बालबालिका हराउने शहर

-- NTA REP. / प्रकाशित मिति : बुधबार, असार १, २०७३

भारतको राजधानी दिल्लीबाट मात्रै बर्षेनी ७ हजार बालबच्चा हराउने गरेकोमा त्यसमा १५ सय मात्रै फेला पर्ने गरेको एक तथ्यांकले देखाएको छ । भारतका विभिन्न शहरहरूबाट बेपत्ता बनिरहेका बालबच्चाको खोजीनितीमा ध्यान दिन लोकसभामा हालै पेश गरिएको बिशेष महत्वको प्रस्तावअनुसार बितेको ३ बर्षमा भारतमा २२ हजार बालबच्चा बेपत्ता बनेका छन् भने यीनमा ९ हजारको अझै अत्तोपत्तो पाउन सकिएको छैन । बाल अधिकार र सुरक्षामा कार्यरत नोवेल पुरस्कार प्राप्त संस्था ‘बाल बचाओ आन्दोलन’ले दिएको जानकारीमा बालबच्चा बेपत्ता हुने सबैभन्दा प्रमुख राज्यमा महाराष्ट्र रहेको छ । अधिकारकर्मीका अनुसार, हराएका बालकहरू गुजरात, हरियाणा, पश्चिम बिहारलगायतका घना बस्ती भएका राज्यमा खेतीकिसानी काममा बन्धक हैसियतमा कार्यरत रहेको पाइएको छ भने १५ बर्ष नाघेका बालिकालाई जबरजस्ती यौन धन्दामा लगाउन खाडी मुलुकसम्म लगिने गरेको अध्यनमा पाइएको छ । केही भने ठूला सहरका उद्योगरकलकारखानामा बाध्यताको मजदुरी जीवन बिताइरहेको भन्दै बेपत्ता बालबालिकाबारेको प्रतिवेदनमा बाल बचाउ अभियानका निम्ति सरकारी तहबाट खासै उल्लेख्य काम हुन नसकिरहेको आरोप लगाइएको छ ।