डिबीको भिडियोमा वर्षा

-- / प्रकाशित मिति : शुक्रबार, बैशाख ३१, २०७३

Barsha in new video_2

काठमाडौं—नायिका वर्षा शिवाकोटी यतिबेला चलचित्र ‘लप्पन छप्पन’ को छायांकनका लागि यूरोप पुगेकी छिन् । चलचित्रको तुलनामा म्युजिक भिडियोमा बढि सक्रिय हुने यी नायिकाले अभिनय गरेको पछिल्लो एउटा गीतको म्युजिक भिडियो भने काठमाडौंमा प्रिमियर गरिएको छ । गायक डि.बी.खड्काको ‘दुरी…’ गीतको म्युजिक भिडियो बिहिबार राती सार्वजनिक गरिएको हो । विगत एक दशकदेखि औपचारिक गायन तथा संगीतको अध्ययनमा व्यस्त गायक डि.बी. खड्काको यो गीतमा संगीतकार टेकेन्द्र नेपालीको संगीत तथा गीतकार होम न्यौपानेको शब्द सुन्न सकिन्छ । भिडियोको गीतमा शास्त्रीय तथा पश्चिमा संगीतको संयोजन गरिएको छ ।
यो भिडियोमा नायिका शिवाकोटीलाई मोडल आशिष नेपाल, हास्य कलाकार सुरेश थापा ‘दर्शने’ तथा कलाकार अनिता दंगालले अभिनयमा साथ दिएका छन् । हास्य श्रृंखला ‘मेरी बास्सै’ मा ‘दर्शने’ को भूमिका निर्वाह गरेर दर्शकमाझ लोकप्रिय भएका सुरेश थापा नै यो म्युजिक भिडियोका निर्देशक हुन् ।

यो गीत गायक खड्काको पहिलो एकल एल्बम ‘जलन’ मा समेत समावेश गरिनेछ जसलाई एल्बमलाई बुढासुब्बा म्युजिकले बजार व्यवस्थापन गर्नेछ । यसअघि गायक खड्काको संगीतमा गायिका मनिला सोताङको स्वरको ‘पृथ्वी पारी…’ बोलको गीत लोकप्रिय भएको थियो । गायक खड्का संगीत गुरु चण्डिप्रसाद काफ्लेका विद्यार्थी समेत हुन् ।
यस्तो छ भिडियो :

https://youtu.be/cFr0EFfnX1c