कोरोनाको विश्वव्यापी चिन्ता

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १८, २०७६

चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस प्रकोपले विश्‍वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ । पछिल्ला केही दिन चीनबाहिर पनि संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि यस्तो चिन्ता व्यक्त गरिएको हो । चीनले अन्य क्षेत्र र राष्ट्रमा संक्रमण नफैलियोस् भनेर रोकथाम र सुरक्षाका विभिन्न उपाय अपनाए पनि विश्वका लगभग ३४ देशमा भाइरस संक्रमण पुगिसकेको छ । पछिल्ला केही दिन चीनबाहेक इरान र दक्षिण कोरियाका साथै इटालीमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । फेब्रअरी २५ सम्ममा इरानमा १६ संक्रमितको मृत्यु भएको छ । यो चीनबाहिर कोरोना संक्रमणका कारण मृत्यु हुनेमध्येको सबैभन्दा ठूलो संख्या हो  । ९५ जनामा संक्रमण पुष्टि भएको इरानको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । उपस्वास्थ्यमन्त्री एवं संक्रमण रोकथाम तथा नियन्त्रण अभियानका प्रमुखइरार हारिर्चीमा नै कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ताले जनाएका छन् । त्यसैगरी, दक्षिण कोरियामा कोरोनाले ११ जनाको मृत्यु भएको छ भने एक हजार एक सय ४६ संक्रमित भएका छन् । इटालीमा ११ जनाको मृत्यु र ३ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । जापानमा ८ सय ५२ जना (डायमन्ड प्रिन्सेस क्रुजसमेत) भाइरसबाट संक्रमित भएका छन्  । जापानमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ । बहराइन, लेबनान, कुवेत र अफगानिस्तानजस्ता राष्ट्रमा पहिलोपटक कोरोनाको संक्रमण पाइएको ती देशका स्वास्थ्य कार्यालयले बताएका छन्  । इराकले पनि कोरोनाका कारण पहिलो पटक एक जनाको मृत्यु भएको जनाएको छ । इरानबाट आएकी एक वृद्ध महिलाको मृत्यु भएको उसले जनाएको छ । कोरोना संक्रमणको प्रभाव एसिया, युरोप र मध्यपूर्वमा धेरै देखिएकाले विस्तारै विश्वका विभिन्न भागमा खतरा उत्पन्न हुनसक्ने भन्दै विश्व महामारीको चिन्ता व्यक्त गरिएको छ । कुनै पनि संक्रामक रोगले विश्वमा एकैपटक खतरा उत्पन्न गरायो भने त्यसलाई ‘प्यान्डेमिक’वा विश्वव्यापी महामारी भन्ने गरिए पनि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस प्रकोपलाई तत्काल विश्वव्यापी महामारी घोषणा गर्ने तयारी नभएको उल्लेख गरेको छ  । उसले कोरोना संक्रमणलाई अन्तर्राष्ट्रिय आपत‌काल भने यसअघि नै घोषणा गरिसकेको छ  । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा कोरोना संक्रमण फैलिए नियन्त्रणमा ल्याउन अप्ठेरो हुने र त्यसले भयावहको अवस्था सिर्जना हुने विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।