अदालती कसीमाः आत्महत्या गर्न दुरुत्साहन

-- अधिबक्ता सरोज घिमिरे / प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

जीवको अन्तरनिहित गुणलाई पूर्वीय दर्शन शास्त्रमा सत्, रज र तम गुणमा विभाजित गरिएको छ । तम गुण प्रधान जीवमा अपराधिक हिंश्रक, मनोवृत्ति हुन्छ, यस्ता जीवमा पशु पन्छी, जलचर, उभयचर वर्ग पर्दछन् । तम गुणका प्रभावितहरू अरुका अहित हुने अपराधिक काममा लगाउने, व्यक्ति, परिवार, समाज तथा राष्ट्र विरुद्ध काम गर्दछन् । त्यस्तो काम गर्नेलाई निरुत्साह पार्न समाज तथा राष्ट्रले दण्ड सजायको व्यवस्था गरेको हुन्छ ।

समाजको परिवर्तित अवस्थाले अपराध पनि गतिशील बन्दै गएको छ त्यसैले अपराधिक कर्म अगाडि र त्यसलाई नियन्त्रण गर्ने ऐन कानून पछाडि परेको देखिन्छ । अपराध शास्त्रले ऐन कानूनले निषेध नगरेका कार्य गर्दा कसुर हुदैन भन्ने मान्यताले अपराधिक कार्य अगाडि भएका हुन् । समाजको विकासशील गतिको अपेक्षा राखी दण्ड विधान बनाउन सहज नभएकाले अपराधीहरू कानुनको छिद्र पहिल्याइ आफ्नो स्वार्थ सिद्धि र बचाउको साधन बनाएको पाइन्छ ।

सामान्यतया, अपराधलाई प्रत्यक्ष अपराध र परोक्ष अपराध गरी २ तहमा विभाजन गरिएको पाइन्छ । प्रत्यक्ष अपराधमा कसुर गर्ने व्यक्ति परिचित हुन्छ । कसुर गर्नु पूर्व अपराधको मनसाय लिन्छ, के साधनबाट अपराध गर्ने भनी साधन तयारी गर्छ र ती साधन प्रयोग गरी अपराध गर्दछ । उसको कार्य, राज्य, कानून व्यवस्था तथा समाज विरुद्ध हुन्छ । कसुर परिमाणको अनुपातमा दण्ड सजाय पाउँछ । राज्यले पनि अपराध र कसुर स्थापित गर्न दसी प्रमाण, साक्षी बुझ्ने, विशेषकको राय लिने गर्छ ।

नेपालको साबिक मुलुकी ऐनमा अपराध वा कसुर गर्नेलाई अभियुक्त र अपराध ठहर हुने काम गर्न हौसाउनेलाई वा प्रेरित गर्नेलाई मतियारा भनिएको थियो । मतियारालाई कसुरको बात लाग्दथियो । ठगी गरी ल्याएको माल लिएर खाने मतियारालाई ठगी गर्नेलाई हुने दण्ड सजायको बराबर दण्ड सजायको व्यवस्था गरिएको थियो । अन्य अपराधमा मुख्य अभियुत्तलाई दण्ड सजायको आधा दण्ड सजाय मतियारलाई दिइन्थ्यो। यो ऐन विस्थापित गरी मुलुकी अपराध संहिता २०७४ बनाई २०७५, भाद्र १ गते देखि लागु गरिएको छ । यस संहिताको भाग १ परिछ्चेद २ मा अपराधिक षडयन्त्र, उद्योग, दुरुत्साहन र मतियारा गरी मूल अभियुक्तको साथ दिने, अन्यलाई पनि कसुरदारमा राखी साबिक ऐनमा नभएको अपराधिक कार्य गर्न दुरुत्साहन गर्नेलाई दण्ड सजायको व्यवस्था गरिएको छ । दुरुत्साहन अपराधजन्य कसुरमा पर्दछ । यो शब्दको शाव्दिक व्याख्या अपराध संहिता २०७४ मा नगरिएकोले शब्दको बनोट आसयलाई व्याख्याका स्वर्णिम व्याख्या र संहिताको प्रस्तावनालाई आधार बनाएर गर्नु पर्ने हुन्छ । दुरुत्साहन शब्दको उत्पति संस्कृत भाषाको दुर ं उत्साह ं हन् को योग बाट भएको पाइन्छ । उत्साहले काम गर्ने मनोवृत्ति, हौसला, प्रेरणालाई जनाउँछ । परन्तु दुर उपसर्गले उत्साहको विपरित अर्थ जनाउने र त्यसलाई पुष्टि गर्न हन् शब्द जसको अर्थ चोट पुर्याउने, नास गर्ने भएबाट दुरुत्साहन शब्द नकारात्मक (लभनबतष्खभ) कार्य गर्न प्रेरणा दिने अर्थमा बुझिन आउँछ । छद्म रुपमा रहेका सफेदपोशी अपराधिक मनोवृतिका व्यक्तिको डर, त्रास र उक्साहटलाई निषेध गर्न विधाइकाले अपराधको दुरुत्साहन गर्नेलाई सजायको व्यवस्था गरेको हो । यो व्यवस्थाले अपराधको सतहमा अनुशन्धान गरी जिम्मेवारी पन्छाउने अभियोजकहरूलाई थप अनुशन्धानको कार्य भार दिएको छ । त्यस्तै सिधा साधालाई गफलत वा प्रभाव वा दुष्प्रभाव पारी अपराध गर्ने गराउनेहरूलाई आफ्नो कसुरबाट उम्किन नपाउने व्यवस्था पनि गरेको छ ।

