स्थानीय राजनीतिमा हाम्रो उपस्थिति

-- सुजित सिग्देल (नेपाली टाईम्स अष्ट्रेलिया) / प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७८
अष्ट्रेलियामा रहेका पहिलो पुस्ताका हामी नेपालीहरु एउटा यस्तो पुस्ता हौ जो उमेर समुहमा केहि तल माथि हुदै गर्दा २०४६ देखि २०६२ सम्मका परिबर्तन देखेको भोगेको वा कुनै न कुनै किसिमले संग्लग्न छौ । अझ भन्नु पर्दा राजनीति बिकृतिबाट आजित, नेपालको अस्थिर राजनीतिले आक्रान्त यो पुस्ताले परिबर्तनको नाममा सधै आन्दोलन, आन्दोलन र फेरि आन्दोलन भन्दा अरु केहि देख्न पाएन । अस्त व्यस्त राजनीतिबाट अष्ट्रेलिया आएको यो पुस्ता नेपालको राजनीतिको बारेमा उदासिन पक्कै थिएन तर तिनमा एक किसिमको बितृष्णा पक्कै थियो । सायदै अब त्यस्तो रहेन, बिभिन्न कारणले देश छोडेको युवा पुस्ताले जन्मभुमिमा राजनीति नगरे पनि कर्मभूमि अष्ट्रेलियाको राजनीतिमा यतिबेला सशक्त उपस्थिति देखाएको छ।
केन्द्र, राज्य र स्थानीय  (federal, state or territory and local) गरि तिन तहको सरकारको उपस्थिति रहेको अष्ट्रेलियाका तिनै सरकारको नेतृत्व जनताबाट चुनिएका जनप्रतिनिधिहरु ले गर्छन ।  त्यसै अन्तर्गत एनएसडब्लु राज्यमा आउँदो डिसेम्बर ४ मा स्थानीय सरकारको लागि निर्बाचन हुदैछ । स्थानीय भनेको एक किसिमको जरो ( root level ) तह हो । यसैले पनि स्थानीय सरकारका प्रतिनिधिहरु आफ्ना टोल छिमेकमा भिजेका, आफ्ना साना भन्दा साना समस्यामा परिचत रहेर तिनलाई काउन्सिल सम्म लैजाने देखि, भोलि काउन्सिलको नेतृत्व मेयर छनोटमा सहभागी हुने प्रक्रियामा यिनीहरु सक्रिय रहनु पर्छ । यस पटकको स्थानीय निर्बाचनमा नेपाली मुलका धेरै व्यक्तिहरु काउन्सिलर पदका लागि निर्बाचनमा छन्। यो भनेको एकातिर हामी सबैको लागि गर्बको कुरा हो भने अर्को तिर अष्ट्रेलियाको राजनीतिमा हाम्रो उपस्थिति देखाउन उचित समय पनि  हो।
यस पटकको निर्बाचनमा एनएसडब्लुका बिभिन्न काउन्सिलबाट ९ भिन्न नेपाली मुलका व्यक्तिहरु यस पटकको निर्बाचनमा काउन्सिलरको लागि प्रतिस्पर्धा गर्दै छन्।  जस अन्तर्गत बैंक्सटाउन काउन्सिलबाट भद्र वाइवा, नर्थ सिड्नी काउन्सिलबाट अन्जना बस्नेत कार्की, लिभरपुल काउन्सिलबाट बाट दिपेश चिलवाल, हिल साइड काउन्सिलबाट अनन्त कार्की (एलेक्स), ब्ल्याकटाउन  काउन्सिलबाट महेश पन्त, क्याम्पबेलटाउन काउन्सिलबाट मात्रै चार जना विनोद पौडेल, जिप्सोना पौडेल, स्मिता खरेल सज्जन कार्की छन्।
कर्मभूमिमा राजनीति
राजनीति आफैमा खराब हुदै होइन खराब व्यक्तिहरु को हातमा पर्नाले हाम्रो राजनीति खराब हुन गयो वा हामीले राजनीतिलाई खराब रुपमा बुझ्यौ त्यसैले गर्दा नेपालका हालको युवा पुस्त राजनीति भन्ने बितिकै नाक खुम्च्याउछन्त । नत्र सामजसेवाको उच्च बिन्दु राजनीति हो, समुदाय हुदै देशको नीति निर्माणमा जनताको भावना प्रतिबिम्बित गराउने काम राजनीति गर्नेहरु को हो ।  अर्को सत्य कुरा के पनि हो भने कसै न कसैले राजनीति गर्ने पर्छ, यसरी राजनीति गर्नेहरुलाई अंकुस लगाउने भनेका सचेत जनता नै हुन् र सम्बन्धित देशको नियम कानुन नै हो । जब देश सिस्टमले चल्छ तब धेरै कुराहरु आफै सहज बन्दै जान्छन, अनि सबै प्रक्रिया र सिस्टम भित्र आफै बाँधिनै पर्छ।
