कमला दिदी तपाईको बैकुण्ठबास होस्

-- लक्ष्मी पोखरेल, मेलबर्न   / प्रकाशित मिति : बुधबार, चैत्र ५, २०७६

फेब्रोवरी २६ बुधवारको दिन दिनभरिको दौडधुप पछि करिब साढे चार बजेपछि घर फर्किएर भुलुक्क नुडल्स उमाली सुरूप्प निलेर झुपुक्क एकै छिन बेडमा पल्टन हतारिदै थिएँ, फोनको घण्टी बज्यो यसो हेरेको मेरी देवरानी फोन रहेछ । सदाको जस्तो हँसिलो, जोसिलो र फुर्तिलो नभएर भक्कानिएको स्वरमा डाँको छाड्दै उनले भनिन्, दिज्यू “दिदी No more, She is gone” बढी केही बोल्न सकिनन्, फोन काटियो । मेरो दिमाग खलबलायो ओठ, तालु, जिब्रो एकैचोटी सुक्यो । मुटु जोडले काम्न थाल्यो, पाउदेखि मुटुसम्म चिसो भएर रिङटा लाग्न थाल्यो । एकछिन सोफामा बसेर लामो श्वास लिएँ, आँखा रसाएर थम्न सकिन अनि भक्कानिएर डाँको छोडेर रून थालें । केही बेरको रूवाइपछि आफ्नो मनलाई आफैले सान्त्वना दिदै गर्दा बहिनीका शब्दहरू फेरी कानमा आफैं आफैं गुञ्जिन थाले “दिदी No more, She is gone”  दिदीको अनुहार झल्झल्ती घुम्यो, हामी सबै मेलवर्नवासीहरू का लागि परिचित र सबैकी प्यारी कमला कार्की दिदी ।उहाँ पूर्व कोशी अंचलको तेह्रथुममा जन्मेर मोरङ्गको उर्लावारी हुँदै जीवनको भागदौडमा समयसंग प्रतिस्पर्धा गर्दै गर्दा काठमाडौंबाट आजभन्दा पच्चिस वर्ष अघि लाखौं अरू नेपालीहरूलाई जस्तै नेपालमा बसेर विदेशको गुलियो सपना देख्ने क्रममा वहाँको आँखामा पनि अष्ट्रेलिया एउटा स्वर्गको देश बन्न पुगेको रहेछ । त्यस पछि विगतका पच्चिसौं वर्षसम्म दिनरात समय र परिस्थितिसंग जिन्दगी दौडिने क्रम र आफ्नो दुःख पसिनाले सिंचित गरी सन्तानको भविष्यको ज्ञान, विवेक र स्वतन्त्रताको बीउ उमार्न कहिल्यै पछि पर्नु भएको थिएन । यसरी खटिने क्रममा क्यान्सर जस्तो भयानक रोगले भित्र-भित्रै धेरै च्याप्दा पनि आफ्नो मनोवल मजबुत बनाई लड्न छाड्नु भएन । उपचारकै क्रममा आधुनिक उपकरण र उपचार पद्धतिले भरिपूर्ण  रहेको भनिएको निकै सुन्दर, आकर्षक र भब्य डिजाइनमा रहेको अस्पताल Peter Mac Centre मा ठुलो आशा र डाक्टरको विश्वासमा झुडिएर रहँदा परिवार र आफन्तका लगभग दशौं हप्ता अनिदा रातहरू र दिन पनि थाहै नपाई बितेका थिए । लगभग दश हप्ताको अस्पताल बसाइ डाक्टर र नर्सहरूको अथक प्रयासको नतीजा झिनो आशामा मात्र परिणत भयो । जुन कुरा परिवार, आफन्त तथा  मेलबर्नको नेपाली समुदायलाई एक अपत्यारिलो र अप्रिय Breaking News नै बन्न पुग्यो । मैले पनि यो सोच्दै नसोचेको समाचार मेरी जेठानी दिदीबाट सुन्दा धरहराको टुप्पोबाट सडकमा खसेझै भएँ ।