आज विज्ञान का साधनहरू दिनादिन बढ्दै गएका छन् । ती साधन बाट मानिस जेलिएको छ । ती साधनलाई दुरुपयोग गरी अपराध गर्न र गर्नु पर्ने अवस्था सिर्जना गर्ने वा आफूले चाहेको कुरा नमान्ने नगर्नेलाई बेइज्जती गर्ने, धाक धम्की दिने र सो कारणले पीडित समाप्त हुने घटना घट्न थालेकोले त्यस्तो दुरुत्साहन गर्नेलाई दण्ड सजाय गर्नुपर्ने माग भएकोले, राज्यले दुरुत्साहन गर्नेलाई सजाय गर्न ऐन बनाएको हो । दुरुत्साहन गर्नेलाई पाचँ वर्षसम्म कैद र पाँच लाख रुपैयासम्मको जरिवाना हुने व्यवस्था गरिएको छ । आत्महत्या दुरुत्साहनको व्याख्या सिमित रुपमा गरीएको र अदालतले समेत व्याख्या गरेको अवस्था छैन । आत्महत्याको तथ्याङक हेर्ने हो भने डरलाग्दो देखिन्छ । विश्व स्वास्थ्य संगठनको अनुशन्धान प्रतिवेदन प्रिभेन्टिभ सुसाइड  अ ग्लोबल एम्परेटिभ हेर्ने हो भने विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गरेको देखिन्छ । यो अर्थमा आत्महत्या गर्नेको संख्या वार्षिक आठ लाख हुन आउँछ ।

उक्त प्रतिवेदनमा नेपाल बढी आत्महत्या हुने देशको सूचीमा पर्न आउँदछ । जस अनुसार करिब ६ हजार मानिसले प्रत्येक वर्ष आत्महत्या गर्दछन् । आत्महत्याको यो तथ्याङकलाई दुरुत्साहनको आधार, कारण मान्ने हो भने त्यो स्थिति भयकर हुन आउँछ । यदी आत्महत्या मात्र मान्ने हो भने, अपराधीहरू अपराधिक दुरुत्साहनबाट उम्किन्छन् । तसर्थ, आत्महत्याको अवस्था सिर्जना गर्ने वा आत्महत्या गर्ने दुरुत्साहन गर्ने, अपराधिक कार्यको प्रमाण, कारण उद्देश्य यकिन नगरी आत्महत्या गर्नेको सुसाइड नोट, भिडियो, अडियो वा वार्तालापमा मात्रै निर्भर गर्ने हो भने प्रत्येक आत्महत्या दुरुत्साहनको परिणाम हुन पुग्दछ । तसर्थ, यसको व्यापक विश्लेषण अनुशन्धान, निडर स्वतन्त्र र विधि शास्त्रीय न्यायिक मन साथै अन्य देशका कानून नजीरको अध्ययन महत्वपूर्ण हुन आउँछ ।

उदाहरणको लागि चितवन जिल्लामा घटेको बासुदेव पुडासैनी समेतको जाहेरीले नेपाल सरकार वादी र रवि लामिछाने समेत प्रतिवादी भएको ०७६–C१–००४७ नं. को चितवन जिल्ला अदालतमा दायर भएको “आत्महत्या गर्न दुरुत्साहन मुद्दा” लाई लिन सकिन्छ । यो मुद्दा दुरुत्साहन कसुरको पहिलो मुद्दा हो । यसमा सालिकराम पुडासैनी, होटलको एक कोठामा बसेर गञ्जी र कट्टु लगाएको अवस्थामा मर्नु पर्ने कारण खुलाई भिडियो रेकर्ड गराउँछन् र जाहेरी पर्नु पूर्व रेकर्ड सञ्चार माध्यममा पुग्दछ । कपडा बदली घाँटीमा पासो लगाइ आत्महत्या गरेको लास जाचँमा देखिन आउँछ । सालिकरामको रेकर्ड मृत्युकालिन घोषणा हो वा होइन, रेकर्ड र मृत्युको समय कति अन्तर छ भन्ने एक प्रश्न र सालिकरामले आत्महत्या गर्नु को कारण रवि लामिछाने, युवराज कडेल र अस्मिता कार्कीले दुरुत्साहन गरेकाले हो होइन भन्ने अर्कै प्रश्न छ । यस मुद्दामा रवि लामिछाने र युवराज कडेल नगद धरौटी राखी मुद्दा पूर्पक्ष गर्दै छन् । अपराध संहितामा व्याख्या नगरिएको दुरुत्साहन शब्दको व्याख्या गर्ने अभिभारा अदालतमा आएको छ । यो मुद्दा नेपालको न्यायिक इतिहासमा अपराधिक दुरुत्साहन कसुरको पहिलो मुद्दा बन्न गएकोले, हेरौँ अदालतबाट दुरुत्साहन शब्दको व्याख्या कस्तो गरिने छ ।

(Asst. Prof of law TU,  is Treasurer Supreme Court Bar Association and Managing partner of Himalayan Lawyers & Associates. Ghimire can be reached at himalayanlawyers@gmail.com )