विवाहको निर्णय परिवारलाई दिएको छु : यम बराल

-- नारायण खड्का / प्रकाशित मिति : सोमवार, बैशाख २७, २०७३

Yam Baral Interviewकरिब डेढ दशकदेखि नेपाली संगीत क्षेत्रमा लागिपरेका युवा गायक यम बराल नेपाली संगीत क्षेत्रमा चिनाइरहनु पर्ने नाम हैन् । सयौं सुमधुर र सदाबहार गीतहरू नेपाली संगीत क्षेत्रमा दिइसकेका गायक बराल करिब ३ साता लामो सांगितिक टुर लिएर अष्ट्रेलिया आएका थिए । उनीसँगै आएका गायक सनुप पौडेल र गायिका आकांक्षा बस्याल सिड्नी र एडिलेडको प्रस्तुती सकेर चाँडै नेपाल फर्किएपनि उनी तास्मानिया, मेलबर्न लगायतका स्थानमा सांगितिक प्रस्तुती दिएर हालै नेपाल फर्किएका छन् ।
आफ्नो उचाइमा रहेको सांगितिक करियरलाई छाडेर अमेरिका हानिएका बरालले त्यस समयदेखि यता भने त्यसरी नै आफ्नो उचाई छुने गरि गीतसंगीत दिन सकिरहेका छैनन् । तरपनि उनको कोशिष भने जारी छ उनकै शब्दमा । कुराकानीका क्रममा त्यतिबेला लिइएको निर्णयप्रति पछुतो मान्ने बराल अब नेपाली गीतसंगीतमा फेरि जमेर संघर्ष गर्ने धुनमा मात्र छैनन् कि त्यही उचाईलाई पुर्नस्थापित गर्ने अभियानमा छन् ।
उनको सांगितिक करियरमात्र नभएर उनले परिवार, सानो छोरा, नेपाली गीतसंगीत, यसका आएको परिवर्तन आदीका बारेमा खुलेर कुरा गरेका छन् । आफुलाई अवसरको खाँचो रहेको खुलेर भन्न चाहने उनी आफ्ना सहकर्मीहरू मात्र नभएर अहिले आउँदै गरेका नयाँ पुस्ताहरूसँग पनि काम गर्न इच्छुक देखिएका छन् । यसैगरि उनले भविश्यका योजनाहरू समेत खुलस्त सुनाएका थिए । मुख्यत: मिडिया र संगीतकर्मीहरूसँगको सम्बन्धलाई परिमार्जित गर्नुपर्ने आवश्यक्ता औल्याउँदै उनले नेपाल फर्किएर गीतसँगीतको क्षेत्रमा नै नयाँ ढंगले लागिपर्ने योजना सुनाएका थिए । सांगितिक प्रस्तुतीका लागि एडिलेड आएका बेला गायक बरालले कार्यक्रमस्थलकै ड्रेसिङ रुपमा द नेपाली टाईम्ससँग करिब आधा घण्टा कुराकानी गरेका थिए ।
तपाईलाई नेपाली गीतसंगीतको क्षेत्रमा अहिले यम बराल कहाँ छ जस्तो लाग्छ ?
हेर्नुस, म त्यही यम बराल हो । त्यही कला, गला र क्षमता भएको यम बराल नै हो । तर समय परिवर्तनशील छ र नेपाली संगीत क्षेत्र समेत परिवर्तन भएको छ । धेरै क्षमतावान भाइवहिनीहरू नेपाली गीतसंगीत क्षेत्रमा आउनु भएको छ । समयकालमा आएको परिवर्तनलाई त हामी सबैले स्वीकार गर्नैपर्छ र म पनि त्यसलाई अस्विकार गर्ने पक्षमा छैन् । तरपनि यम बरालले नेपाली गीतसंगीतमा जे गरेको छ त्यसमा अहिलेपनि कुनै कमी आएको छैन् र त्यो निरन्तर रहनेछ ।
तपाईलाई लाग्दैन, यम बराललाई नेपाली स्रोता दर्शकहरूले बिर्सिन लागिसकेका थिए भनेर ?
त्यस्तो त अवश्यै हैन । हेर्नुस, हो समयकालमा आफु जुन स्थानमा थियो त्यसलाई छोडेर गएकाले कहीं स्रोताको मायामा कमी आएको हो की जस्तो भान भएको हो तर वास्तवमा त्यो पनि होइन रैछ । म यहाँ जहाँ जान्छु, दर्शक र स्रोताहरूले दिएको मायामा केही कमी पाएको छैन् । यसले त मलाई अझ उत्साह मात्र दिएको छैन कि नेपाली संगीतमा पहिलेको भन्दा अझै धेरै गर्ने हौसला थपिदिएको छ । दर्शकहरूकै कारणले संगीतकर्मी बाँच्ने कारणले समेत संगीत नै मेरो जीवन हो । र उहाँहरूको माया ममता पाइनै रहेको छु ।
आफुले त्यो उचाईको आफ्नो सांगितिक करियर छोडेर जानुभयो । अहिले सोच्दा पछुतो हुँदैन ?
मैले सायद समयलाई चिन्न सकिन । त्यतिबेलाको समयलाई मैले बुझेर सही निर्णय लिन सकिन की भन्ने भान कहिलेकाँही हुन्छ । तरपनि, बितेको कुरालाई लिएर पछुताउनुभन्दा पनि त्यसलाई अवसर र शिक्षाको रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ । सोही अनुसार म आफ्नै योजना बनाइरहेको छु । मेरो त्यतिबेलाको सांगितिक उचाईलाई फेरि पाउनका लागि सायद मैले नयाँ किसिमको संघर्ष गर्न जरुरी छ भन्ने सोचका साथ म योजना बनाएर अघि बढिरहेको छु ।
नयाँ योजना भन्नुभयो । के छन त यम बरालका नयाँ योजनाहरू ?