हाम्रो समाजमा अप्रिय खवरहरू चैत मासको सुख्खा डाँडाको डडेलो झैँ फैलन्छ भने राम्रा र सकारात्मक कुराहरूको हतपति चर्चा हुदैन भने जस्तै यो समाचारले पनि नेपाली समुदायलाई भुईंचालो नै ल्याइदिएको महसुस भएको थियो । जब अस्पतालबाट दिदी प्रतिको आशा कहिल्यै खुशी नफर्किने गरी ओइलाएर जाने भयो, दिदीको इच्छा अनुसार वहाँका अन्तिम दिनहरू र अन्तिम बिदाइको लागि आफ्नै वासस्थानमा लगियो । त्यसपछि घरमा रहेका केही दिनहरूमा आफन्त र साथीभाइहरूको वहाँलाई भेट गर्न जानेहरूको लर्को क्रमश चर्को नै हुँदै गयो । यसै क्रममा म पनि आफ्नो समय मिलाएर बेला बेलामा दिदीलाई भेट गर्न जान्थें । मृत्युको पर्खाइमा रहेकी दिदी दुखाइले छट्पटिई रहँदा पनि अनुहारमा भने विभिन्न रंगहरू (सपनाहरू) ओहोर दोहोर गरिरहेको प्रष्ट देख्थें । परिवार र आफ्नासंग कति धेरै अरू कर्तब्यका कुराहरू गर्न मन थियो होला, मनमा कुरा रित्तिएका थिएनन् होला, दुःख सुखका भवनाहरू अरू साट्न मन थियो होला, त्यसका लागि समय अपूरो र अधूरो नै रहेको प्रष्ट देखेको भान हुन्थ्यो । अनि छोरा, छोरी, बुहारी, ज्वाइं लगायत आफन्तले गरेका स्याहार सुसार, सम्मान, मायाँ गरेको देख्दा, वहाँले आफ्ना सन्तानलाई कति ठूलो शिक्षा र संस्कार दिनुभएको रहेछ छर्लंग देखिन्थ्यो । अस्पतालकै रेखदेखमा Palliative care in the home को क्रममा २६ फेब्रोवरी २०२०, बुधवारका दिन कमला कार्की दिदीले क्यान्सर जस्तो कष्टपूर्ण कुवाबाट विदा लिदै आनन्दको शिखरमा प्रवेश गर्नुभयो ।
फोनमा सुनेको समाचार पछि आफुलाई जवरजस्ती सम्हाल्दै हस्याङ-फस्याङ गर्दै दिदीको घरसम्म आईपुग्दा रातीको आठ बजेको थियो । त्यो त्यहि घर वरपरको परिसर थियो, जहाँ सधैं एक प्रकारको उमंग हुन्थ्यो, जहाँ सधैं खुशी र हाँसोका साथ आवत जावत गर्थें । मन खुशी हुंदा सबैथोक उज्यालो र रमाइलो लाग्ने त्यो घर, आज मन दुःखी हुँदा घर र संसार नै अध्याँरो लागि रहेको थियो । आज त्यहि घरको ढोकामा पुग्दा, वातावरण पुरै उदाश, उराठ र कहाली लाग्दो थियो । त्यहाँ जम्मा भएका करिब २ सय मान्छेहरू को भिडमा पनि शून्यता छाएको थियो, सायद कोलाहाल भित्रको शून्यता । यतउता धेरै आफन्त र साथीभाइको रूवावासी देखें, कोही पनि कोहिसंग बोल्न सक्ने स्थितिमा थिएनन् । जति नै आफुलाई सम्हाले पनि न पुरुष न महिला कसैको पनि आँखा ओभानो थिएन । मैले पनि वर्षिन लागेको आँखा माथितिर हेर्दै आँसुलाई गहको दहभित्रै फर्काउने कोसिस गर्दै चीर निद्रामा पुगेकी दिदीलाई हेर्न गएँ । दिदीको त्यो अझै पनि हसिलो र उज्यालो अनुहार देख्दा “दिदी She is No more with us.” भन्ने कुरामा  विश्वास लागेन ।

