परिस्थिती जस्तो सुकै होस मनस्थिती बलियो हुनु पर्दछ

-- श्वेता मैनाली / प्रकाशित मिति : बिहिबार, फाल्गुन २२, २०७६

दुख पिडा आफ्नो ठाउँमा होलान् तर आफ्नो सन्तानलाई असल संस्कार दिनु एउटी आमाको कुशल मातृत्व भित्र पर्दछ। महिनौं देखि यी महिला र यीनको गतिविधिलाई न्युज र युट्युबहरुमा देखिरहेकी छु। एउटा काखे बच्चा र अर्को ४-५ बर्षको हुनुपर्छ, यी नाबालकहरु लाई सँगसँगै लिएर बाटो-बाटो रुँदै कराँउदै, चिच्याउँदै, नारा लगाउँदै, कहिले अन्तरवार्तामा कोलाहल गर्दै, कहिले बाटो-बाटो कुटाई खाँदै, रोइकराई गर्दै आईरहेको देख्दै आईरहेकी छु।
दुख कस्लाई पर्दैन? पिडीत धेरै छन् । पुरुषबाट धोका पाउने नारीहरु थुप्रै छन् । न्यायको लागि अवश्य लड्नुपर्छ तर आफ्नो लँडाईले आफ्नो नाबालक संतान प्रति के असर परिरहेको छ ? एउटी आमाले बुझ्न जरुरी छ । परिस्थिति जस्तो सुकै होस तर के यिनी भित्रको मातृत्वले आफ्नो क्रियाकलापले आफ्नो संतानप्रति के असर परिरहेको छ अलिकति पनि हेक्का राख्न सकेको छ?
हो उनि पिडित छिन, अन्यायमा परेकी छिन् । दु:ख र पिडाले पराकाष्ठा नाघेको होला तर न्यायको खातीर आफूले चालेका निकै चर्को चालले आफ्ना दुई नाबलक संतानहरुप्रति के असर परिरहेको छ, एउटी आमा भएर बुझ्न र महशुश गर्न जरुरी छ। न्यायको ढोका शालिन ढँगले पनि ढक्ढक्याउन पनि सकिन्छ। चर्को आवाज र आन्दोलनले न्याय पाइँदो हो त निर्मला कान्ड त्यत्तिकै किन सेलाउँथ्यो।

गार्हो, सार्हो, दु्ख पिडा चरम होला तर यतिबेला भनेको संयमता अप्नाउनु पर्ने बेला हो । शान्त ढंगले न्यायको ढोका ढक्ढक्याउनु पर्ने बेला हो। सुन्दर कोपिलाहरु लाई फक्रक्क फूलाउन यिनीले संयम भएर अघी बढ्नु पर्छ, संयम भएरै न्याय माग्नु पर्छ।
उनीले नेपाल प्रहरीको हातबाट त्यसरी पिटाई खानुमा सारा नेपाली एकजुट भएर घोर भर्त्सना गरेकै छन्। न्यायालयले यो बिषयमा पक्कै उनलाई न्याय दिनेछ।

संसारमा यस्ता थुप्रै घटनाहरु छन् जहाँ महिलाहरु पुरुषबाट पिडित छन र यस्ता थुप्रै उदाहरणहरु पनि (नेपालमा पनि) छन् जहाँ एउटी आमाले आफ्नो संतानलाई कहिँ कतै असर नपर्ने गरी न्यायको लागि लडेर कुशल मातृत्वमा कहीँ नडगमगाई आफ्ना संतानहरु लाई राम्रो संस्कार दिएका छन् । आमा भैसकेपछि एउटी नारीले कुन हद सम्मको संयमता अप्नाएर न्यायको लागि लड्नुपर्छ यिनले राम्रोसँग बुझ्न जरुरी छ । स-साना नानीहरुको भविष्य सुन्दर बनोस । मकै पोलेर, बेचेर छोराछोरी डक्टर, इंजिनियर बनाउने आमाहरु पनि छन ।  संस्कार र नैतिक शिक्षा राम्रो दिन सके छोराछोरीहरु को लागी राम्रो मार्गदर्शन बन्न सक्छ। संतानहरुकै लागि चालेका चर्का र दर्रा पाईलाहरु ले कहीँ कतै ती सुन्दर कोपिलाहरु लाई नै नकुल्चियोस, नमासिदियोस। मेरो शुभकामना!!