सरकारविरुद्ध लागेको भन्दै राजदूत उपाध्याय फिर्ता बोलाउने निर्णय

-- / प्रकाशित मिति : शुक्रबार, बैशाख २४, २०७३

सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओली नेतृत्वको गठबन्धन सरकार ढाल्न काठमाडौं आएर राजदूत उपाध्याय आफैं सक्रिय बनेको, मधेसवादी दलहरुलाई उक्साएको, भारतीय राजदूत रणजीत रेसँग तराईका जिल्लामा संयुक्तरुपमा कार्यक्रम गर्दै हिँडेको र परराष्ट्रको जानकारीबिना भारतमा भएका कार्यक्रममा सहभागी हुँदै हिँडेको आरोपमा फिर्ता बोलाइएको हो ।

सरकार परिवर्तनको चलखेल भइरहेका बेला राजदूत उपाध्याय तीन दिनअघि दिल्लीबाट काठमाडौं आएर एक दिन बसेर फर्किएका थिए ।

तर राजदूत उपाध्यायले कांग्रेसका नेताहरुसँग आफू राजदूत पदबाट राजीनामा दिने मुडमा रहेको जानकारी गराएको स्रोतले जनाएको छ ।

पूर्वमन्त्रीसमेत रहेका उपाध्यायलाई सुशील कोइराला नेतृत्वको सरकारले डेढ वर्षअघि भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।