भनिन्छ नि कहिले-काहिं आँखाले देखेका कुरा सत्य नहुन पनि सक्छ । त्यहि सोच्दै मनमनै भगवानसंग एकपटक आँखा चिम्म गरेर प्रश्न गरें “ हे भगवान के यो एक अप्रिय र अकल्पनीय सपना हुन सक्दैन ?” अझै पनि केही आशाका साथ भगवानप्रति आस्था राख्दै मेरो हात दिदीको टाउकोमा राखें, कालो चिल्लो टल्किएको कपाल अनी भर्भराउंदो उज्यालो अनुहारबाट दिदीको कुनै मायाँको स्पर्श नपाउंदा त्याहाँ रहेका आफन्त र साथीभाई बिच अंगालो हालेर रूनु, अनी “कमला दिदी” भन्दै भक्कानिनु बाहेक अरू केही विकल्प रहेन । केहिबेरपछि आफुले आफैलाई सम्हाल्दै फेरी दिदीको अनुहारमा नजर अड्याएर सोच्न पुग्छु, कति धेरै बाँच्ने रहरहरू थियो होला,  कति  धेरै दृश्य, अदृश्य सपनाहरू थिए होलान्, परिवारमा एकपछि अर्को खुशीका लहर र उमंगहरू आउंदै थिए । सन्तानबाट पाउने सुखैसुखको अनुभूतिको शुरूवात हुदै थियो, जसको कुनै अनुभव गर्न नपाउदै जिन्दगिको लामो दौडधूप यतिमै सिमीत राख्दै बिचैमा चटक्क चुडि लैजाँदा भगवानसंग पनि गुनासो गर्न मन लाग्यो । अनी एकाएक यो बैरागी गीतको याद पनि आयो ।

मर्ने कसैलाई रहर हुंदैन …
तर मान्छे नमरेको प्रहर हुदैन !!
भागेर जाउँ कुनठाउँ जाउँ…
मान्छे नमर्ने सहर हुदैन !!

यो मान्छे नमरेको प्रहर हुदैन,  मान्छे नमर्ने सहर हुदैन, किनकी सत्यता यहि हो । जतीवेला हामी जन्मन्छौं हामीलाई थाहा छ, त्यहाँ मृत्यु संगै छ भनेर तर यो सत्यता तितो छ, जब मृत्यु आउछ टप्प टिपीहाल्छ सम्हाल्नै गाह्रो हुन्छ । केही घण्टको पर्खाई पछि अस्पतालका कर्मचारीको उपस्थितिमा दिदीको मृत्युको प्रमाणीकरण गर्ने प्रक्रिया पुरा गरिन्छ, अनी हामी घडीको सुईले करिब मध्यरात देखाउनु केही अघि वहाँको पार्थिव शरीरलाई घरबाट अन्तिम बिदाइका लागि तयारीमा लाग्यौं, त्यो परिवार र हामी आफन्तका लागि शब्दमा व्यक्त गर्न नमिल्ने  कठीनको घडी थियो । बाहिर टलमल्ल जुन लागेर उज्यालो भएतापनि हामी सबैका मनमा भने औंसीको रात जस्तै अन्धाधुन्ध र आंधिहुरी चल्दै कोलाहाल मच्चिरहेको थियो । म पेशाले एक नर्स । मेरो जीवनको पच्चिसौं वर्षका पेशागत अनुभवको अन्तरालमा असंख्य मात्रामा विरामीका मृत्युको खवर परिवार र आफन्तलाई सुनाउदा, मृत्यु प्रमाणित गर्दा र अन्तिम विदाइका पीडा पेशागत हिसाबले काम, कर्तब्य गराई अनि आफन्त र पारिवारिक जीवनका वास्तविक घटनाले कति फरक पार्दो रहेछ भन्ने कुराको चिन्तन गर्न वाध्य भएं ।
केही महिना अघि मात्रै दिदीलाई एक सामाजिक भेटघाटमा हामी केही साथीभाई र आफन्तले हांसि मजाकमा भनेका थियौं “हजुरलाई केहिपनि सानो तिनो चिज आँखा लाग्दैन, सबैकुरा भब्य नै गर्नु पर्छ र सबैचिज भब्य नै चाहिन्छ” । हुन पनि सामान्य विचार र सरल व्यवहारकी दिदीको मन र मुटु भने अरू माथिको दया, माया, कर्तब्य, उदारपना, सहयोगि भावना आदि इत्यादिमा भवसागकै थियो । त्यसैले होला वहाँको घरबाट विदाई मध्य रातमै भएपनि ठूलो संख्याका साथीभाई र आफन्तको उपस्थितिमै भएको थियो भने फेब्रोअरी २९ शनिवारका दिन अन्तिम विदाई संस्कार पनि झण्डै झण्डै आठ सय साथीभाइको उपस्थितिको बिचमा “सम्बोधन कम” भन्ने गीतका साथ भव्य रूपमा नै गरियो ।
तेह्रौ दिनसम्मको कर्मकाण्ड रितीरिवाज परिवार र आफन्तद्वारा धार्मिक विधि अनुसर पूरा भए । दिदीका जीवनका अन्तिम घडी, अन्त्यष्ठी र कर्मकाण्ड, छोरा-बुहारी, छोरी-ज्वाईं र दाईबाट जुन गरियो त्यो हाम्रो नेपाली समुदायको लागि एक उदाहरणीय रितिरिवाजको नमूना बन्न पुगेको छ । जुन समय झिनो आशा र डाक्टरको विश्वास मारेर जीवनको अन्तिम घडीमा आफ्नै निवासमा दिदीलाई राखिएको थियो त्यतिवेला आफन्त र परिवारले मात्रै नभएर छर छिमेकी, साथीभाइहरू बाटै पनि आफ्नो अमूल्य समय दिएर माया, ममता, स्याहार, सुसार अनि मनोवैज्ञानिक हिसाबले जुन सहायता  दिदिले पाउनु भयो, यसले हाम्रो समुदायमा कति धेरै एक्यवद्धता रहेछ, हामी एक अर्कामा कसरी दुःख बाडी चुडी गर्न सक्ने रहेछौं भन्ने कुराको आभाष पनि दिलाएको छ । जब दिदीले प्राण त्याग गर्नुभयो, त्यस्तो कठीन पस्थितिलाई धैर्यताका साथ कसरी आत्मसाथ गरी सम्हाल्ने, त्यसका सकारात्मक पक्षहरू के के हुदा रहेछन् भन्ने कुराको अनुभव र पाठ पहिलो पटक समाजले सिकेको अनुभूती पनि भयो ।
दिदीले यस संसारबाट विदा लिएको पनि आज तीन हप्ता हुदै झण्डै महिना वित्न लागि सकेको छ । यस विचमा म कैयौं पटक त्यस घरमा पसें । दिदी बिनाको त्यो घर जती मानिसको भिडभाड र चहल पहल भएता पनि म अझै एक शूण्यता नै पाउंछु । घरभित्र पस्दै गर्दा हेर्दामा हाँसीखुशी देखिएता पनि मेरो मनभित्र भने आँधिहुरी चलि रहेकै हुन्छ । मनले दिदीलाई नै खोज्छ, दिदी माथिल्लो तलाबाट झुलुक्क उदाए पनि हुन्थ्यो भन्ने सोच्छ तर त्यो कहाँ हुन सक्थ्यो र ?
