टोकियो ओलम्पिकप्रति आयोजक सकारात्मक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र ६, २०७७

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण टोकियो ओलम्पिक २०२० एक वर्षपछिका लागि धकेलियो । यसबीच भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन त भए, तर सबै बन्द रंगशालामै । त्यसैले ओलम्पिक र पारा ओलम्पिकका क्रममा पनि दर्शकले प्रत्यक्ष मैदानमा उपस्थित भएर खेल हेर्न पाउँछन् वा पाउँदैनन् सबैको चासो बन्दै आएको छ । यसैबीच टोकियो ओलम्पिकका नवनियुक्त प्रमुख सेइको हासिमोतोले प्रतियोगिता दौरान दर्शकलाई प्रत्यक्ष रूपमा मैदान प्रवेशको अनुमतिबारे छलफल भइरहेको बताएकी छिन् । हासिमोतो गत साता मात्र टोकियो ओलम्पिक २०२० को प्रमुखमा नियुक्त भएकी थिइन् । तत्कालीन टोकियो ओलम्पिकका प्रमुख योसिहिरो मोरी महिलासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिका कारण पदबाट राजीनामा दिन बाध्य भएका थिए । टोकियो ओलम्पिक सुरु हुन अब मात्र ५ महिना बाँकी छ । हासिमोतोले अन्य खेलमा जस्तै ओलम्पिकमा पनि दर्शक प्रत्यक्ष मैदान प्रवेश गरेर खेल हेर्न पाउने बारेमा सकारात्मक छलफल भइरहेको बताइन् । यद्यपि मैदान प्रवेश गर्ने दर्शकको संख्या पहिले नै तोकिने उनको भनाइ छ । यसबारे केही दिनभित्रै अन्तिम निर्णय आउने उनले बताइन् । ‘हामीले विभिन्न सम्भावनाबारे अध्ययन गरिरहेका छौं । जब खाली मैदानमा प्रतियोगिता सुरु हुन्छ, खेलाडीले पक्कै पनि खल्लो महसुस गर्नेछन्,’ हासिमोतोले भनिन्, ‘किनभने अहिले भइरहेका विभिन्न खेलमा मैदानमा दर्शकको संख्या निर्धारण गरिएको छ तर प्रत्यक्ष रूपमा दर्शकलाई मैदानमा आएर खेल हेर्न भने बन्देज गरिएको छैन । हामीले ओलम्पिक र पाराओलम्पिकका दर्शकलाई प्रत्यक्ष रूपमा मैदान प्रवेशको अनुमति नदिए त्यो खेलाडी र समर्थक दुवैका लागि अन्याय हुन सक्छ ।’ ओलम्पिक अधिकारीले पनि प्रतियोगिता दौरान जापानिज समर्थक र विदेशी दर्शकको हकमा के हुने भन्ने बारे आगामी महिना आधिकारिक निर्णय आउने बताउादै आएका छन् । मार्च ७ मा टोकियोमा लगाइएको स्वास्थ्य संकटकाल अन्त्यसंगै विदेशी खेलाडीले टोकियो प्रवेशको अनुमति पाउने बताइएको छ । मार्चमै जापानमा विश्वकप छनोटको खेलसमेत हुनेछ ।