स्थानीय निकायको निर्बाचन र त्यसमा पनि यति ठुलो संख्यामा नेपाली मुलकाहरु सहभागी हुदै गर्दा हामी सबैको ध्यान यहाँको राजनीतिमा तानिनु स्वभिबक नै हो । यहाँको राजनीति हाम्रो जन्मभूमिको भन्दा धेरै मानेमा फरक छ, पहिलो कुरा त यहाँ सधै एकै पार्टीको अन्धभक्त बनेर सधै उसैलाई समर्थन गर्ने प्रचलन कमि छ । धेरै भन्दा धेरै जन संख्या जीबन भर कुनै पनि पार्टीको सदस्यता समेत नलिईकन साधारण भोटर मात्र रहने यो देशमा चुनाबको परिणाम पनि व्यक्ति र राजनीति पार्टीले लिने एजेन्डामा भर पर्छ । अघिल्लो साल भोट पाएको व्यक्ति या पार्टीले यो पटक भोट नपाउन पनि सक्छ किनकि उ राजनीतक झन्डाले भन्दा एजेन्डाले जाँचिन्छ ।
अष्ट्रेलियामा नागरिकले यहाँको सबै निर्बाचन प्रकृयामा भाग लिनै पर्छ, नलिएमा जरिबाना हुने कानुनी ब्यबस्था छ। त्यसैले पनि कयौ अष्ट्रेलियनहरु त्यहि जरिबानाबाट उम्कन पनि भोट हाल्न पुग्छन त्यसो गर्दै गर्दा धेरैले एजेन्डा अनुसार पार्टी र उम्मेदवारलाई मुल्यांकन गर्छन ।  त्यो भन्दा बढी धेरै लाई राजनीतिमा त्यति चासो हुदैन, तै पनि नयाँ आयोजनाहरु आउदै गर्दा ति योजनाहरु सामाजिक, आर्थिक र पर्यावरणिय दिर्ष्टिकोणमा फलदायी छन् कि छैनन् सबैले बिशेष चासोको साथ हेर्छन जसलाई उनीहरु राजनीति भन्दा पनि एक नागरिकको कर्तब्यको रुपमा लिन्छन्। अर्को तिर स्वभाबैले जति गाली गरे पनि, जति मन पर्दैन भने पनि हामी नेपालीहरु लाई राजनीति चासो बढी नै रहन्छ त्यसमा पनि नेपाली मुलका त्यति ठुलो संख्यामा उम्मेदवारी बन्दै गर्दा हामी सबै लाई कौतुहलता ह्वातै बढेको बिभिन्न मिडिया र सोसियल मिडिया मार्फत देखिएको छ ।
हाम्रो यो कौतुहलता कर्मभुमिको राजनीतिमा सक्रिय हुदै गर्दा हिजोका दिनमा कुनै अमुक उम्मेदवारको टिशर्ट लगाएर फ्ल्यार बड्नु या फोटो खिचेर सोसियल मिडया टाँस्नु मात्र अब रहेन, हार जित प्रतिस्पर्धा पछाडीको कुरा हो तर व्यापक उम्मेदवारी घोषणा संगै यहाँको राजनीति प्रक्रियामा नेपाली मुलकाहरु पनि अब सरिक बनेका छन्, राजनीतिको मूल प्रबहामा उनीहरु पनि होमिएका छन् । कम्तिमा यहाँको ब्यबस्था कसरि चल्छ त्यसलाई नजिकबाट जानेर नेपाली समुदायलाई शिक्षित गराउन यिनीहरु पक्कै पनि एक कदम आगाडी रहनेछन् । अर्को तर्फ कुनै एक नेपाली यहाँको राजनीतिमा जोडिनु भनेको हाम्रो समुदायको आवज र हाम्रो उपस्थिती कुनै न कुनै रुपमा यहाँको सरकारी निकाय सम्म पुग्नु हो । त्यसैले पनि कर्मभुमिको राजनीतिमा जोडिन पुगेका या जोडिन खोजेका सबैलाई नेपालीलाई हामीले सराहना गर्ने पर्छ । अर्को तर्फ नेपाल छोडेको २० औ बर्ष पछाडी सम्म पनि उतैको कांग्रेस र कमिनिस्टको राजनीतिमा एकले अर्कोलाई लेबल लागाउनु भन्दा यतैको राजनीति सामेल हुन सके हम्रो संस्कार र आचरण पक्कै समय र भूगोल सान्दर्भिक बन्नेछ ।
रचिएला त राजनीति इतिहास यसपटक  
