ओलम्पिक आयोजना : पक्ष र विपक्षमा बहस

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार २४, २०७७

जापानी राजधानी टोकियोको गभर्नर चयन प्रतिस्पर्धामा ओलम्पिक आयोजनालाई लिएर पक्ष र विपक्षमा बहस सुरु भएको छ । टोकियो सहरका लागि गभर्नर निर्वाचनको वहस चलिरहँदा यसअघि नै प्रभावित भइसकेको टोकियो ओलम्पिक आयोजना गर्न हुने नहुनेबारे बहस सुरु भएको हो  ।

टोकियो ओलम्पिक जसरी नै हुनुपर्छ भन्ने समर्थन गर्दै आएकी वर्तमान गभर्नर युरिको काइके नै आगामी कार्यकालका लागि बलियो दाबेदार मानिँदै आएको छ ।

आगामी जुलाई ५ मा हुने गभर्नरको निर्वाचनमा करिव पाँच जना प्रमुख दावेदारका रूपमा देखिएका छन् । उनीहरूले नै राजनीतिक अभीष्ट पूरा गर्न ओलम्पिक आयोजनालाई चुनावी एजेन्डाका रूपमा प्रयोग गरिरहेका छन् ।

जुन २५ देखि अफिसियल रूपमा निर्वाचन प्रचारप्रसार सुरु भएको छ, जसमा गभर्नरका प्रमुख दावेदार एवम् चर्चित अभिनेता तारो यामामोतो पनि देखिएका छन् । उनले ओलम्पिक आयोजनाको विपक्षमा मत राखेका छन् भने ओलम्पिकमा खर्च हुने अर्बौं रकम कोरोना महामारी पीडितलाई सहयोग गर्नुपर्ने आवाज उठाएका छन् ।

‘ओलम्पिक जसरी पनि रद्द हुनुपर्छ,’ यामामोतोले भने— ‘अहिलेसम्म ओलम्पिक सुरक्षित तवरबाट टोकियोमा सञ्चालन हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन र हामीसंगै कुनै भ्याक्सिन पनि बनेको छैन ।’ यामामोतोले र अन्यले पनि दुई राष्ट्रबाट करिव ११ हजार खेलाडी, ४ हजार ४ सय प्यारालम्पियन र हजारभन्दा बढी कर्मचारी, प्राविधिक, ब्रोडकास्टर र पत्रकार देशभित्र आउनु चुनौतीपूर्ण हुने भन्दै चेतावनी दिएका छन् ।

जसमा करिव ४० लाखभन्दा बढी दर्शक जसले टिकट नै खरिद गरेका छन् र ८० हजार लगभग भोलिन्टियर हुनेछन् ।

प्रश्न त्यहाँ रहन्छ, के आवश्यक परेमा उनीहरूका लागि क्वारेन्टिन व्यवस्था गर्न सकिन्छ  ? ‘विश्वभरबाट यति धेरै मानिस भेला हुँदा त्यो समयमा टोकियो फोहोर हुनेछ,’ यामामोतोले भने—‘साथै हामीले टोकियो ओलम्पिक यहाँ सुरक्षित तवरबाट सञ्चालन गर्न सक्दैनौं भनेर जानकारी गराउनु पर्छ ।’

गभर्नरका अर्का महत्वाकांक्षी चर्चित अधिवक्ता केन्जी युत्सुनोमियाले पनि रोग विशेषज्ञहरूको सल्लाहअनुसार ओलम्पिक सञ्चालन गर्न नहुनेमा समर्थन गरिरहेका छन् । अन्य दुई आकांक्षीले पनि दुईदेखि चार वर्षका लागि ओलम्पिक सार्न प्रस्ताव गरेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र स्थानीय आयोजकले एक वर्ष पछि धकेलिएको ओलम्पिक २०२१ सहज बनाउनको लागि प्रयास भइरहेको बताएको छ । १२ महिना पछाडि धकेलिएको ओलम्पिक सञ्चालनका विषयलाई लिएर यसअघि पनि कयौं प्रश्न उठिरहेका छन् ।

 

नेपोलीलाई इटालियन कप

रोम– नेपोलीका प्रशिक्षक जिनारो गाटुसोले आफ्नो प्रशिक्षण जीवनमा पहिलो पटक उपाधि जितेसँगै फुटबलको भगवानलाई धन्यवाद दिएका छन् ।

इटालियन कपअन्तर्गत जुन १९ का दिन रोमस्थित स्टाडियो ओलिम्पिसियोमा भएको फाइनलमा नेपोलीले युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटमा लगाइएको हो ।

खेल बन्द रंगशालामा खेलाइएको थियो । १३ औं पटकको इटालियन कप विजेता युभेन्ट्सका पाउलो डिबालाको प्रहार नेपोलीका गोलकिपरले विफल पारेका थिए भने ड्यानिलोको प्रहार अकासिएको थियो ।

