एनआरएन : समाजसेवा कि ग्ल्यामर ?

-- विकास दवाडी / प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६

संसारको सर्वश्रेष्ठ प्राणी हामी मानव जाति स्वभावैले समुहमा बस्न, रहन र घुलमिल हुन रुचाउँछौं । संकट, कष्ट वा आपत आइलाग्दा मात्र होइन कि सफलता र हर्षले पछ्याउदापनि हामी यसलाई नबाँडिकन बसिरहन सक्दैनौं । हो तवमात्र हामी आफूलाई हलुका वा आनन्दित महसुस गर्दछौं जव हामी हाम्रो मनमा मन्थन वा भावना व्यक्तिबाट समुहसँग बाँडफाँड गर्न पाउँछौं । त्यसैले त व्यक्ति, व्यक्तिबाट बनेको परिवार समाज वा समुहमा धेरै आयाम बोकेका संघ संस्थाहरुको उपस्थिति सुन्न र देख्न पाइन्छ जसको एउटै साझा उद्देश्य भनेकोनै धेरै भन्दा धेरै व्यक्तिहरुको संग्लग्नता र सहभागिता रहन आउँछ ।

विश्व मानवविकासको प्राचीन सभ्यतादेखि आधुनिक सभ्यतासम्म केलाएर हेर्ने हो भने मानवजातिले अनबरत अँगालिरहेको र पछ्याइरहेको स्थिति हो बसाइ सराईँ अर्थात Migrations । हो सामान्यतयाः एक पुस्ता संसारको कुनै एक स्थानमा रहेर उक्त स्थानलाई नै कर्मथलो बनाउन तल्लिन रहँदै गर्दा त्यस पछाडिको अर्को पुस्ता स्वभाविकै आँफूलाई अन्य नयाँ, नौलो, आधुनिक र विकसित स्थानमा स्थापित गराउन उद्दत रहन्छ । सायद समयसँगै गगिरहन चाहने उपज नै संसारको गतिशिल परिवर्तन र विकासको कारण हो । यो बसाईसराई या त मानवजातिले खोजेको अनि चाहेको वरिवर्तनको दायरापनि दिनानुदिन झनझन फराकिलो हुँदैछ । जस्तो हजुरबुबाले चाहनुभएको परिवर्तन स्वदेशभित्र नै पहाडबाट तराईको बासाईसराई थियो, बुबाको मनको चाहना जिल्ला सदरमुकाम यात राजधानी थियो भने फेरी हाम्रो आफ्नै चाहना चाहीँ संसारमै अग्रस्थानमा रहेका विकसित मुलुकहरुको जीवनशैली सँगै आधुनिक सुविधाहरु उपभोग गर्दै जीउनु रह्यो । हो साँच्चिकै मानवजातिमा रहेको नयाँ, नौलो र रहस्यमयी तथ्यहरुसँग आफूलाई अभ्यस्त गराउँदै निरन्तर परिवर्तनलाई आत्मसाथ गर्न चाहिरहने गुणले गर्दा हामी नेपालीहरु पनि नेपालमै जन्मेपछि संसारका विभिन्न देशहरुमा आआफ्नो कर्मशील दिनहरुको अनुभव लिइरहेका छौं ।

यसरी संसारभर छरिएर बसेका हामी नेपालीहरु एउटै मालामा गाँस्नको निमित्त नेपाली समुदायका अग्रज व्यक्तिहरुले करिव डेढ दशकदेखि पवित्र मन अनि उद्देश्यका साथ थालनी गर्नुभएको सामाजिक अभियान अर्थात एनआरएन अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै सबैभन्दा ठूलो सामाजिक संस्थाको रुपमा जुन उचाइ पाएको छ निश्चय नै यसले संसारभरका नेपालीहरुलाई एउटै मालामा जोड्ने काम मात्र नगरेर राष्ट्रलाई आवश्यक परेको खण्डमा विभिन्न तवरबाट निरन्तर सहयोग गरिरहने बलियो आधारपनि खडा भएको छ । आज राष्ट्रको राजनैतिक वा प्रशासनिक क्षेत्रले पनि आआफ्नो काम गर्ने विधि वा विधानमा पनि कुनै न कुनै रुपमा एनआरएन संस्थाप्रति भरोसाको प्रतिविम्बदेखाएको आभास हुन्छ । आज संसारका फरक फरक राष्ट्रमा रहेको फरक फरक प्रविधि तथा विकाससँग अभ्यस्त हुँदै नेपालीहरुले हासिल गरेको ज्ञान अनुभव तथा सीप उचित ढङ्गले स्वदेश मै लगानी गरेर धेरै गुणा प्रतिफल पाउनको निमित्त विभिन्न कार्यक्रमहरु एनआरएनकै अग्रसरतामा चलिरहेका छन् । यस वर्षमात्रै नेपालको काठमाडौं तथा अष्ट्रेलियाको सिड्नीमा भएको यस्तै तवरको सम्मेलनको प्रतिफलको लेखाजोखा गर्ने बेला अहिले नै नहोला तथापि एनसिसी तथा आइसीसी सम्मेलन आयोजना गरेर विभिन्न विधाका अब्बल व्यक्तिहरुलाई एउटै सम्मेलनमा सहभागी गराउने तत्परता देखाउनु एनआरएन अग्रज समाजसेवी हातहरुको ठूलो सफलता हो भन्ने लाग्दछ । काठमाडौं तथा बाहिरी देशहरुमा निरन्तर चलिरहने सामान्य भेला, भाषण, पार्टी अनि फोटो सेसन मात्र भन्दा यस्ता सम्मेलनहरु राष्ट्र निर्माणका निमित्त पक्कै पनि कयौं गुणा महत्वपूर्ण रहन्छ ।