दिदी कस्तो मान्छे हुनुहुन्थ्यो भन्ने कुरा र उहाँसंगको आत्मीयता, सरलपनाको ब्याख्या गरेर सकिंदैन । विगतका पल्टिइसकेका पानाहरूमा केही यस्ता संझनाहरू छन्, जसलाई फर्केर हेर्दा मेरो उहाँ संगको चिनाजानी, आवत-जावत गत विस वर्ष देखिको हो । यी विस वर्षको अन्तरालमा एउटै समुदाय र शहरको बसाइ, हरेक हप्ता जस्तै पारिवारिक र सामुदायिक जमघट अनि हरेक चाडवाडमा एउटै छानामुनि बसि खानपान आवत जावत गर्दा दिदी संगको सम्बन्ध मेरा लागि धेरै नजिक भै सकेको थियो । वास्तव मै भन्नुपर्दा यो प्रवासमा मेरा लागि शुरू शुरूका वर्षमा तीजको दर खुवाउंदा अनि पछिल्लो दशैंको टिका, जमारा, आशिर्वाद वहाँबाटै ग्रहण गर्दा वहाँलाई एक अभिभावकको रूपमै पनि पाएको अनुभव भएको थियो । यसरी शुरू भएको सम्बन्ध विसौं वर्षसम्म आइपुग्दा अनेकौं पारिवारिक भेटघाट, चाडवाड, पूजाआजा, विवाह, ब्रतवन्ध आदि इत्यादिमा माया र आत्मीयताका साथ निमन्त्रणा गर्दै उपहार र आशिर्वादले वर्षात् गराउन कहिल्यै छोड्नु भएन । यो प्रवासमा एक प्रकाले वहाँले मलाई सधैं माइतिको आभाष दिलाइ राख्नु भएको थियो । यो एक म जस्ता लक्ष्मीको मात्र नभएर मेलवर्नमा अरू धेरै लक्ष्मी, सीता, गीता, कविता, अजिता जस्तै सयौं चेलीहरूका वहाँ प्रतिका अनुभव र भावनाहरू हुन्  ।
हो दिदी एक त्यस्तो व्यक्तित्व हुनुहुन्थ्यो जसले वहाँलाई एक पटक भेट्नु हुन्थ्यो, वहाँको स्वच्छ निर्मल हृदय, सादापन, अरू प्रतिको मायाँ, दया, आदर, अनुशासन, न्यानोपना सबैचिजले भरिपूर्ण भएकी हुनाले सबैको मन तुरून्तै जित्न सफल हुनुहुन्थ्यो । घर, परिवार देखि बाहिर छरछिमेकी हुदै समाजमा रहेका ठूलावडालाई आदर सम्मान तथा साथीभाइहरू संग हाँसि मजाक, ख्याल ठट्टा गर्न पनि पछि नपर्ने, जमघट गर्ने, पकाउने, खुवाउने देखि बच्चाहरू का पिडीसम्म माया, स्याहार, सुसार गरेकी सबैकी प्यारी हुन पुग्नु भएको थियो । यसरी प्रवासको दाडधुपमा सधैं व्यस्त र बेचैन रहने हाम्रो दैनिकीका बाबजुद पनि हरबखत अरूलाई खुशी र सुखि राख्न खोज्ने, अरूलाई खुवाएर आफ्नो मन र पेट भर्ने, अरूको सुखमा रमाउने, दुःखमा दुःखी भइसाथ दिने जस्ता गुणका भण्डारकी खानी दिदीलाई देख्दा भगवानलाई पनि कतै इर्ष्या त लागेन होला ? भनिन्छ भगवानलाई पनि समय समयमा सज्जन व्यक्तिहरू चाहिन्छन् । त्यसैले मलाई लाग्छ अब दिदी हामीलाई भन्दा बढी वहाँको लागि चाहिने हुनाले टप्प टिपेर लानु भयो । त्यसैले दिदी तपाई जहाँ हुनुहुन्छ, त्यहाँ पनि सबैकी प्यारी कमला छोरी, दिदी, भाउजु, अण्टी बनेर रहिरहनु होला, सबैलाई मायँ गरिरहनु सबैलाई ख्याल गर्नु, दुःखमा साथ त सुखमा रमाई दिनु, पृथ्वी लोकमा जस्तै जमघटहरू मा सबैसंग संझनाको लागि एक फोटो तथा सेल्फी खिच्न नविर्सनु । भगवानलाई पनि सञ्चै हुनुहुन्छ ? भोक लाग्यो ? के खाने ? भनि सोध्न नविर्सिनु होला । अनि फुर्सतका समयमा पृथ्वी लोकमा हेर्दै हामीलाई मायाँ र आशिर्वाद बर्षाउन नछोड्नु होला । हामीहरू लाई हजुर बिनाको जमघट, हजुर बिनाका फोटा र सेल्फीहरू अधुरो अपूरो खालको, नून नपुगेको, के छुटेको, के के नपुगेको अनुभव भइरहेको छ ।
सुनेकी थिएँ, उपचारको क्रममा Peter Mac मा रहदा आफन्त र नातेदारहरू भेट गर्न जानेको, देशबाट मात्र नभएर विदेशबाट ओहोर दोहोरको लर्को निकै चर्को हुँदा अस्पतालका कर्मचारीहरू पनि Are you a Nepalese Celebrity भनि सोध्न वाध्य भएका थिए । हो आज म घमण्डका साथ भन्न सक्छु यिनै गुणहरूले गर्दा तपाईं हामी मेलवर्नवासी नेपालीहरू का लागि एक Celebrity नै हुनुहुन्थ्यो र अब हामीले हजुर जस्तो दिदी पाउन अर्को जुनी नै कुर्नु पर्ला ।
हो कहिलेकाहिं रगतको नाताभन्दा भावनात्मक नाता ज्यादै गहिरो, बलियो र प्यारो हुदो रहेछ । दिदीसंगको नाता हामी सबै मेलवर्नवासी दिदी वहिनीहरू का लागि एक अपूरणीय छ । वहाँले हामीलाई असंख्य अन्तरंग यादहरू छाडेर जानु भएको छ । आज पनि वहाँको सम्झना आउना साथ हाम्रा आँखा रसाइहाल्छन् । दृष्य, अदृष्य रूपमा परिवार, साथीभाई र समाजलाई एक्यवद्ध गराउन, यो समाजमा रहेका हामी दिदी बहिनीहरूलाई यहाँसम्मको यात्रामा ल्याउनको लागि वहाँले दिनु भएको योगदान सदैव स्मरणीय रहने नै छ ।
जन्म र मृत्यु मानिसको हातमा नहुदो रहेछ, मृत्यु जीवन चक्रको एक प्राकृतिक लिला रहेछ, जसलाई सबैले हाँसि-खुशीका साथ स्वीकार्न वाध्य हुनुपर्ने रहेछ । दिदी तपाइंले पनि यसलाई हाँसि-खुशीका साथ आत्मसाथ गर्नुभयो । तपाईं भौतिक रुपमा यस पृथ्वीमा नरहे पनि हाम्रा मनभित्र जुनी-जुनी जीवीतै रहिरहनु हुनेछ । तपाईंको आत्माले चीर शान्ति पवोस्, तपाईंको बैकुण्ठमा वास होस् । महेन्द्र दाई, छोराहरू, बुहारी, छोरी, ज्वाईं तथा सम्पूर्ण शोकाकूल परिवार र आफन्तहरू मा हार्दिक समवेदना व्यक्त गर्दै धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछौं ।
उही हजुरका प्यारा पृथ्वीलोक, मेलवर्नवासी दिदी बहिनीहरूका तर्फबाट –  लक्ष्मी पोखरेल