जोसुवाको विश्व कीर्तिमान

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

युगान्डाका धावक जोसुवा चेप्टेगेईले अगष्ट १५ का दिन फ्रान्सको मोनाकोमा भएको डायमन्ड लिगअन्तर्गत पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेर नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । युगान्डाका २३ वर्षीय जोसुवाले निर्धारित ५ हजार मिटरको दौड १२ मिनेट ३५.३६ सेकेन्डमा पार गर्दै नयाा कीर्तिमान रच्न सफल भएका हुन् । सन् २००४ मा इथियोपियाका केनिनिसा बेकेलेले पाँच हजार मिटरमा बनाएको १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमानलाई उनले तोडेका हुन् । जोसुवाले अघिल्लो वर्ष कतारमा भएको १० हजार मिटरमा पनि उपाधि उचाल्दै विश्व च्याम्पियन बनेका थिए । गत फेब्रुअरीमा जोसुवाले ५ किमी दौडमा कीर्तिमान बनाएका थिए । अगष्ट १५ को कीर्तिमानसंगै जोसुवाले दोस्रो पटक विश्व कीर्तिमान बनाएका हुन् । ‘मोनाको मेरा लागि विशेष ठाउँ हो र मैले विश्व रेकर्ड बनाउने एक ठाउँ हो,’ जोसुवाले भने— ‘यो वर्ष मेरा लागि धेरै प्रेरणा मिल्यो। किनभने यो अवस्थामा धेरै मानिसले मलाई घरबाट नै समर्थन दिइरहेका छन् । जसले गर्दा मलाई प्रेरणा मिलेको हो ।’ यसबाहेक विश्व च्याम्पियनको उपाधि उचालि सकेका जोसुवाले २ सय मिटरमा १९.७२ सेकेन्ड को समय निकाल्दै आफ्नो खुबी प्रमाणित गरेका छन् ।