हङकङविरुद्ध नेपालको फराकिलो जीत

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख ३, २०८१

काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार सम्पन्न खेलमा हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २१ तथा सन्दीप जोराले अविजित १९ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि यो खेल १८–१८ ओभरमा घटाइएको थियो । हङकङका लागि अंशमन राठले सर्वाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए । त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्वाधिक तीन विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिएका थिए ।

यो जीतपछि समुह ए मा रहेको नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शिर्ष स्थानमा रहेको छ । साथै नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित भएको छ । नेपालले अब समुह चरणमा आफ्नो अन्तिम खेल बुधवार साउदी अरेबियासँग खेल्ने छ । त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो । ३ खेलमा एक जीत तथा दुई हार व्यहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ ।