-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन ८, २०७६

काठमाडौं– बलिङमा पुनः कमजोरी देखिए पनि ज्ञानेन्द्र मल्ल लयमा फर्किएपछि नेपालले जित्नैपर्ने खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । चोटका कारण पारस खड्का मैदानबाहिर रहेको अवस्थामा कप्तानी पारी खेल्दै ज्ञानेन्द्रले २१ रनमै ५१ रन बनाए ।

लामोसमयदेखि राष्ट्रिय टोलीमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका ज्ञानेन्द्रलाई अर्धशतकसहितको जितले ठूलो राहत दिलाएको छ । मंगलबार कतारसँग स्तब्ध भएको नेपालका लागि बाँकी खेलमा जितका विकल्प थिएन ।

ब्याटिङकै कारण कतारसँग ४ विकेटले पराजित भएपछि बुधबारको खेलमा ललितनारायण राजवंशीको ठाउँमा रोहितकुमार पौडेललाई स्थान दिइएको थियो ।

वर्षाका कारण ९ ओभरमा सिमित खेलमा मलेसियाले ७ विकेटको क्षतिमा नेपाललाई ८४ रनको सम्मानजनक लक्ष्य दिएको थियो ।  तर, नेपालले ८ ओभरमै जित हासिल गर्‍यो ।

नेपालका लागि पारसको स्थानमा ओपनिङ गर्न आएका प्रदीप ऐरीले फेरि पनि आफूलाई सावित गर्न सकेनन् । उनले १४ बलमा १२ रनमात्र बनाए ।

दीपेन्द्रसिंह ऐरी पनि २ रनमै आउट भएपछि विनोद भण्डारी र शरद भेषवकर क्रमशः १३ र २ रनमा अविजित रहे । मलेसियाका लागि मुहमद स्याहादत एक्लैले ३ विकेट लिए ।

नेपालका लागि भने सोमपाल कामी ३ विकेट लिए । उनले पहिलो ओभरमै दुई ओपनरलाई शुन्य रनमै पभेलियन फर्काएपछि नेपाललाई सहज भएको थियो ।

१५ बलमा ३० रन बनाएर विष्फोटक ब्याटिङ गरिरहेका मलेसियाका सइद अजीजलाई स्टार क्रिकेटर सन्दीप लामिछानेले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए । १७ बलमा २१ रन बनाइसकेका विरनदीप सिंहलाई अनुभवी बसन्त रेग्मीले सन्दीपकै हातबाट क्याच गराएका थिए ।

नेपालले अब सिंगापुर र कुवेतसँग खेल्नुपर्नेछ ।