कोरोना र कर्फ्युका बिच तिजको लहर

-- लक्ष्मी पोखरेल, मेलवर्न / प्रकाशित मिति : बिहिबार, भदौ ४, २०७७
शुक्रबार ५ भाद्र २०७७ अथवा २१ अगस्त २०२० हाम्रो धर्म र संस्कृति अनुसार हरेक वर्ष भाद्र शुक्लपक्षको तृतीया तिथिका दिन मनाइने पर्व तिज अथवा हरितालिकाको दिन । चार जात छत्तीस वर्ण बहुभाषिक बहुसांस्कृतिले चिनिने तर भौगोलिक हिसाबले धरै सानो देश हाम्रो नेपालमा विश्वका अरू देशहरूको तुलनामा धेरै चाडपर्वहरू मनाउदै आइएको छ । तिनै मध्येको भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने एक चाड हो तिज। यो नेपाली हिन्दु नारीहरूको लागि विशेष महत्व, आस्था र विश्वास बोकेको चाड हो । चार दिनसम्म मनाइने यो पर्बको पहिलो दिन हो द्वितीया अथवा दर खाने दिन । चलि आएको मान्यता अनुसार यस दिन विवाहिता नारीहरूलाई माइतीबाट बाबुआमा तथा दाजुभाइले घरमा निमन्त्रणा गरी उपहार दिनका साथै मिठो मसिनो खुवाउने, बिबाह पश्चात पराइको घरमा आफ्ना दिन बिताउदाको पिडालाई केहि हद र दिनसम्म कम गर्ने, मनका भावना र दुःख सुख साटासाट गर्ने, सबै दिदी बहिनीहरू संगै जम्मा हुने, एकै ठाउँमा बस्ने, खाने नाचगान गर्र्दै, रमाइलो गर्ने, पराइ घरको विभिन्न जिम्मेवारी, तनाव र माइतीको सम्झनाको खाल्डोलाई केहि हदसम्म कम गर्ने अवसरको रूपमा यस पर्वको ठूलो महत्व रहेको पाइन्छ।
पौराणिक कथा अनुसार राजा हिमालय र रानी मेनकाले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसंग गराइदिने वाचा दिएका थिए, जुन कुरा पार्वतीलाई मन नपरेपछि विष्णुसंग विवाह गर्न नपरोस् भनि आफुले मन पराएको बर पाउन आफ्नी साथी संगीनीहरू द्वारा हरण गरिएर जंगलमा पुराईएपछि उनले शिवजीको घोर तपस्या गर्न थालिन् । तपस्या गरेको अधिक वर्ष हुँदा पनि आफुले गरेको तपस्याको फल नपाउंदा एकदिन उनले समुद्र किनारमा बालुवा माथि शिवलिङ्गको स्थापना गरी, पानी पनि नपिइकन निलाहार ब्रत बसेकी थिइन् । साँझमा पूजा गरेर रातको समयमा नाचगान गरी बिहान सूर्योदयमा जल चढाउदा पार्वतीको कठोर ब्रतको कारण शिवजी खुशी भई स्वयम् प्रकट हुँदै प्रत्येक्ष दर्शन दिनुभयो र चिताएको पुगोस् भनि आशिर्वाद दिएपछि पार्वतीको इच्छा अनुसार शिवजीसंगै विवाह हुन पुग्यो, जुन दिन भाद्रशुक्ल तृतीयाको दिन थियो । सोही समयदेखि यस कुरालाई विश्वास गर्र्दै हिन्दू महिलाहरूले यस दिनलाई एउटा महान चाडको रूपमा मनाउदै आएको पाइन्छ । यसदिन विवाहिता महिलाले आफ्नो अखण्ड सौभाग्य र पतिको सुस्वास्थ्य अनि दीर्घायु र सफलताको कामना गर्दै पूर्ण रूपमा निराहार ब्रत बस्ने चलन छ भने अविवाहिताहरू ले सुयोग्य, पढे लेखेको, सम्पन्न परिवारको वर पाउने आशा राखी यो ब्रत बस्ने चलन छ ।
