चलचित्रकर्मीले पाए सरकारी परिचयपत्र

-- / प्रकाशित मिति : सोमवार, बैशाख ६, २०७३

Celebrity Card

काठमाडौं— चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याइरहेका १३ जना चलचित्रकर्मीलाई नेपाल सरकारले ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । वरिष्ठता तथा चलचित्र क्षेत्रमा उनीहरुले पुर्‍याएको योगदानको कदर गर्दै चलचित्र विकास बोर्डको पहलमा उनीहरुलाई यस्तो कार्ड प्रदान गरिएको हो । सोमबार सञ्चार मन्त्रालयमा आयोजित एक समारोहमा सञ्चारमन्त्री शेरधन राईले वरिष्ठताको आधारमा चलचित्रकर्मीलाई उक्त कार्ड हस्तान्तरण गरेका हुन् ।
रातो रंगको उक्त परिचय पत्र विशिष्ठ कलाकारलाई प्रदान गरिएको हो । विशष्ट श्रेणीको उक्त परिचयपत्र पाउनेहरुमा नीर शाह, हरिप्रसाद रिमाल, यादव खरेल, भुवन चन्द, बसुन्धरा भुसाल, चेतन कार्की, किरण खरेल, लक्ष्मीनाथ शर्मा, शुभद्रा अधिकारी, शकुन्तला शर्मा गुरुङ, उद्धव पौडेल, मञ्जुकुमार श्रेष्ठ तथा गेहेन्द्रप्रसाद धिमाल छन् ।
समारोहमा सञ्चारमन्त्रालयका सचिव दिनेश थपिलयाले पहिलो चरणमा विशिष्ट श्रेणीका कलाकारलाई कार्ड हस्तान्तरण गरिएको बताउँदै दोस्रो चरणमा नीलो रंगको ‘वरिष्ट चलचित्रकर्मी’ परिचयपत्र तथा तेस्रो चरणमा हरियो रंगको ‘सामान्य चलचित्रकर्मी’ परिचय पत्र वितरण गरिने जानकारी दिए ।
विशिष्ट श्रेणीको परिचय पत्रका लागि लागि समयावधी नतोकिएपनि अन्य परिचयपत्रको लागि निश्चित समयावधी तोकिने बताइएको छ ।
तस्बिर : उत्सव रसाइली/न्यूजपेजथ्रि डटकम