अमेरिकाको ईयू चेतावनी

-- NTA REP. / प्रकाशित मिति : आइतवार, जेष्ठ २, २०७३

युरोपेली संघ (ईयू) बाट बाहिरिए बेलायतलाई अमेरिकासंग व्यापार सम्झौता गर्न १० वर्ष लाग्ने राष्ट्रपति बाराक ओबामाले चेतावनी दिएका छन् । बेलायत भ्रमणमा रहेका ओबामाले बीबीसीलाई दिएको अन्तर्वार्तामा ‘कुनै कुरा पाउनुभन्दा अगावै अहिलेबाट पाँच वर्ष अथवा १० वर्ष बित्न सक्ने चेतावनी दिएका हुन् । ओबामाले बेलायतले ईयू छाडे विश्वव्यापी रूपमा यसको प्रभावसमेत कम हुने बताए । ओबामाको चेतावनीलाई बेलायतमा ईयू छाड्न अभियान चलाइरहेकाहरूले कडा प्रतिक्रिया दिएका छन् । द यूके इन्डिपेन्डेन्ट पार्टीका नेता निगेल फारागेले ओबामालाई बेलायत सरकारको नीति बक्ने अमेरिकी राष्ट्रपति भएको आरोप लगाएका छन् । उनले ओबामालाई दोहोरो मापदण्ड अपनाउने राष्ट्रपतिको संज्ञा दिँदै अमेरिकी चुनावमा बेलायतले हस्तक्षेप गर्ने हो भने उसले धैर्य गुमाउने दावी गरेका छन् । अमेरिकी चुनावको पूर्वसन्ध्यामा ओबामाको युरोपेली हस्तक्षेपलाई अमेरिकी डेमोक्र्याट पार्टीबाट राष्ट्रपतिको दौडमा रहेकी हिलारी क्लिन्टनले समेत सकारात्मक रूपमा लिएकी छिन् । उनले पनि बेलायतलाई संघबाट नबाहिरिन सुझाएकी छिन् । बेलायतले आगामी जुन २३ मा युरोपेली संघमा रहने वा नरहने विषयमा जनमत संग्रह गर्दैछ ।