै हो भन्दा अनुपयुक्त नहोला । तसर्थ यहाँ रहेका नेपाली समुदाय, यसलाई नेतृत्व गरिरहनु भएका समाजका विभिन्न व्यक्ति वा संघ संस्थाहरूले दिनुहुने मार्गदर्शन र प्रेरणले वर्तमान अष्ट्रेलियामा रहेको नेपाली समुदायमात्र विश्वमै अन्य मुलुकमा रहनुभएका नेपाली र नेपालमै रहनुभएका नेपालीहरूका बीच पनि एउटा छुट्टै अस्तित्व तथा प्रभाब राख्दछ भन्ने लाग्छ कारण वर्तमान धेरै नेपाली युवा विद्यार्थीको आकर्षणमा रहेको यस्तो शहर हो जसले एउटै नेपाली समुदायको फरक फरक पुस्ताको प्रतिनिधित्व गर्दछ । आ–आफ्नो उमेर र अवस्था अनुसार विद्यार्थी, कर्मचारी, व्यवसाय आदि आदिको रुपमा ।

सामान्यतयाः यस विकसित मुलुकले अवलोकन गरेको अध्यागमन नीति तथा भेदभाव रहित व्यवहार र केही खुकुलो विद्यार्थी भिसाले गर्दा प्राय : धेरै नेपालीहरूको पहिलो खुट्किलो अष्ट्रेलियामा विद्यार्थीको रुपमा नै रहेको पाइन्छ । केही वर्षसम्म यहाँको कलेज वा विश्वविद्यालयको अध्ययन पश्चात प्राप्त हुने विभिन्न सुविधाहरूको उपयोग गर्दै निरन्तरको मेहनत, कठोर परिश्रम र धैर्यता सँगै प्राप्त गर्ने सन्तोषजनक परिणामले गर्दा नेपालीहरू उच्च श्रेणीको कोटीमा आँफूलाई सावित गर्दै अन्य राष्ट्रका समुदायको लागि पनि उदाहरण बनेको हामीले सुनेका र देखेका छौं । जब कुनै अमुक व्यक्ति प्लस टु वा ए लेभल अध्ययन पश्चात एउटा सपना पालेर विद्यार्थीको रुपमा अष्ट्रेलिया भित्रिन्छ, निश्चय नै काठमाडौंको एयरपोर्टमा गलामा माला अनि निधारमा रातो टीका लगाएर धिपिक्क बलेको अनुहारमा जुन उत्साह, उमङ्ग र निस्फिक्रिताको राप देखिन्छ, पक्कै पनि अष्ट्रेलियाको सुरुवाती दिनहरू खर्चिलो जीवन, कामको रनक, पढाइको बोझले कठिन भएतापनि र यहाँको जीवनशैलीमा अभ्यस्त हुन केही समय लागेपनि समग्रमा नेपालीहरूले यहाँ देखाएको मिहिनेत, कमाएको विश्वास र छोटो समयमै गरेको प्रगति विश्वका अन्य सुविधासम्पन्न मुलुकका व्यक्तिहरू बीचपनि प्रेरणाको स्रोत बनेको देखिन्छ ।