डिसेम्वरको अन्तिमतिरबाट चिनको बुहान हुदै संसारभरी द्रुत गतिमा फैलिएको कोभिड-१९ ले आज अगस्तको तेस्रो हप्तासम्म आइपुग्दा करिब आठलाख भन्दा बढिको ज्यान लिइसकेको छ भने विश्वका करोडौं मानिसहरू संक्रमित भैसकेका छन् । यो संख्या दिन दुई गुणा त रात चौगुणाले बढ्ने क्रम अझै निरन्तर जारी छ । यसले धनीका महलदेखि गरिबका झोपडीसम्म,राजकुमारदेखि राष्ट्रप्रमुख सम्म, नेतादेखि अभिनेतासम्म, ठूला देखि साना सम्म, विद्वान देखि मूर्ख सम्म सबैलाई मृत्युको त्रासमा घर भित्रै बन्देज हुन बाध्य गराइरहेको छ । यसरी कोभिड-१९ बाट विश्व आतंकित भैरहँदा अष्ट्रेलिया पनि यसको प्रभावबाट अछुतो रहन सकेन । यसै क्रममा अष्ट्रेलियामा पनि मार्चको तेस्रो हप्ताबाट शुरू भएको बन्दाबन्दी आज अगस्तको तेस्रो हप्तासम्म आइपुग्दा अन्य राज्य केहि सहज देखिए पनि भिक्कोटोरिया राज्य र मेलबर्न शहरमा भने कर्फ्युको  कहरमा घरबाट निस्कने कल्पना गर्न समेत डराउनु पर्ने, अनिवार्य मास्क लगाउनु पर्ने, सम्बन्धित निकायबाट अनुमती लिएर मात्रै बाहिर निस्कन पाउने प्रावधान रहेको छ ।
पेशाले म एक नर्स, यस महामारीको समयमा हामी स्वास्थ्यकर्मीहरू सबैको आश र भरोसाका केन्द्रबिन्दु ! त्यसैले मैले पनि यस विषम परिस्थितिमा आपूलाई कमजोर, डरपोक र दायित्वच्यूत नगराइ आफ्नो कर्तब्यमा निरन्तर लागेर विरामीको उपचारमा कोरोनासंग लड्ने राष्ट्रिय अभियानमा फ्रण्ट लाइनमा रहेर “अहिले नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने” भन्ने प्रणका साथ शुरू देखि नै कोभिड-१९ बिरामीको साथमा नै खटिएर पेशागत काम गरि रहेकी छु । यस्तो त्रासका बिच सुनसान र सन्नाटापूर्ण वातावरणमा लकडाउनको पाँच महिना ब्यतित भै सक्दा पनि मेरो दिनचर्यमा केही खुम्चिन देयकी छैन ।
आज भाद्र ५ शुक्रवारका दिन “फेरी पनि आफुलाई सुरक्षित राखेर जोगाएर काम गर्नु ” भन्ने घर परिवारको आशिर्वाद शिरोपण गर्दै घरबाट गाडीमा सडकतिर निस्कदै गर्दा गगनचुम्बी भवनहरू, ट्रेन स्टेशन, सपिङ्ग कम्प्लेक्स आदि सबै सुनसान र शहर सबै ठप्प भएको देक्ता सोच्न बाध्य हुन्छु, यो सहरमा २४ घण्टा तँछाड मछाड गर्दै, धैर्यता गुमाउदै गाडि दौडाउनेहरू आज घर भित्रै बसेर हात धुनमै व्यस्त होलान् । बम, बारूद र मिसाइल किन्न प्रतिस्पर्धा गर्नेहरूअमाजोनबाट सामान्य मास्क, ह्याण्ड स्यानिटाइजर, ट्वाइलेट पेपरहरू अर्डर गर्दै होलान् अनि वेजिङमा ब्रेकफास्ट, लण्डनमा लञ्च गदै डलासमा डिनर गर्न पुनेहरू आफ्नो भान्सामा परिवारसंग पास्ता उमाल्दै होलान्, अनी किन नहोस्त सडक सुन्सान। केही महिना अगाडि सम्म मानव जातिका लागि संसारमा सबैभन्दा बस्न योग्य र लायक रहेको मेलबर्न शहर, आज सायद काभिड-१९ पनि यसको सुइंको र स्वाद पाएर होला पछिल्लो समय यसको संक्रमित बढ्दै जाँदा  मेलबर्न र यसका आसपासका सहरहरू मा ठप्प कर्फ्यु लागेको छ । रातीको सान्नाटालाई छोडेर, हरेक दिन बिहान ५ बजेदेखि  बेलुकी ८ बजेसम्म फाटफुट पैदल यात्री, एम्बसलेन्स, प्रहरीका गाडी, अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरूका गाडी बाहेक अरू लगभग सुनसानै छ । खाद्यान्न र औषधि पसल बाहेक अरु सबै ठ्याप्प छ । अत्यावश्यक काम बाहेक अरू कसैलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दैै कडा कारवाहीका चेतवनी दिदै सडकमा प्रहरी र सैनिक समेत खटाइएका छन् ।