पहिले त के भन्न चाहन्छु भने केही समयमा नै दर्शक स्रोताले नयाँ यम बराल देख्नुहुनेछ । नेपाली संगीतको क्षेत्रमा । यम बरालको नेपाली संगीतको क्षेत्रमा आजभन्दा १० बर्षअघि जुन स्थान थियो त्यही स्थानलाई आफ्नो बनाउन मैले गर्नुपर्ने मेहनत लगायतका सबै काम गर्नेछु । अर्काेतिर अहिलेका नयाँ र पुराना कलाकार, संगीतकार, निर्माता, गायक गायिका सबैसँग नयाँ किसिमले काम गर्नेछु । मैले अहिलेसम्म गीत संगीतकै लागि भनेर मेहनत गरेको वा भनौ बाँचेको हो । त्यसैले समेत मैले जीवन बिताउने र संघषर््ा गर्ने पनि संगीतकै लागि हो । र जसका लागि म लागिपरेको छु र लागिपर्नेछु । गीतसंगीत बिनाको यम बराल कल्पना गर्न सकिंदैन भने यम बरालले समेत गीत संगीत बिना आफूलाई कल्पना गर्न सक्तैन ।
१० बर्षपछि फेरी सक्रिय रुपले गीत संगीतमा आउन कत्तिको समस्या अनुभव गरिरहुन भएको छ ?
समस्या त छैन तर आफुले बनाएको सम्बन्धलाई चाहिं नविकरण गर्नुपर्ने आवश्यक्ता देखेको छु । मिडिया, सहकर्मी साथीहरू र नयाँ आएका गायकगायिकाहरूसँग नयाँ किसिमले सम्बन्ध बिस्तार गर्नुपर्ने आवश्यक्ता चाहिं देखेको छु र त्यसैकै लागि काम गरिरहेको छु । नेपाल गएपछि पनि मैले गर्ने भनेको गीतसंगीत क्षेत्र सम्बन्धी काम नै हो । मैले पहिल्यै भनिसके कि गीतसंगीत बिना म बाँच्न सक्तिन त्यसैले समेत गीतसंगीत क्षेत्रमा नयाँ तवरले आउन लागेको हो । मैले जे गरेको छु गीत संगीतकै लागि गरेको छु त्यसैले समेत म यसै क्षेत्रमा नयाँ किसिमले आउने हो ।
प्रसंग बदलौं, तपाईको पारिवारिक सम्बन्धमा उतारचढाव आयो । कसलाई दोषी देख्नुहुन्छ ?
हेर्नुस, अब कसलाई दोष दिने र ? दोष दिने भन्दापनि समयको चक्र भन्ने किसिमले बुझ्छु म । एकपक्षबाट मात्र भएको गल्तीले सम्बन्ध बिग्रीने कुरा हुँदैन् । उनको पनि केही गल्ती थियो मेरो पनि केही गल्ती थियो । अर्काे शब्दमा, एकआपसको गल्ती औल्याउनु भन्दापनि हाम्रो एकअर्काप्रतिको रोजाई नै गलत थियो सायद । अब जे भयो विगतमा अलमलिएर बस्न नमिल्ने रैछ । अनि फेरि सानो छोराको पनि जिम्मेवारी आफ्नै काँधमा रहेको र आमा बुबा दुबैको भूमिका आफैले निभाउनुपर्ने कारणले समेत मैले संगीत क्षेत्रलाई भरपुर समय दिन सकेको थिइन् ।
युवा नै हुनुहुन्छ । फेरि ब्यक्तिगत जीवनलाई नयाँ ढंगले लैजाने सोच बनाउनु भएको छ की ?
मैले यो सबैकुराको जिम्मा मेरो परिवारलाई दिएको छु । परिवारले जे निर्णय गर्नुहुन्छ मैले त्यसलाई स्वीकार गर्छु भनेको छु । तर अबको समयमा पहिलेको जस्तै गल्ती नहोस भन्ने पक्षमा छु । एकातिर छोरा सानै भएकाले समेत उसलाई समेत माया ममता आवश्यक पर्ने रहेछ । तरपनि, हेरौं, मैले निर्णय लिइसकेको छैन् । मेरो परिवारले यदी मन मिल्ने र मलाई बुझ्ने ब्यक्ति भेटिदिनुभयो भने म जीवनलाई नयाँ ढंगले लैजान पनि सक्छु ।
अन्त्यमा, तपाईको भविष्यका योजनाहरू के छन त ?
मैले पछिल्लो समयमा बुझेको के हो भने गायक मात्र भएर गीत मात्र गाएर नहुने रहेछ । अब हामीले स्टेज परफरमेन्समा समेत बिशेष ध्यान दिनुपर्ने रैछ । त्यसमा बिशेष ध्यान दिनेछु । सकेसम्म आफ्नो सांगितिक कार्यक्रम लिएर म बिभिन्न स्थानहरूमा जानेछु । अर्काेतिर संगीत क्षेत्रमा नयाँ ढंगले जम्ने कोशिषमा सम्बन्ध बिस्तारमा लाग्नेछु । देशविदेशमा रहेका स्रोता र दर्शकहरूले दिनुभएको सल्लाह र हौसलालाई मनमा लिएर अन्तिम क्षणसम्म नेपाली गीत संगीतमा नै लागि पर्नेछु ।