यता नेपोलीका अर्काड्युज मिलिचले बललाई जाली चुमाउँदै नेपोलीका लागि छैटौं पटक इटालियन कपको उपाधि पक्का गरेका थिए । सन् २०१४ पछि नेपोलीले जितेको यो पहिलो प्रमुख उपाधि हो ।

डिसेम्बरमा कार्लो एन्सेलोट्टीले प्रशिक्षण छोडेपछि नेपोलीमा आएका गाटुसोको पनि प्रशिक्षकका रूपमा यो पहिलो उपाधि हो ।

‘जीवनमा केही पक्ष स्वीकार गर्न सकिँदैन तर फुटबलले मलाई सबै चिज दिएको छ,’ ४२ वर्षे गाटुसोले भने—‘मलाई थप जिम्मेवारी बढेको जस्तो लागेको छ । म अहिले पनि फुटबल छोड्न सक्दिनँ । मैले आज नेपोलीलाई यस्तो टोलीका रूपमा देखें, जुन उपाधिको खडेरी तोड्न चाहन्थ्यो । हामी आज उपाधिका हकदार थियौं । यहाँ फुटबलका भगवान छन्, जसले हाम्रो कडा परिश्रमलाई न्याय दिन्छन् । मेरो टोलीले आज गरेको प्रदर्शनमा मलाई गर्व छ । अब पनि लिग र अन्य प्रतियोगितामा पनि यही लयलाई निरन्तरता दिनुपर्छ ।’

गाटुसोको आगमनपछि स्वाभाविक लयमा फर्किएको नेपोली अहिले सिरी ‘ए’ को छैटांै स्थानमा छ  ।

विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण तीन महिना रोकिएको सिरी ‘ए’ पनि भरखरै सुचारु भएको छ र नेपोली शीर्ष ४ मा बस्दै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा छ । यता गत डिसेम्बरमा लाजियोलाई इटालियन सुपर कपको उपाधि सुम्पिएको युभेन्ट्स पुनः एक पटक निराश बन्न पुग्यो ।

‘हामीले निराशाजनक प्रदर्शन ग¥यौं । समर्थकलाई दुखी बनायौं,’ युभेन्ट्सका प्रशिक्षक माउरिसियो सारीले भने— ‘हामीले स्वाभाविक लय गुमाएजस्तो देखियो ।’

युभेन्ट्सले गत साता सेमिफाइनल पहिलो लेगमा एसी मिलानविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।

 

आईपिएलको प्रायोजन अन्यौल

भारत–चीन सीमा विवादपछि भारतमा जुन १९ का दिन चाइनिज कम्पनीका उत्पादन बहिष्कार गर्ने चर्चा चुलिएसंगै इन्डियन प्रिमियर लिग (आइपिएल) मा चिनियाँ कम्पनीको मुख्य प्रायोजन संकटमा परेको छ । आइपिएलले पनि प्रायोजकसँग आगामी साता छलफल गर्ने बताइसकेको छ ।

चिनियाँ मोबाइल कम्पनी भिभोले आइपिएललाई सन् २०१८ देखि २०२२ सम्म ३ सय ३० मिलियन डलर प्रायोजन सम्झौता गरेको छ  । जुन १६ का दिन लद्दाखमा भारत–चीन सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि केही सैनिक मारिएको बताइएको छ ।

त्यसयता भारतमा चिनियाँ कम्पनीका उत्पादन बन्द गरिनुपर्ने आवाज उठेको छ ।

‘भारत–चीन सिमामा भएको झडपमा हाम्रा केही बहादुर सैनिक सहिद भए । आइपिएलको कार्यकारी समितिले चिनियाँ पक्षसँग सम्झौताका विषयमा अब कसरी अघि बढ्ने भनेर वार्ता गर्ने निर्णय गरेको छ,’ आइपिएफले ट्विटरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सिजन कोरोना भाइरसका कारण प्रतियोगिता पटकपटक स्थगन हुँदै आएको छ ।

तर पनि आइपिएल यस वर्षको अन्त्यसम्म पनि प्रतियोगिता आयोजना गर्ने आशामा छ । ‘सबै चाइनिज सामान प्रयोग बन्द गरौं,’ भारतका स्पिनर हरभजन सिंहले ट्विट गरेका छन् ।

भारतीय ओलम्पिक कमिटी (आइओए) ले पनि चिनियाँ किट उत्पादक कम्पनी ली निङसँग प्रायोजक रद्द गर्ने विषयमा छलफल जारी रहेको बताएको छ ।

‘ली निङसँग हाम्रो सम्झौता टोकियो ओलम्पिकसम्मका लागि हो । लकडाउनपछि बस्ने कार्यकारी समिति बैठकपछि मात्र आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नेछौ, आइओएलका महासचिव राजीव मेहेताले भनेका छन् —‘हामी राष्ट्रको साथमा छौं । हामी हाम्रा बहादुर सहिदको गरिमामा आँच आउने कुनै कार्य गर्दैनौ ।’