त्यसैले एनआरएन संस्था संसारभर छरिएर रहेका नेपालीको संगठन मात्र नभइकन राष्ट्रले खोजेको, चाहेको, भरोसा गरेको तथा विदेशीएका नेपालीहरुलाई एउटै मालामा बुन्नको निमित्त परिकल्पना गरिएको ससक्त माध्यम हो । तथापि कुनैपनि संगठन आफैमा ठोस व्यक्ति नभई व्यक्तिहरुबाट नै संचालनमा ल्याउने माध्यम मात्र भएकाले बेलाबेलामा यसको बारेमा पनि विभिन्न टीका टिप्पणी र असमझदारी सुन्न र देख्न पाइन्छ । नेपाली समाजकै कयन व्यत्तिल ज्यूहरुले यसै संगठनको आड लिंदै यसलाई नै हतियार बनाएर नेपाली समुदायप्रति लक्षित आफ्नो व्यवसायको प्रचार अनि विस्तार गरेको तथा संगठन कै आडमा आफ्नो पहुँच विस्तार गर्दै नेपालमा रहेका राजनैतिक तथा प्रशासनिक शक्तिकेन्द्र सँग सम्बन्ध र हिमचिम बढाउँदै यसको उपयोग खुल्लम खुल्ला व्यक्तिगत प्रयोजनको लागि गरेको नि सुन्न र देख्न पाइन्छ । अझै त्यो भन्दा बढी त एनआरएन को नाममा कामभन्दा कुरा धेरै गर्दै सामाजिक संजालहरुमा आफूलाई ठूलै सामाजिक अभियन्ताको रुपमा चित्रण गर्दै पुरापुर विज्ञापन गरेको र राष्ट्रको शक्तिकेन्द्रहरु सँग कुम जोडेर खिचिएका तस्वीरहरु पनि कयौं पटक देख्न पाइरहन्छ ।

अन्त्यमा, एकपटकको नेपाली संधैको नेपाली भन्ने मूलमन्त्रका साथ नेपाल र नेपाली समुदायको हकहितको निमित्त स्थापना गरिएको विश्वव्यापी संजाल रहेको संस्था एनआरएन निदेशीएका धनाढ्य तथा व्यापारीको मात्र संस्था नबनी यसप्रति विदेशीएका विद्यार्थी , मजदुर र अन्य वर्गको पनि अपनत्वको आभास रहोस् । संस्थाकै आडमा जोडिएको यात बनेको शक्ति केन्द्रहरु सँगको सम्बन्ध व्यक्तिगत प्रयोजनमा प्रयोग नगरियोस् बरु गोर्खाको लाप्राक बस्ती, शंखमूल पार्क निर्माण, विभिन्न दूर्गम भेगहरुमा चलाइएको स्वास्थ्य उपचार, घुम्ती जस्तै धेरै पवित्र कार्यहरु आगामी दिनहरुमा पनि निरन्तर चलिरहुन न कि थोरै काम र धेरै सामाजिक संजालमा प्रचार नहोस् एनआरएन अभियन्ता ज्यूहरुबाट व्यक्तिगत तथा व्यवसायिक स्वार्थबाट माथि उठेका लगनशील, क्रियाशील तथा निरन्तर समाजसेवा गर्न सक्षम र तल्लिन व्यक्तित्वहरु बाट नै आगामी अक्टोवरमा काठमाडौंमा हुन लागेको ग्लोवल आइसीसी एनआरएन सम्मेलनबाट नेतृत्व चयन होस् । विश्वभर निर्वाचित एनसीसी एनआरएन अभियन्ता ज्यूहरुलाई र आगामी अक्टोवरमा काठमाडौंमा निर्वाचित हुन गइरहनुभएका  आइसीसी एनआरएन अभियन्ता ज्यूहरुलाई धेरै धेरै शुभकामना !