क्यामरुनले दिए राजीनामा

-- / प्रकाशित मिति : शुक्रबार, असार १०, २०७३

बेलायत— हिजो बिहिबार सम्पन्न ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिने घोषणा गरेका छन् । बेलायत यूरोपियन यूनियन (ईयु) बाट बाहिरिने पक्षमा बहुमत आएपछि क्यामरुनले यस्तो घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए भने २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए ।
क्यामरुनले नै २०१५ को आम चुनावका क्रममा आफू प्रधानमन्त्री भए जनमत संग्रह गर्ने घोषणा गरेका थिए र उनी ब्रिटेन ईयूमा रहनु पर्ने पक्षमा उभिएका थिए । जनमत संग्रहको औपचारिक परिणाम घोषणापछि क्यामरुनले परिणामलाई स्वीकार गर्ने बताएका छन् । उनले प्रधानमन्त्रीका रुपमा ६ वर्ष देशको सेवा गर्न पाएको गर्व गरेको समेत उल्लेख गरेका छन् ।
बेलायत ईयूबाट बाहिरिने भएपछि ‘जहाजको क्याप्टेन’ भइरहनु उपयुक्त नहुने उनले प्रतिक्रिया दिएका छन् । बेलायत युरोपीय युनियनमा रहँदा नै सुरक्षित र राम्रो हुनेमा आफू प्रष्ट रहेको भन्दै उनले बेलायतका जनताले अर्को बाटोका लागि प्रष्ट निर्णय लिएको प्रतिक्रिया दिएका छन् ।