बास्तवमै जति जति नेपाली समुदायको उपस्थिति बढ्दै गयो या त नेपालीहरूले विभिन्न पेशामा आँफूलाई परिपक्क बनाउँदै गयो यसको सकरात्मक प्रभाव पछिल्लो पुस्तामा रहँदै जान्छ । लाग्दछ आज धेरै भन्दा धेरै नेपालीहरूले शैक्षिक संस्थामा गरेको लगानी र समयको उपज नै नेपालीहरूको पछिल्लो निरन्तर आगमनको कारण हो । त्यसैले त नेपालकै कुरा गर्दा पनि अष्ट्रेलियामा काठमाडौं, चितवन, झापा, पोखरा, विराटनगर यात बुटवल क्षेत्रका नेपालीहरूको उपस्थित बाक्लो देखिन्छ । यहाँ अष्ट्रेलियामा नेपालीहरूबाट संचालित संघ संस्थाहरूले आफ्नो शाखा विस्तार गरेका छन् । तसर्थ नेपाली समुदायका धेरै व्यक्तिहरू संलग्न रहेको संस्था शैक्षिक संघ संस्थाहरूको मिहिनेत, सञ्चार, सम्पर्कले नै दिनानुदिन प्लस टु पछाडिको पुस्ता निरन्तर आगमन भइरहेको छ भन्दा फरक नपर्ला । तथापि कतिपय अवस्थामा नेपालमा रहेका विद्यार्थीहरूलाई प्लस टु वा ए लेवल पछाडि विदेशीनै पर्ने चाहना वा रहर साथै यहाँ रहेका विभिन्न शैक्षिक संस्थाहरूका अपरिपक्क सुझाब यात आर्थिक प्रलोभनको मात्र चाहनाले पछिल्लो समयमा शैक्षिक क्षेत्रमा सेवा भन्दा पनि मेवाको चाहनाले धेरै विद्यार्थीहरू अनिश्चित भविष्यको खाडलमा परेको पनि पाइन्छ । यद्यपि यसको निमित्त यहाँ क्रियाशिल विभिन्न संघ संस्था यात नेपाली समुदायकै अग्रजहरूले अग्रसरता देखाइरहेतापनि यसमा सम्मिलित उल्लेखनीय व्याक्तिहरू फेरीपनि कुनै न कुनै रुपमा विद्यार्थीहरूको शैक्षिक गतिविधीमा संग्लग्न रहने गर्नाले कताकता आँफू वा आफ्नो संस्था अनुकुल प्रभावमात्र समुदायमा देखाउन वा गराउन लागि परेको पनि पाइन्छ ।

अतः अष्ट्रेलियामा रहेका विभिन्न पुस्ताहरू मध्येको अघिल्लो पुस्ता जो समय, परिस्थिति, संघर्ष, भोगाइ, मिहिनेत र अवस्थाको कारण निश्चय नै परिपक्क र आत्मविश्वासी छ । यसले जीवनको करिवन आधाआधि बसन्त पार गरिसकेको छ र सम्पूर्ण हिसाबमा अष्ट्रेलियालाई नै कर्मभूमि ठान्दै आँफू पछाडि यानेकि छोराछोरीको भविष्य पनि यहाँ नै देखिएको छ । हो साँच्चिकै अघिल्लो पुस्ताको नेतृत्व अनुभव तथा अनुसरण नै पछिल्लो पुस्ताको लागि मार्गदर्शन र प्रेरणाको स्रोत हो । तथापि पछिल्लो पुस्ता यानेकी विद्यार्थीमा परेको एउटा नकरात्मक प्रभाव के हो भने समुदायलाई प्रतिनिधित्व गर्न अगाडि तम्सन समुदायमा अग्रणी भूमिकामा आफूलाई देखाउन चाहने धेरै भन्दा धेरै व्यक्तिहरू कुनै न कुनै रुपमा समुदायमा आफूले गरेको मिहिनेत सहयोग र आफ्नो नाम वा समुदायमा निर्वाह गरेको भूमिकाको प्रभाव कुनै न कुनै रुपमा आफ्नो व्यवसायमा पार्न चाहन्छन् ताकि ती व्यवसाय कुनै न कुनै रुपमा नेपाली समुदायसँग प्रत्यक्ष जोडिन्छन् ।

तसर्थ पछिल्लो चरणमा चाहे एनआरएनए चुनाबमा धेरै भन्दा धेरै नेपालीहरूको सहभागिता वा यसको नेतृत्व छान्ने प्रक्रियामा अष्ट्रेलियामा रहेका उत्कृष्ट शिक्षित व्यक्तिहरू भन्दा पनि औषत शिक्षित र बढी व्यवसायीहरूको चाहना र लगनशिलता नै बढी देखिन्छ । जस्को व्यवसाय विशेषतः नेपाली समुदायप्रति नै लक्षित हो । यसकारण विद्यार्थीहरूको मनमा पसेको यो तीतो यथार्थलाई चिर्नको लागि र धेरै भन्दा धेरै नेपालीहरूलाई एनआरएनए तथा सामुदायिक अन्य गतिविधी तर्फ सकरात्मक चिन्तनका साथ आकर्षण गर्नको निमित्त आगामी दिनमा व्यवसायी मात्र होइन कि समाजका पढेलेखेका, विद्धान, अनुसन्धानमूलक क्षमता भएका तर व्यवसायिक स्वार्थ नभएका व्यक्तिहरूलाई पनि समाहित गर्न सकियो भने यसको मर्यादा बढ्नुको साथै पछिल्लो पुस्ताको चाहनाको सम्बोधन पनि हुन सक्थ्यो कि !