संचार र यातायातको क्षेत्रमा बिज्ञान र प्रविधिको विकासले विश्वलाई नै साँघुरो बनाएर, एउटै सिङ्गो देश जस्तो बनाइ दिएको छ । जसले गर्दा हामी नेपालीहरू पनि विश्वका प्राय सबैजसो देशहरूमा छरिएर रहन पुगेका छौं । हामी विश्वका कुना काप्चामा जहाँ जसरी रहेको भएता पनि “यो मन त मेरो नेपाली हो” भनेझैं आफ्नो संस्कार, परम्परा, चाल चलन, रिती रिवाज संगै नै बोकेर हिडिरहेका हुन्छौं । जुन क्रममा हामीले आफ्ना परम्परागत चाडवाडहरू पछ्याउंदै  विदेशी भूमिमा पनि आफ्नो मौलिकताको परिचय दिन पछि परेका छैनौं । यसै क्रममा यस तिज पर्व नेपालमा मात्रै नभएर विश्वभरी फैलिएर रहेका हरेक नेपाली चेलीका लागि एउटा मन पर्ने चाड हुन पुगेको छ । यसलाई नारीहरू को विवाहको श्रृङ्गारको पर्बको रूपमा पनि लिइन्छ । हुन पनि पश्चिमेली सभ्यताको फेसनलाई पछ्याउंदै दिनहूँ कस्सिएको जिन्स पाइण्ट र टिसर्ट र अग्ला हिलका तडक भडकमा वाक्क भएका हामीहरू यो पर्वमा विवाहको श्रृङ्गार जस्तै गरी हातमा मेहन्दी लगाई हरिया, पहेंला, राता चुरा, पोते, टिका, साडी, लेहंगा र गर-गहनामा सजिएर नव दुलही जस्ती देखिंदा आँखामा विछट्टै नेपालीपन पाउनु, छाती भित्र नेपाली छायाँ त अन्तर मनमा नेपाली मायाँ पाउनुको मज्जा नै बेग्लै हुने हुंदा यो पर्ब भगवान शिवलाई मात्रै नभएर मेरा लागि पनि औधि नै मन पर्ने चाड हो भन्दा फरक नपर्ला ।
तर यस बर्ष तीजको कुरा गर्दा, कोभिड-१९ को असर संसार भरी रहेका नेपाली दिदी-बहिनीहरू मा केही हदसम्म परेतापनि हामी मेलबर्नवासिहरू लाई भने यसको असर छर्लङै देखिएको छ । चेलीहरू लाई पाँच किलोमिटरको दूरीमै रहेको माइती घर र आमाको हातको दर पनि अर्को साल सम्मको लागि बासी नै  रहिरहने भएको छ । बिगतका तीजहरु संझदा, फोटो र भिडियो हेर्दा फुरूङ्ग हुने अनुहार र मन यस पटक त खर्लप्पै बादलले ढाकिदिएकोछ । फेसनमा लर्किंदै शिव मन्दिर जाने, चर्को घाममा, खालि पेटमा चम्किदै मन्दिरको प्राङ्गणमा नाच्ने रहरलाई यो वर्ष त पूर्ण  विराम नै लागेको छ । जस्ले गर्दा कता कता मन र मुटु नै नराम्रो संग कुंडिइरहेको छ । आँखा टिलपिल टिलपिल हुदै आँशुका ढिका खस्न तयार भएरहेका छन ।
चलि आएको परम्परा अनुसार यस दिन विवाहिता महिलाले निराहार ब्रत बस्नु पर्ने भएता पनि मेरो आफ्नो मान्यतामा पानी पनि नपिइ दिनभर निराहार ब्रत बस्दा शरीरलाई केही हानी नोक्सानी हुने हुदा हरेक वर्ष श्रीमान् कै अनुमतीमा मेरा ब्रत भने जलाहार फलाहारका साथ पूरा हुन्छन् । हुनत आजका दिनमा पनि ब्रत नवसी काममा हुइंकिदा कताकता आफैंलाइ आफुले गल्ती गरें की ? भन्ने महशुस गर्न पुगेकी छु ।
तर, गौतम बुद्धले भनेझैं अनिकाल र महामारीमा धर्मको पालना गर्नु त टाढाको कुरा हुन्छ, त्यसको वारेमा चिन्तन गर्न पनि कठीन हुन्छ भने कतै सुनेकी थिए, कर्म नगरी अगरबत्ती बाल्दैमा र माला चढाउंदैमा भगवानले  पनि मनोकामना पूरा गर्दैनन् । जुन कुराले मेरो चेतनामा झापड हानेको गहिरो प्रवाह हुन्छ अनि आफैलाई महसुस हुन्छ कि भगवानले बाँडेका दुई समूह मानव मध्ये एक समूह सेवा लिने हुन्छ त अर्को समूह सेवा दिने, भनेझैं यस बिपत्तिको घडीमा अग्र पंक्तिमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको नाताले ब्रत बस्दै भगवान जप्नु भन्दा ड्यूटीमा खटिएर विरामीको जीवन रक्षामा फरक ल्याउन सकेकोमा नै मलाई बढी आत्म संतुष्टि मिलेको पाउंछु । यस्तै यस्तै दैनिकिका बीच यसरी विरामीको उपचारमा समर्पित भएर काम गर्दै जाँदा कहिले आठ घण्टा त कहिले दश घण्टा हुदै बाह्रौं घण्टा बितेको पनि पत्तो न पाइदै गाडीमा घर फर्किदै गर्दा “बनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ ” भने झै यो अदृश्य भाइरस मेरै शरीरमा कतैबाट प्रवेश गर्यो कि ? यो कतै म भित्रै पसेर मेरै खिल्ली त उडाइरहेको छैन ? कतै मैले मेरै घर परिवारलाई संक्रमित गराउने त होइन ? भन्ने जस्ता प्रश्नहरू मनभरी खेलिरहन्छन् ।
भनिन्छ कुनै पनि बिपत्ति, महामारी विज्ञापन दिएर आउदैन तर यो महामारी भने आजभन्दा करिब आठ महिना अघि नै चिनबाटै बिज्ञापन दिदै र बाजा बजाउँदै आए तापनि विश्वका शक्तिशाली मानिएका राष्ट्रहरू अमेरिका, यूरोपियन मुलुकहरू, अष्ट्रेलिया लगायतका अरु शक्तिशालि राष्ट्रहरू लाई पनि आत्थु-आत्थु र आतंकित  बनाइरहेको छ । भनिन्छ यो आहिले विश्वमा दोस्रो विश्वयुद्ध पछिकै ठूलो चुनौतिको रुपमा रहेको छ । सबैभन्दा ठूलो आर्थिक मन्दी पनि ल्याएको छ र समस्यै समस्याको चाङ्ग लगाइ दिइरहेको छ । यस महामारीको कालो बादलले मानव सभ्यतामा नै प्रश्न चिन्ह खडा गराएको छ । आकाश पुरै मडारिइरहेको भान भएको छ र आजका पुस्ताका हामी सबै यो भाइरसको त्रास र बिनाशको एउटा कालो अध्यायको भोलीको इतिहासको साक्षि बन्न पुगेका छौं ।
RobertFrost ले कतै भने झैं Benjamin Franklin बिजुली बत्तिको आविष्कार गर्नु अघि इशारा बुझ्न धेरै पटक आकाशमा बिजुली चम्केका थिए होलान् त  Newton ले संकेत बुझ्नु अघि सयौं टाउकाको अगाडि हजारौं स्याउहरू पक्कै खसेका थिए होलान् ।  त्यसैले प्रकृतिले मानव जातीलाई सधैं इशारा गरी राखेकै हुन्छन् । कुनै समयमा अचानक ब्यूझिए झैं हामी बल्ल त्यस इशारालाई बुझ्न सक्छौं भने झैं यस कोभिड-१९ ले पनि केही इशारा त पक्कै गरिरहेकै छ । आशा गरौं यसलाई बुझ्न आजको २१ सौं शताब्दीमा पनि  कुनै Franklin र Newton त पक्कै पनि जन्मेका होलान् । भनिन्छ कुनै पनि कालो बादलमा चाँदीको घेरा हुन्छ आज हामी त्यही चांदीको घेराको खोजिमा छौं । मानव समुदाय र जिवाणु (भाइरस) बिचको यो चुनौतीलाई तेसो विश्वयुद्धको रूपमा लिइएको छ तर यसलाई सकारात्मक रूपमा मनन गर्दा विश्वव्यापी रूपमा विभिन्न देशहरू बिच भैरहेका द्वन्द र आतंककारीबाट हुने युद्ध, एक देशले अर्को देशलाई आरोप प्रत्यारोप भने केही हदसम्म कमी आउन थालेकोले “वसुदैव कुटुम्बकम्” भन्ने शब्दको अर्थ दिए जस्तो पनि लाग्छ ।