नेपाली मुलका प्रमेज (पेजे) श्रेष्ठले गत बर्षको संघिय संसदको निर्बाचन यहाँको सत्तारुढ पार्टीबाट संघिय संसदमा उम्मेद्वार बने, भलै उनले निर्बाचनमा सफलता पाउन सकेनन् तर आफ्नो प्रतिद्वन्दीको मजबुत क्षेत्रमा उनले जति मत ल्याए त्यो निक्कै सम्मानजनक थियो। नेपालमा जन्मेर सात बर्षको उमेरमा अष्ट्रेलिया आएको एक २६ बर्षे युवा यहाँको सत्तासिन पार्टीबाट संघीय संसदकको लागि चुनाव लड्दै गर्नु सबै नेपालीको लागि गर्बको बिषय रह्यो र यसले आप्रबासी नेपालीहरु का बारेमा जानकार रहन यहाँका सबै राजनीतक दल र तिनका नेता हरु लाई एक खालको दबाब पनि सिर्जना गर्यो।
त्यस पछाडी पनि अन्य स्टेटहरु र अन्य स्टेटका स्थानीय निकायमा नेपाली मुलका केहि व्यक्तिहरु ले चुनावी प्रतिष्पर्धामा भाग लिए । भलै सबै यति बेला सम्म सफलताको लागि संघर्षरत नै छन् तर पनि  यो स्तर र यति ठुलो संख्यामा निर्बाचनमा भाग लिएको भने यो पहिलो पटक हो, जुनै आफै स्मरण योग्य र एतिहासिक रहनेछ ।त्यसमा पनि नेपाली भाषी र नेपाली पन झल्कने किसिमले चुनावी प्रचार प्रसारमा रहेका यी उम्मेदवार हरुका कारण बहुसांस्कृतिक अष्ट्रेलियन समुदायमा हाम्रो नेपालीपनको  परिचय अब फराकिलो बनाएको छ।
स्थानीय निकाय मै बर्षौ राजनीति गरेका व्यक्तिहरु को आगाडी एक दशक अगाडी सम्म बिधार्थीको रुपमा भित्रिएका हरु उम्मेदवारीमा तिन नम्बर भित्रमा पर्नु पनि एउटा ठुलै उपलब्धि मान्नु पर्छ । अझ केहि व्यक्तिहरु दुइ नम्बरमा पनि छन् जुन भनेको सफलताको नजिक हो भन्नु पर्दछ।  त्यसो त केहि काउन्सिलमा उम्मेदवारी छनोटको प्रक्रिया केहि फरक भएका कारण पनि बिजयी हुने र इतिहास रच्ने थुप्रै सम्भावना यस पटक देखिन्छ। अर्को तिर हामीले पहिलो पुस्त भनि रहंदा दोश्रो पुस्ताका अनुहारहरु पनि अब बिस्तारै राजनीतिमा देखिएको देखिन्छ जुन आफैमा अर्को इतिहास रच्ने खुड्किलो हो।  आशा गरौ इमान्दारी, मेहनतीको परिचय बनाएका हामी प्रबासी नेपालीहरु को पहिचान सहित निर्बाचनमा होमिएका यी नौ नेपालीमूलका उम्मेद्वार मध्ये केहिलाई अष्ट्रेलियन राजनीतिको मुलधारमा रहेर अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा थप योगदान गर्ने अबसर मिलोस्।
अन्त्यमा, कर्मभूमिको राजनीतिमा पाइला चल्दै गर्दा प्रतिस्पर्धा फेरि पनि हामि बिच मै र हाम्रै समुदाय भित्र रहने हो भने उही आयातित राजनीतिको जालोले छोड्ने छैन । यहाँ राजनीति गर्दै गर्दा यहाँका बिभिन्न समुदाय र अष्ट्रेलियाको स्थानीयहरु सँग हातेमालो गर्दै आगाडि बढ्न सकेमा भोलि हाम्रो समुदायको र जन्मभूमिको परिचय दिदै सम्भावनाहरुको पहिचान गर्न सहज हुनेछ । अर्को तर्फ अस्ट्रेलियाको राजनीतिमा लाग्ने खोजेका जो सुकैले पनि आफ्नो व्यक्तिगत अचरणहरु यहाँको नियम कानुन भित्र रहेर आफना हर आर्थिक श्रोत देखि करको दयारा सम्म पारदर्शी बनाउनु जरुरि छ । जसले गर्दा भोलि कुनै सम्भावनाहरु नजिकिदै गर्दा आफु ति सम्भावनाहरु का लागि अयोग्य हुन नपरोस, कतैबाट खोट न देखियोस  । स्थानीय राजनीतिमा देखिएका सबै अनुहारहरु लाई धेरै धेरै शुभकामना !!