तँ आए पछि कोरना आयो

-- उमेश चापागाईँ / प्रकाशित मिति : सोमवार, असार १, २०७७

सरकारी अस्पतालको प्रयोगशालामा कार्य गर्ने शिलशिलामा मेरो एउटा अस्पतालको शूक्ष्म विज्ञान (Microbiology) प्रयोगशालाबाट अर्को अस्पतालको Virology Department मा मेरो सरुवा २०२० को शुरुमा भयो । जुन अस्पतालमा म सरुवा भएर जाँदै थिएँ मेरो मनमा दुईवटा कुराले साह्रै हर्षित र अलिअलि गम्भीर बनाएको थियो । म साह्रै हर्षित यो मानेमा थिएँ कि अव घरबाट नजिक अनि दिनमा मात्र काम गर्न पाइने, छोरा र बुढी सँग बसेर दैनिक बेलुकाको खाना खान पाइने । अलि अलि गम्भीर मेरो लागि अस्पतालमा पनि नयाँ र विभाग पनि नयाँ मलाई धेरै ज्ञान नभएको, तर भित्र मेरो उत्सुक्ता र नयाँ काम सिक्न नडराउने बानिले भित्र भित्र गदगद नै थिएँ ।

मैले जनवरीको ६ बाट काम सुरु गर्ने भए जुन क्रिसमस र नयाँ वर्ष पछिको पहिलो सोमबार थियो । मेरो पहिलो साता मान्छे चिन्ने र त्यहाँको Information System जान्ने मै गयो । दोस्रो साता पहिलो दिन जनवरी १३ मा विभागीय प्रमुख आएर वुहान भाइरसको बारेमा थोरै भनेर जानुभयो ( शुरु शुरुमा कोरना भाइरसलाई वुहान भाइरस भनिन्थ्यो ) तर हामीले खासै त्यति ध्यान दिएनौ र हाकिम साबको अनुहारमा पनि त्यती गम्भीरता पाएनौं । अर्को साता विज्ञ डाक्टरहरुबाट कोरोना भाइरस सम्बन्धी सेमिनार भयो । जनवरी भरी सेमिनार वर्कसप यो त मेरो लागि रमाइलो थियो । जाने, मिटिङ्गमा बस्ने कुरा सुन्ने । मलाई मेरो सुपरभाइजरले कहिलेकाहीँ कोरोना यहाँ तैंले लेराइस भनेर जिस्काउँथे पनि किनभने जव म त्यो ल्यावमा आएँ कोरोनाको कुरा सुरु भयो ।

जव फेब्रुअरीमा एउटा दुईवटा केस पोजेटिभ देखिन थाल्यो पुरै अष्ट्रेलियाको ध्यान कोरोनाले खिच्यो । त्यसबेलामा प्राइभेट ल्यावहरु ले टेष्ट सुरु गरेका थिएनन् । न्यु साउथ वेल्थमा सुरु गर्ने मैले काम गर्ने अस्पताल मात्र थियो । फेब्रुअरीको मध्यबाट नमूनाहरु निकै बढ्न थाल्यो सबैको ध्यान नमूनाको रिजल्ट छिटो दिनेमा नै केन्द्रित हुन थाल्यो । दिनको एउटा दुईवटा पोजेटिभ आउन थाल्यो । जुन ठाउँबाट पोजेटिभ देखिन्छ त्यहाँको स्कुल बन्द हुने हुन थाल्यो तर सार्वजनिक यातायात यथावत चल्यो ।

मार्चको पहिलो साताबाट कोरोना संक्रमित ह्वात्तै बढे । सरकारले धेरै कुरामा प्रतिबन्ध लगायो तर स्कुल भने चलिरह्यो । घरमै बसेर काम गर्नेहरु बढ्न थाले होटेल, रेस्टुरेन्ट व्यवसाय प्रायः बन्द भए तर सरकारले रोजगार गुमाएकाहरु लाई विभिन्न तरिकाबाट पैसा दिने साथै जसले घर किनेर बसेका छन् उनीहरुलाई सावाँ-व्याज ६ महिनासम्म तिर्न नपर्ने बन्दोबस्त मिलाईदियो । मेरो बुढीको पनि करिव दुई महिना काम भएन । तर म बबुरो भने दैनिक काममा जाने तर सार्वजनिक यातायात बन्द नभएकाले मलाई जान आउन समस्या थिएन । प्रायः सडकमा मान्छे देखिन छाडे । रेलको डब्बामा म मात्रै पनि भएँ । मेरो छोराको हरेक दिन बेलुका एउटा मात्र प्रश्न हुने गर्थ्यो सबैको बुबा घरमा बसेर हुने तपाई मात्र किन जानु पर्यो । विचरा सात वर्षको छोरालाई के भनेर मात्र बुझाउने उस्को बुबा कोरोना भाइरस ल्याबका काम गर्छ भनेर । धेरै जनाले जागिर गुमाएको खबर आउदै गर्दा पनि पनि आफ्नो भने ओभर टाइम गर्नु पर्थ्यो ।

अप्रिलको शुरुमा अष्ट्रेलिया भरी छ हजार भन्दा बढी संक्रमितहरु देखिए । यहाँको सरकार जनताको स्वास्थ्य प्रति संधै चनाखो थियो । प्रत्येक दिन प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीबाट अपडेट भइ नै रह्यो । सरकारले आफ्नो नागरिकलाई आर्थिक संकट नपरोस भनेर तलबबाट संचयकोषको दुईपटक गरेर बीस हजार डलरसम्म झिक्न सक्ने बनायो । सबै ठाउँमा सोसल डिस्टेन्स मेन्टेन भएको नभएको सरकारले राम्रो अनुगमन गर्यो । साधारण रुघाखोकी लागे पनि घरमै सेल्फ क्वारेन्टाइन बस्नु पर्ने नियम धेरै उपयोगी भयोे ।

मे को दोस्रो हप्तामा धेरै जसो केस नेगटिभ आउन थाल्यो सरकारले पहिला लगाएका बिबिध बन्देजहरु लाई खुकुलो बनायो । मेरो बुढीको काम पनि सुचारु हुन थालिसक्यो, छोराको स्कुल पनि शुरु भइसकेको छ । करिव-करिव पहिलेकै रुटिङ्गमा जीवन यापन शुरु भएको छ। अष्ट्रेलिया एउटा छुट्टै महादिप भएको कारणले पनि कोभि-19 संग लड्न अष्ट्रेलियालाई धेरै सहज भएको पक्कै हो । तर यहाँको सरकारको निगरानी, जवाफदेहिता र जनताको नियमपालनामा अनुशासनका कारण आज अष्ट्रेलिया  लगभग कोरोना मुक्त भएको छ ।
(लेखक सिड्नी अष्ट्रेलियाको सरकारी अस्पतालमा ल्याव टेक्नोलोजिस्ट हुनुहुन्छ )