व्यक्तिगत रूपमा नियाल्दै जाँदा केही समयकै लागि भए पनि मानिसहरूलाई दौडधुप र तनाव बिनाको जिन्दगी, घर परिवारसंगको मिलन, घर र करेसावारीको काममा व्यस्तता हुनु, उद्योग, कल कारखानाहरू को संचालनमा कमी आउंदा विशालु ग्यासहरू कार्वन मोनोअक्साइड जस्ता वायुमण्डलमा कम हुनु र ओजोन लेयरमा समेत राम्रो प्रभाव परेको पाइएको छ । त्यसैले अहिले घर भित्रैको लकडाउनको अनिश्चित यात्रामा रमाएर बाँचौं । अहिलेको लकडाउन र कर्फ्यु हाम्रा लागि लक्ष्मण रेखा जस्तै बनेको छ । हुन पनि सीता जब सम्म लक्ष्मण रेखा भित्र थिइन् तवसम्म उनी सुरक्षित थिइन् जब रेखा पार गरिन रावणको षडयन्त्रमा फस्न पुगिन । त्यसैले हामीलाई अझै थाह छैन कहिले उठ्ने हो यो दलदलबाट मानव समुदाय । तेसैले हामीले आत्म रक्षाको लागि आत्मबल नै बढाएर आपूलाई सुरक्षित राख्नु पर्ने हुन्छ । हुनत यो रोग लाग्ने बित्तिकै सबै मान्छे मरी हाल्ने पनि होइन, त्यसैले आत्तिइहाल्नु पर्ने अवस्था पनि देखिदैन । रोग लागि हाले पनि हरेक व्यक्तिको शरीरमा रोग प्रतिरोधात्मक शक्ति हुन्छ त्यसैले रोग लागिहाले पनि यो रोगसित लड्न सक्छु भन्ने मनोबल बढाइ सकारात्मक सोच बनाउन सक्नु पर्छ । खान-पिनमा ध्यान दिने, शारीरिक व्यायमहरू गर्ने, सरसफाइमा ध्यान दिने र इम्यूनो सिस्टम बढाउने खालका कुराहरू मा केन्द्रीत हुनु पर्छ ।
विगतका केही दिनदेखि सामाजिक संजालमा आएका समाचारहरू हेर्दा विश्वव्यापी कोरोना महामारी बृद्धि हुँदा पनि देश विदेशहरू मा रहेका हामी नेपाली नारीहरू लाई तिजको मोह र रौनकले छाएको उत्तिकै देखिन्छ । यस्तो महामारी र विश्वव्यापी सम्बेदनशिल समयमा पनि हामीहरूले परिस्थितिलाई नबुझेर साथीभाई, चेलीबेटी  घरमा जम्मा भई सामुहिक खानपान, नाचगान, लगायतका तडक-भडक गरी कार्यक्रमगरेको समेत सामाजिक सञ्जालका भित्ताहरूमा देख्नुपर्दा कता कता अप्ठेरो एवं लज्जाको महसुस गर्नु परेको छ । त्यसैले दिदी-बहिनी, साथीभाइहरू यस विषम परिस्थितिलाई आत्मसाथ गर्दै यस तिजमा आफु पनि पाहूना बनेर अरूकोमा नजाऔं र अरूलाई पनि बोलाएर पाहूना नबनाऔं । स्वस्थ्य र सुरक्षित रहेमा अर्को साल संगै दर खाऔंला, नाचौंला, गाउंला, ब्रत बसौंला । यस वर्ष घर भित्रै बसौं, परिवारसंग नाचौं, गाऔं, रमाऔं । त्यसैले यस पालाको तिजको शुभकामना दैनिक पटक-पटक साबुन पानीले हात धाऔं, ह्याण्ड स्यानिटाइजर प्रयोग गरौं, आपसमा सामाजिक दूरी कायम राखौ, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौं । नेपाल र विश्वभरी छरिएर रहनु भएका सम्पूर्ण नेपाली दिदी-बहिनी, आफन्त, साथीभाइहरू मा हरितालिका २०७७ को सुखद उपलक्षमा तपाईंहरूको अखण्ड सौभाग्य, पतिको दीर्घायु, सुस्वास्थ्य र सफलताको कामना गर्दै  तपाइंहरू सबैको ब्रत सफल होस्, इच्छाएको पुगोस्, यही छ मेरो शुभकामना, यही हो मेरो लागि तिज ।